ताजा अपडेट »

तिलोत्तमाले ल्यायो करिब ३ अर्ब बजेट, पूर्वाधार निर्माण प्राथमिकतामा

आइतबार, १० असार २०८०, १५ : ०६
43 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै आगामी वर्षका लागि बजेट सार्वजनिक गरेको छ ।  आगामी आर्थिक वर्ष २०८०/८१ का लागि झण्डै पौने ३ अर्बको बजेट सार्वजनिक गरेको हो । दोस्रो नगरसभाको तेस्रो अधिवेशनमा उपप्रमुख जगेश्वरदेवी चौधरीले २ अर्व ७३ करोड ८४ लाख ३९ हजार ५२९ रुपियाँको बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेट मध्ये चालु खर्च तर्फ १ अर्ब ६ करोड २४ लाख ५० हजार अर्थात ३८.७९ प्रतिशत र पूँजीगत तर्फ १ अर्व ६७ करोड ५९ लाख ८९ हजार ५ सय २९ रुपियाँ बिनियोजन गरिएको छ । तिलोत्तमाले चालु आर्थिक वर्षका लागि २ अर्व ७ करोड ७८ लाख ८३ हजारको बजेट ल्याएको थियो । तिलोत्तमाले आगामी वर्षका लागि भवन, शहरी विकास र पूर्वाधारका लागि सबैभन्दा बढी बजेट छुट्याएको छ । जसका लागि १ अर्ब ९५ लाख बजेट बिनियोजन गरिएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रका लागि १४ करोड ३८ लाख ७७ हजार बजेट बिनियोजन गरिएको छ ।

त्यस्तै शिक्षा क्षेत्रका लागि ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिंचाईका लागि ३ करोड २३ लाख ५१ ह्जजार, युवा, खेलकुद तथा मनोरन्जनका लागि ७३ लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि ३ करोड ६५ लाख ५९ हजार बजेट छुट्याइएको छ ।

बजेटको पूर्ण पाठ

नगर उप-प्रमुख श्री जगेश्वरदेवी चौधरीज्यूबाट नगरसभामा पेश भएको

आर्थिक वर्ष २०८०/०८१ को

बजेट वक्तव्य

तिलोत्तमा नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

मणिग्राम, रुपन्देही, लुम्बिनी प्रदेश, नेपाल 

मिति :२०८०/०३/१०

आदरणीय यस सभाका सभाध्यक्ष ज्यू, नगरसभाका सम्पूर्ण सदस्यहरु, सभाका सचिव ज्यू तथा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेरिरहनुभएका र रेडियोबाट यस कार्यक्रमको प्रत्यक्ष प्रसारण सुनिरहनु भएका देश विदेशमा रहनु भएका  नगरबासी लगायत सम्पूर्ण महानुभावहरु

१. तिलोत्तमा नगरपालिकाको नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजकको हैसियतले यस सम्मानित नगरसभामा आगामी आर्थिक वर्ष ०८०÷०८१ वार्षिक बजेट प्रस्तुत गर्न उपस्थित भएको छु । 

२. यस अवसरमा म सर्वप्रथम मुलुकको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित स्वाभिमान, लोकतन्त्र तथा सामाजिक न्याय र परिवर्तनका लागि भएका विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने  सम्पूर्ण ज्ञात अज्ञात सहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै  सवै प्रकारका आन्दोलनहरुको नेतृत्व गर्नुहुने अग्रजहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दै घाईते, बेपत्ता एवं पिडित परिवारहरुलाई स्मरण तथा सम्मान व्यक्त गर्न चाहन्छु । 

