ताजा अपडेट »

दाङका स्थानीय तहमा बजेट : सबैभन्दा बढी घोराहीमा, यस्ता छन् प्राथमिकता

सोमबार, ११ असार २०८०, ०६ : ३१
18 Shares

दाङ । आगामी आर्थिक वर्ष २०८०/८१ को लागि जिल्लाका स्थानीय तहहरूले बजेट प्रस्तुत गरेका छन् । जसमा सबै भन्दा धेरै घोराही उपमहानगरले धेरै ल्याएको छ । घोराही उपमहानगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको छ ।

उपमहानगरपालिकाको नगरसभाको १३ औं अधिवेशनमा आइतबार नगर उपप्रमुख हुँमा डिसीले चालू तर्फ १ अर्ब २८ करोड ३ लाख ४० हजार र पूँजीगत तर्फ ८७ करोड ५१ लाख ४३ हजारको बजेट प्रस्तुत गरिन् । उपमहानगरपालिकाले चालू आर्थिक वर्षका लागि २ अर्ब ३२ करोड ९० लाख ७१ हजार रुपैयाँको बजेट ल्याएको थियो। बजेटको स्रोतमा संघीय सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब १ करोड ९१ लाख ७० हजार , प्रदेश सरकारबाट ३९ करोड ९० लाख ७१ हजार र आन्तरिक स्रोत ३६ करोड आन्तरिक आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै बैंक मौजात ३६ करोड रहेको छ ।

घोराहीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई प्राथामिकता राख्दै बजेटको बाँडफाँड गरेको छ। जसमा कृषिमा उत्पादन वृद्धि गर्न भन्दै सिँचाइ सुविधा विस्तारका लागि २ करोड ७१ लाख रुपैयाँ छुट्याइएको छ । त्यस्तै सडक कालोपत्रे, ग्राभेल तथा बाटो स्तरोन्नति, कल्भर्ट, सिँचाइ तथा खानेपानी, लगायतका पूर्वाधार विकासका तर्फ ५८ करोड ११ लाख ६८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै उपमहानगरपालिका भित्रका डाक्टर –इन्जिनियर छात्रवृत्तिका लागि १६ लाख रुपैयाँ छुट्याएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १ अर्ब ७९ करोड ४५ लाख ६९ हजार ल्याएको छ । १३ औं नगर सभाको दोस्रो बैठकमा नगरका प्रवक्ता माधव वलीले १ अरब ७९ करोड ४५ लाख ६९ हजारको बजेट प्रस्तुत गरेका हुन्। उनले आर्थिक वर्षको चालुतर्फ ४७ करोड ७ लाख १८ हजार र पूँजीगततर्फ १ अरब ३० करोड ८८ लाख ५१ हजार विनियोजन गरेको बताए । गत वर्ष उपमहानगरले १ अरब ८६ करोड ४७ लाखको बजेट ल्याएको थियो । यो आर्थिक वर्षको बजेट गत वर्षभन्दा सात करोड १३ लाख कम ल्याएको हो ।

उपमहानगरले संघीय समानीकरण अनुदानतर्फ २९ करोड ८ लाख, संघ सरकारबाट ८ करोड ७१ लाख २१ हजार, प्रदेश सरकारबाट ८ करोड ७१ लाख २१ हजार, राजश्व बाँडफाँट तर्फ २३ करोड, बजेट आन्तरिक स्रोततर्फ ३६ करोड १५ लाख, अन्य संघ संस्था अनुदानमा नगरविकास कोष ऋण ११ करोड, युनिसेफ अनुदान ४५ लाख र सडक बोर्ड नेपाल १ करोड र युएसए आइडीबाट ३ करोड ७७ हजार अनुदान प्राप्त हुने अनुमान गरेका छ ।

बजेटमा तुलसीपुर उपमहानगरपालिकाका गौरवका आयोजनाका लागि ५ करोड विनियोजन गरिएको छ । त्यस्तै, उपमहानगरले आफ्नै अस्पतालबाट दिइने सेवा सुविधा बिस्तारका लागि समेत बजेट विनियोजन गरेको छ । वडा नम्बर १, ३, ४ र १९ मा वायु उर्जा उत्पादन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययनका लागि समेत बजेट विनियोजन गरिएको छ । ‘समृद्ध तुलसीपुरः सबैका लागि, सधैँका लागि’ भन्ने मूल नारा रहेको उपमहानगरले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथामिकतामा राखेको छ ।

दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि ४३ करोड ६१ लाख ७० हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । १५ औँ गाउँसभाको दोस्रो बैठकमा गाउँपालिकाकी उपाध्यक्ष पिमा वली खड्काले उक्त बजेट सभामा प्रस्तुत गरेकी हुन । ‘हाम्रो प्रण समुन्नत दंगीशरण’ भन्ने मूल नाराका साथ गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई जोड दिँदै बजेट प्रस्तुत गरिएको छ । जस अन्तर्गत चालु तर्फ २७ करोड ५३ लाख १८ हजार र पुँजीगत तर्फ १६ करोड ८५ लाख २ हजार बजेट विनियोजन गरेको छ। जसमा प्रदेश सरकारबाट चालु खर्च ९७ लाख १४ हजार ,संघीय चालु खर्च १५ करोड ६४ लाख ८३ हजार ,र आन्तरिक स्रोत तर्फ १० करोड ९१ लाख ११ हजार गरी चालु खर्च तर्फ जम्मा २७ करोड ५३ लाख १८ हजार खर्च बिनियोजित भएको हो । यस्तै पुँजीगत खर्च तर्फ प्रदेश सरकार बाट १ करोड ९८ लाख ७४ हजार, संघीय पुँजीगत तर्फ ११ करोड ८६ लाख १७ हजार, आन्तरिक स्रोत तर्फ २ करोड २३ लाख ७१ हजार गरी जम्मा पुँजीगत खर्च तर्फ १६ करोड ८५ लाख २ हजार रकम प्रस्तुत गरेको हो ।

आगामी आर्थिक वर्षका लागि शिक्षा, युवा तथा खेलकुद तर्फ १ करोड ५४ लाख ३० हजार, स्वास्थ्य तर्फ ७५ लाख, २ हजार कृषि र पशु तर्फ १ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । यस्तै प्रशासनिक खर्च तर्फ ८ करोड १५ लाख १८ हजार बिनियोजन गरिएको हो । गाउँ सभाको बैठक पुन आगामी असार १४ गते दिउँसो १ बजे बस्ने गरि स्थगित गरिएको छ ।

राप्ती गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्तुत गरेको छ । “समृद्ध राप्ती, सुखी र खुसी राप्तीवासी” भन्ने मुल नाराका साथ पालिकाले शिक्षा, स्वास्थ्य, कृषि र उद्यमशीलतालाई जोड दिँदै आगामी आर्थिक वर्षका लागि ६५ करोड ७६ लाख बजेट बिनियोजन गरेको छ । जस अन्तर्गत चालु तर्फ ३१ करोड ५८ लाख र पुँजीगत ३३ करोड २६ लाख बजेट विनियोजन भएको गाउँपालिकाका प्रवक्ता पहलवान चौधरीले जानकारी दिए । आगामी आर्थिक वर्षका लागि शिक्षा, युवा तथा खेलकुद तर्फ २२ करोड १७ लाख ५० हजार, स्वास्थ्य तर्फ ९ करोड ४१ लाख, कृषि र पशु तर्फ २ करोड ९९ लाख बजेट बिनियोजन गरिएको छ ।

त्यस्तै पूर्वाधार तर्फ ११ करोड २ लाख, उद्यम तथा रोजगार तर्फ २ करोड, वन वातावरण र विपद तर्फ २ करोड, खानेपानी सरसफाइ, फोहरमैला व्यवस्थापन ३० लाख, कला संस्कृति पर्यटन तर्फ ३३ लाख, महिला बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता ४५ लाख र सञ्चार तर्फ ३ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।

बंगलाचुली गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८० /०८१ को बजेट विनियोजन गरेको छ । गाउँपालिकाले पुँजीगत र चालु तर्फ गरी जम्मा ५७ करोड २५ खाल ८४ हजार बजेट विनियोजन गरेको छ । जस अनुसार गाउँपालिकाले पुँजीगत तर्फ २४ करोड ६५ लाख ६० हजार ,चालु तर्फ शिक्षा, स्वास्थ्यको तलब भत्ता, कार्यक्रम, सामाजिक सुरक्षा, कार्य सञ्चालन तथा व्यवस्थापन सहित ३२ करोड ६० लाख २४ हजार बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक तथा संस्थागत विकासका लागि १९ करोड ४० लाख र स्वास्थ्य क्षेत्रमा ६ करोड ३८ लाख गरि जम्मा २५ करोड ७८ लाखको बजेट शिक्षा र स्वास्थ्यमा विनियोजन गरेको छ । त्यसैगरी प्रस्तुत बजेट मध्ये नेपाल सरकारको अनुदानबाट ४१ करोड २८ लाख, संघीय राजश्व बाँडफाँडबाट १० करोड ११ लाख, प्रदेश सरकारको अनुदानबाट ३ करोड २१ लाख, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ४९ लाख ६१ हजार र आन्तरिक राजश्वबाट १ करोड ५० लाख र गत वर्षको मौज्दातबाट ६५ लाख बजेट अनुमान गरिएको छ ।

लमही नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागी ८५ करोड ४५ लाख ७६ हजार ८ सय १९ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । त्यस्तै राजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ६१ करोड बढी बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले ६१ करोड १८ लाख ९८ हजार ७ सय ८५ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चालु तर्फ ४४ करोड ९५ लाख ३६ हजार ७ सय ८९ र पूँजिगत तर्फ १६ करोड २३ लाख ६२ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । आर्थिक विकास तर्फ ६ करोड ५२ लाख ६५ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

त्यसैगरी गढवा गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ६३ करोड १४ लाख ५७ हजार १७२ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी