ताजा अपडेट »

लुम्बिनीमा मध्ये असारसम्म ११ प्रतिशत रोपाई : मौसमले साथ नदिँदा उत्पादनमा गिरावट आउने चिन्ता

शुक्रबार, १५ असार २०८०, ०७ : ०८
6 Shares

बुटवल । आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने दिन । मानो रोपेर मुरी उब्जाउने महिना भएपनि वर्षा नहुँदा किसान चिन्तित बनेका छन् । आधाअसार विते पनि लुम्बिनी प्रदेशमा धान रोपाईको अवस्था भने निराशाजनक देखिन्छ ।

प्रदेशमा अहिलेसम्म करिब ११ प्रतिशतमात्रै रोपाई भएको कृषि तथा भूमि मन्त्रालयका प्रवक्ता अनिल मरासीनिले जानकारी दिए । ‘यस वर्ष समयमै वर्षा नहुँदा प्रदेशमा धान रोपाई निकै कम मात्रामा भएको छ । समयमै वर्षा भएको भए अहिले ५० प्रतिशतको हाराहारिमा रोपाईँ हुन्थ्यो । तर, पानी नपर्दा ११.०९ प्रतिशत मात्रै रोपाई भएको छ ।’– प्रवक्ता मरासिनीले भने । समयमै वर्षा नहुँ दाधान उत्पादनमा गिरावट आउन सक्ने देखिएको छ । गत वर्ष यहि अवधीमा करिब ३२.७१ प्रतिशित रोपाई भएको थियो । अहिले गत वर्षको भन्दा २१.६२ प्रतिशतले कम रोपाई भएको हो ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा धान रोपाई हुने ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म ३४ हजार ४८३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको छ । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मरासीनिका अनुसार प्रदेशमा सबै भन्दा धेरै धान रोपाई कपिलबस्तु र सबै भन्दा कम रुकुम पूर्वमा हुन्छ ।

कपिलवस्तुमा ७० हजार ७० हेक्टर क्षेत्रफलमा धान रोपाईँ हुन्छ भन्ने रुकुम पूर्वमा १ हजार ४१९ हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ । जसमध्ये कपिलवस्तुमा ४ हजार २०४ हेक्टर क्षेत्रफल अर्थात धान रोपाई हुने क्षेत्रफलको ६ प्रतिशत रोपाई भएको छ भने रुकुम पूर्वमा ८ सय ५८ हेक्टर अर्थात ६०.५ प्रतिशत क्षेत्रफलमा रोपाईँ सकिएको छ । यस्तै रुपन्देहीमा ८ प्रतिशत रोपाई सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ८० हेक्टरमा रोपाईँ भएको छ ।

यस्तै धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ८ प्रतिशत र बर्दियामा १० प्रतिशत रोपाई सकिएको छ । दाङ जिल्लामा धान रोपाई हुने कुल ३७ हजार ४३० हेक्टर क्षेत्रफलमध्ये ४ हजार २९० हेक्टर क्षेत्रफलमा धान रोपाई भइसकेको छ भने बर्दियामा ४९ हजार ३३ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ९०३ हेक्टरमा अर्थात १० प्रतिशत रोपाईँ सकिएको छ । बाँकेमा धान उत्पादन हुने ३३ हजार हेक्टर क्षेत्रफलमा अहिलेसम्म ४ हजार २७० हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ । जुन धान उत्पादन हुने क्षेत्रफल मध्य १३ प्रतिशत मात्रै हो ।

नवलपरासी पश्च्मिमा धान रोपाई हुने २० हजार ५०० हेक्टर क्षेत्रमध्ये २ हजार ४६० हेक्टर अर्थात १२ प्रतिशत मात्रै रोपाई भएको मन्त्रालयका प्रवक्ता मरासिनीले बताए । लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सबै भन्दा धेरै धान उत्पादन हुने जिल्ला गुल्मीमा ८.५ प्रतिशत रोपाई सकिएको छ । गुल्मीमा ८ हजार ६७० हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ भने अहिलेसम्म ७३७ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाईँ सकिएको छ ।

पाल्पामा ८ सय २१ हेक्टर क्षेत्रफल अर्थात १० प्रतिशत रोपाई सकिएको छ । पाल्पामा यस वर्ष ८ हजार २१० हेक्टर क्षेत्रफलमा रोपाई हुने मन्त्रालयका प्रवक्ता मरासिनीले बताए । यता प्यूठानमा ८० प्रतिशत रोपाई सकिएको छ । अर्घाखाँचीमा १० प्रतिशत रोपाई भएको छ ।

प्यूठानमा ५ हजार २२० हेक्टर क्षेत्रफलमा रोपाई हुँदा अर्घाखाँचीमा ८०५ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको मन्त्रालयले जनाएको छ । प्यूठानमा ६ हजार ५२५ हेक्टर र अर्घाखाँचीमा ८ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ । साथै रोल्पामा ४५.५ प्रतिशत रोपाई सकिएको छ । रोल्पामाधान रोपाई हुने ४ हजार ६३८ हेक्टर क्षेत्रफलमध्य २ हजार ११० हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ ।

सिँचाईको अभाव र आकाशको पानीमानिर्भर हुँदा गतवर्ष भन्दाधेरै कम मात्रामा धान रोपाई भएको मन्त्रालयका प्रवक्ता मरासिनी बताउँछन् । ‘सिचाईको क्षेत्र बढाउन सकिएको नसक्दा र आकाशे पानीमा नै निर्भर हुनुपर्ने अवस्था छ । यो वर्ष पानी पर्न केही ढिला भयो । यसको असर रोपाईमा पर्यो ।’–उनले भने।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।