३. नेपालको वर्तमान संविधानमा उल्लेखित राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरु संघ र प्रदेश सरकारका नीति तथा कार्यक्रम, चालु आवधिक योजना, दीगो विकासका लक्ष्य, संघीय, प्रादेशिक तथा स्थानीय ऐन, कानून र कार्यविधिहरुबाट निर्देशित हुँदै यसै सम्मानित नगरसभाबाट स्वीकृत नगर सरकारको आ.व ०८०/०८१ को  नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी बजेट तर्जुमा गरेको छु । यसै गरी राजनैतिक दलका स्थानीय नेतृत्वका सुझाव, विगतको अनुभव, नागरिक समाज, निजी क्षेत्र, सहकारी क्षेत्र, टोल विकास संस्था, स्थानीय सामुदायिक संघ संस्था, वुद्धिजीवी,सरोकारवाला निकाय, संचारकर्मी लगायतका क्षेत्रहरुबाट विभिन्न माध्यमबाट प्राप्त राय, परामर्श तथा रचनात्मक सुझावहरुलाई समेत समेट्दै आगामी आ.व. २०८०/०८१  को अनुमानित बजेट प्रस्ताव गरेको छु । 

४. बजेट तिलोत्तमाबासीको तीव्र विकासको उत्कट चाहनालाई आत्मसाथ गरी सबै क्षेत्रको समतामुलक विकासलाई दृष्टिगत गर्दै तयार पारिएको छ। तिलोत्तमा नगरले स्थापित गरेको गरिमालार्ई थप उचाँइमा पुर्याउने गरी ल्याइएको यस बजेटले तिलोत्तमा नगरपालिका भित्रका बहुआयामिक पक्षहरुलाई सम्बोधन गर्ने प्रयत्न  गरेको छ।

५ वित्तीय संघीयता अनुरुप विभिन्न तह र निकायहरुबाट प्राप्त हुने अनुदान र राजस्वलाई प्राथमिकीकरण गरी बजेटका प्राथमिकता र उद्धेश्य हासिल हुने कार्यक्रमहरुमा लगानी केन्द्रित गरेको छु । यो लगानीबाट, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, गरिबी न्यूनिकरण र रोजगारी तथा स्वरोजगारका अवसरमा वृद्धि गर्दै समग्र नगरको विकास हासिल हुने अपेक्षा गरेको छु।

६ यस बजेटमा नगर सरकारको क्षेत्राधिकार भित्रका कर तथा गैरकर, राजश्व परिचालन र व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । निर्धारित समयमै विकास आयोजनाको नतिजामूलक कार्यान्वयन गर्नको लागि संचालित महत्वपूर्ण योजनाहरुलाई आगामी आ.व.मा सम्पन्न गर्ने गरी प्राथमिकताका साथ बजेटको व्यवस्था गरेको छु ।

७ बजेट मार्फत रोजगारी सिर्जना गर्ने, अनुत्पादक तथा अनावश्यक खर्च घटाउने, चालु खर्चमा मितव्ययिता ल्याउने गरी बजेट प्रस्ताव गरेको छु । यसैगरीे मध्यमकालिन खर्च संचरना अनुरुप योजनाको प्राथमिकीकरण सहित स्रोतको सुनिश्चितता गरी बजेटलाई बढी बस्तुपरक र कार्यान्वयनयोग्य बनाईएको छ । 

८ यस बजेटको सबल कार्यान्वयनले नगरपालिकाको आर्थिक, सामाजिक, पूर्वाधार क्षेत्र, वातावरण तथा विपद व्यवस्थापन, सेवा प्रवाह , स्थानीय न्याय निरुपण र सांस्कृतिक तथा मानव विकासमा थप टेवा पुग्ने अपेक्षा लिएको छु । 

आदरणीय सभाध्यक्षज्यू

९ आगामी आ.व. २०८०÷०८१ को बजेट देहायका उद्देश्य प्राप्तिमा केन्द्रित रहनेछ । “समृद्ध नगर ः खुसी नगरवासी“ भन्ने लक्ष्य हासिल गर्नको लागि वलियो आधार तय गर्नु यस बजेटको मूल उद्देश्य रहनेछ भने अन्य उद्देश्यहरु देहाय अनुसार रहेका छन् ।

क)   गुणस्तरीय स्वास्थ्य सेवाको पहँुच सबै नगरबासीमा सुनिश्चित गर्ने।

ख)  शिक्षा क्षेत्रमा लगानी गरी समग्र नगरको शिक्षाको गुणस्तरमा वृद्धि गर्ने।

ग) गुणस्तरीय शिक्षाका लागि शौक्षिक पूर्वाधारमा जोड दिने।

घ) उपलब्ध साधन स्रोत, श्रम, शक्ति, पुँजी र प्रविधिको एकीकृत परिचालन मार्फत   

       रोजगारी सिर्जना गर्ने।

ङ) आर्थिक गतिविधी एवम् विकास निर्माणका कार्यक्रमलाई तीब्रता दिने ।

च)   कृषि, पशुपन्छि क्षेत्रको विकास मार्फत उत्पादन र बजारीकरणका क्रियाकलाप संचालन गर्ने। 

छ) नगरको आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधारको विकास गरी “समृद्ध नगर : खुसी नगरबासी“ को लक्ष्यलाई प्राप्त गर्ने । 

-यस बजेटका प्राथमिकताहरु देहाय अनुसार रहेका छन् ।

क)   शिक्षा, स्वास्थ्य  तथा कृषि क्षेत्रको गुणात्मक अभिवृद्धि गर्ने।

ख)   पूर्वाधार विकास मार्फत नगरको रुपान्तरण गर्ने। 

ग)    शिक्षा प्रणालीमा परिणात्मक र गुणात्मक सुधार ल्याउने ।

घ) वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका जोखिम पहिचान तथा  न्यूनीकरण गर्ने।

ङ) दीगो विकास लक्ष्यको स्थानियकरण, समावेशी विकास,  हरियाली प्रवर्धन, मानव

       विकास, लैङ्गिकमैत्री विकास लगायत विकासका समसामयिक पक्षहरुको  निरन्तर सम्बोधन गर्ने । 

च)  उद्यमशिलता प्रवद्र्धन गर्दै समन्यायिक विकास र विकासका प्रतिफलमा न्यायपूर्ण पहुँच कायम गर्ने।

छ)   शासकीय प्रबन्ध, भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा प्रभावकारिता र न्यायमा पहँुच स्थापीत गर्ने। 

११. नगर सरकारले बजेटका उद्धेश्यहरु हासिल गर्न र प्राथमिकता प्राप्त आयोजनाहरु कार्यान्वयन गर्न संघीय सरकार र प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्नेछ । नगरमा उपलब्ध श्रम, सीप पूँजी, क्षमता र ज्ञानको प्रभावकारी उपयोग गरी रोजगारी सिर्जना गर्न सहकारी र निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखिने छ ।

आदरणीय सभाध्यक्षज्यू,

अव म चालु आ.व. २०७९/०८० को हालसम्मको यथार्थ आय व्यय तर्फको विवरण प्रस्तुत गर्न चाहन्छु ।

१२. गत आ.ब ०७९/०८० का लागि.बजेट रकम  रु.२ अर्व ७ करोड ७८ लाख ८३ हजार को बजेट प्रस्तुत गरिएको थियो । जसमध्ये चालुतर्फ ९५ करोड ३० लाख ९९ हजार १ सय ६० र पूजिगत तर्फ रु.८७ करोड ४७ लाख ८३ हजार ८ सय ४० खर्च अनुमान रहेको थियो । 

१३. नगरसभाबाट स्वीकृत बजेट अनुसार आ.व. ०७९/०८० मा आन्तरिक राजश्व परिचालनतर्फ ४४ करोड ५८ लाख लक्ष्य राखिएकोमा चालु आ.व.को ज्येष्ठ मसान्तसम्म २३ करोड ३८ लाख ४१ हजार ४ सय ८३ रुपैया उठेको छ । वित्तिय हस्तान्तरण मार्फत प्राप्त हुने अनुदान रकम चालु आवको जेष्ठ मसान्त सम्म १ अर्ब  २१ करोड ७२ लाख ५५ हजार ७ सय ११ रुपैया स्थानीय संचितकोषमा प्राप्त भएको छ

१४. चालु आ.व को जेष्ठ मसान्त सम्म कुल खर्चको ५७.११ प्रतिशत खर्च प्रगती भएको छ। जसमध्ये चालु तर्फ ७१.४७ प्रतिशत र पुँजीगत तर्फ ४७.३८ प्रतिशत खर्च भएको छ। त्यसैगरी यस आवको जेष्ठ मसान्त सम्म ३० करोड ४८ लाख ४५ हजार १ सय ६३ रुपैया सामाजिक सुरक्षा भत्ता वितरण गरिसकिएको छ।

आदरणीय सभाध्यक्षज्यू,

– अब म आगामी आ.व. २०८०/०८१ का लागि तिलोत्तमा नगरपालिकाको आम्दानीका स्रोतहरुको संक्षिप्त विवरण राख्न चाहान्छु ।

क) आन्तरिक राजश्वतर्फ : रु. ४५ करोड २४ लाख ५० हजार रुपैया आम्दानी हुने लक्ष्य राखिएको छ । 

ख) अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट :रु. १ अर्व ७७ करोड ९१लाख ४४ हजार ५सय २९ रुपैया प्राप्त हुने लक्ष्य लिइएको छ । 

ग) आगामी आ.वमा नगरको  कुल बजेट रु  २ अर्व ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैया हुने प्रक्षेपण गरिएको छ । जसमध्ये चालु खर्च तर्फ १ अर्ब ६ करोड २४ लाख ५० हजार अर्थात ३८.७९ प्रतिशत र पूँजीगत तर्फ १ अर्व ६७ करोड ५९ लाख ८९ हजार ५ सय २९ खर्च अर्थात ६१.२१ हुने अनुमान रहेको छ।

यसको विस्तृत विवरण अनुसूची १ मा समावेश गरिएको छ ।

१६. यसका अतिरिक्त  संघीय तथा प्रदेश सरकार र अन्य साझेदार संस्था मार्फत सहलागानीका कार्यक्रम प्राप्त हुन सक्ने सम्भावना समेत रहेको हुँदा यसरी प्राप्त हुने बजेटबाट कार्यान्वयन गर्नको लागि साझेदारी कार्यक्रम अन्तरगत समेत बजेट प्रस्ताव गरेको छु।

आदरणीय सभाध्यक्षज्यू, अव म आगामी आ.व.को लागि क्षेत्रगत कार्यक्रम तथा विनियोजन प्रस्तुत गर्न चाहान्छु ।

स्वास्थ्य  

– स्वास्थ्य सेवामा सबै नागरिकको पँहुच सुनिश्चित गर्ने कार्यलाई थप सुधार सहित निरन्तरता दिईने छ ।  जसका लागि समग्र स्वास्थ्य क्षेत्रमा १४ करोड ३८ लाख ७७ हजार  बजेट प्रस्ताव गरेको छु।

शिक्षा  

– शिक्षा क्षेत्रको समग्र विकासको लागि शिक्षा क्षेत्र सुधार कार्ययोजनाले निर्धारण गरे बमोजिम कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु।

– नगरको समग्र शिक्षा प्रणालीमा सुधार गर्ने, शिक्षा क्षेत्रको समग्र विकास तथा  व्यवस्थापनका लागि समग्रमा शिक्षा क्षेत्रमा ४८ करोड १२ लाख  बजेट प्रस्ताव गरेको छु।

कृषि, पशुपालन र सिँचाई 

– समग्र कृषि तथा पशुपन्छि विकास क्षेत्रको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि र  बजारीकरणका क्रियाकलाप संचालन गर्न आवश्यक बजेटको प्रस्ताव गरेको छु। किसानलाई दुग्ध उत्पादनका आधारमा अनुदान दिने व्यवस्था सहितको बजेटलाई निरन्तरताका लागि प्रस्ताव गरेको छु । समग्रमा कृषि, पशुपालन तथा सिँचाईका लागि ३ करोड २३ लाख ५१ हजार        बजेट प्रस्ताव गरेको छु।

२१.पशु क्षेत्रमा महामारीको रुपमा देखा परेको लम्पी स्किन रोगको निशुल्क भ्याक्सिन सेवा लगायतका लागि आवश्यक बजेट विनियोजन गरेको छु।

भवन, शहरी विकास र पूर्वाधार

-मंगलापुर कान्छिबजार सडक यसै आ.व मा सम्पन्न हुने गरि कार्य अघि बढेको छ। एडिबि सँगको सहकार्यमा ठुला भौतिक पूर्वाधार निर्माण कार्य अघि बढाउने गरी आवश्यक बजेट प्रस्ताव गरेको छु। समग्रमा भवन, शहरी विकास र पूर्वाधार विकासका लागि १ अर्ब ९५ लाख   बजेट बिनियोजन गरेको छु।

– यस नगरपालिकाको क्षेत्रभित्रका जिर्ण सडकहरुको मर्मत सम्भार तथा स्तरोन्नतीका लागि मर्मत सम्भार कोषमा  आवश्यक रकम विनियोजन गरेको छु । कार्यपालिका सदस्य मार्फत हुने पुँजीगत कार्यक्रमका लागि समेत आवश्यक बजेट प्रस्ताव गरेको छु। परियोजना बैंकले प्रस्ताव गरे अनुरुप सबै वडामा कम्तिमा एक किलोमिटर बाटो अत्याधुनिक अस्फाल्ट प्रविधिबाट कालोपत्रे गर्नका लागि रु १५ करोड विनियोजन गरेको छु

वातावरण तथा विपद् व्यवस्थापन एवं सरसफाई

-पूर्ण सरसफाई युक्त नगर तथा हरियाली प्रवर्धन कार्यक्रम कार्यन्वयनको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।  

युवा, खेलकूद तथा मनोरञ्जन 

– युवामैत्री स्थानीय शासन कार्यान्वयन तथा तिलोत्तमा क्रिकेट कप आयोजना लगायत खेलकुद क्षेत्रको विकासका लागि  ७३ लाख  बजेट विनियोजन गरेको छु।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण 

– नगर प्रमुख नवप्रर्वतन कार्यक्रम तथा नगर उप प्रमुख उद्यमशिलता विकास केन्द्रको प्रभावकारी सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु।

-महिला, वालवालिका, जेष्ठ नागरिक, जातीय विभेद न्यूनीकरण, लैङ्गिक हिंसा न्यूनीकरण, समतामूलक समाज निर्माण र राज्यले अवलम्वन गरेको समावेशी विकासलाई प्रवद्र्धन गर्नका लागि  नगर सरकार प्रतिवद्ध रहेको छ । क्षेत्रगत जनसाख्यिक संरचना र सम्बन्धित वर्ग र समुदायको आवश्यकता अनुसार सामाजिक सुरक्षा, सीप विकास, आय आर्जन लगायत कार्यक्रममा आवश्यक बजेट विनियोजन गरेको छु। समग्रमा सामाजिक समावेशिकरणका लागि अनुमानित ३ करोड ६५ लाख ५९ हजार बजेट रकम प्रस्तावित गरेको छु । 

सार्वजनिक सेवा प्रवाह, सुशासन तथा संस्थागत विकास

-भ्रष्टाचार र अनियमितता विरुद्ध अवलम्बन गरिएको शुन्य सहनसिलताको नीतिलाई निरन्तरता दिई सेवा प्रवाहलाई सेवाग्राहीमैत्री र पारदर्शी वनाईने छ । स्थानीयवासीहरुलाई सूचनाको हकको प्रत्याभूत गराई संस्थागत सुशासन कायम गर्नको लागि सार्वजनिक रुपमा आवधिक समीक्षा, सार्वजनिक सुनुवाइ जस्ता कार्यक्रम संचालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु । सार्वजनिक सेवा प्रवाह र विकास  व्यवस्थापन कार्यलाई प्रविधीमैत्री र पारदर्शी बनाउनको लागि विद्युतीय प्रणालीको विकास गर्न आवश्यक बजेटको प्रस्ताव गरेको छु ।

– स्थानीय संचार क्षेत्रको विकास र सो क्षेत्रमा क्रियासिशल सञ्चारक्रर्मीहरुको क्षमता विकासको लागि आवश्यक बजेट विनियोजन गरेको छु। 

आकस्मिक पूर्वाधार

-नगरक्षेत्रभित्रका आकस्मिक भैपरी आउने अत्यावश्यक भौतिक पूर्वाधार विकास र सामाजिक विकास सम्बन्धी कार्यका लागि सचिवालयबाट सम्बोधन गर्न आवश्यक बजेट प्रस्ताव गरेको छु ।  साथै वडाको क्षेत्रभित्र पर्ने आकस्मिक र भैपरी आउने समस्याहरुलाई सम्बन्धित वडाभित्रैबाट तत्काल सम्वोधन गर्नको लागि प्रत्येक वडा समितिको निर्णय बमोजिम खर्च गर्ने व्यवस्थालाई निरन्तरताको लागि प्रस्ताव गरेको छु । 

आदरणीय सभाध्यक्षज्यू,

– यसरी समग्रमा तिलोत्तमा नगरपालिकाको आ.व. २०८०÷०८१ को कूल बजेटको आकार रु. २ अर्व ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैया रहने गरी सन्तुलित बजेटको प्रस्ताव गरेको छु । जसमध्ये चालुतर्फ ३८.७९ प्रतिशत र पूजीगततर्फ ६१.२१ प्रतिशत खर्च प्रस्ताव गरिएको व्यहोरा सम्मानित सभा समक्ष पुनः जानकारी गराउन चाहन्छु ।

– मैले प्रस्तुत गरेको बजेटको कार्यान्वयनबाट समृद्ध नगर सुखी नगरवासीको लक्ष्यलाई मुर्त रुप दिने गरी नगरवासीहरुको जीवनस्तरमा प्रत्यक्ष रुपमा गुणात्मक परिवर्तन एवं नगर सरकारको प्रभावकारिताको अभिवृद्धि भई नागरिकहरुले स्थानीय सरकारको सवल र प्रभावकारी उपस्थिति रहेको महसुस गर्ने छन् भन्ने विश्वास लिएको छु । प्रस्तुत बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा आम स्थानीयवासी र सरोकारवाला सम्पूर्णबाट रचनात्मक सहयोगको अपेक्षा गर्दछु ।

-यो बजेट तर्जुमा गर्दा मार्ग निर्देशन गर्नुहुने यस क्षेत्रलाई प्रतिनिधित्व गर्नुहुने संघ तथा प्रदेश सभाका माननीयज्यूहरु नगर प्रमुखज्यू, नगर कार्यपालिकाका सदस्यज्यूहरु, नगर सभाका सदस्यज्यूहरु, राजनीतिक दलका प्रतिनिधीज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीज्यूहरु, टोल विकास संस्था, स्थानीय वुद्धिजीवी, नागरिक समाजका अगुवा, संघ संस्था, सहकारी, नीजि क्षेत्र, सञ्चारकर्मी लगायत सम्पूर्ण नगरवासीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

जगेश्वर देवी चौधरी 
नगर उप–प्रमुख
मिति २०८०/०३/१० गते

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।