ताजा अपडेट »

नवलपरासीको बाबा बर्दगोरीया धाममा भेटिए शिखर शैलीका भग्नावशेषहरू

विहीबार, ३२ जेठ २०८०, २३ : ४५
16 Shares

परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ भूमहीस्थित श्री बाबा बर्दगोरीया धाम विकाश संस्थामा शिखर शैली मन्दिरका भग्नावशेषहरू भेटिएका छन्। दुई हप्तादेखि पुरातात्विक विभागले सो क्षेत्रमा गरेको उत्खननका क्रममा त्यस्ता किसिमका भग्नावशेषहरू फेला परेको हो ।

पुरातत्व विभागका पुरातत्वविद् भाष्कर ज्ञवाली नेतृत्वको चार सदस्यीय टोलीले मन्दिर क्षेत्रको तीन स्थानबाट उत्खनन् सुरु गर्दा शिखर शैली मन्दिरमा प्रयोग हुने वस्तुहरूका अंश ९गजुरहरू, कार्नेसहरू, एसडीहरू, पिलर, बेस लगायतका सामान र संरचना ० हरू फेला परेको पुरातत्वविद् ज्ञवालीले बताए ।शिखर शैली मन्दिरका भग्नावशेषसँगै त्यस क्षेत्रको उत्खननका क्रममा झण्डै १ मिटर लम्बाइ, २० सेमि चौडाइ र ५ सेमि मोटाई भएको इँटाबाट बनेको इनार र देवीका मूर्तिहरू फेला परेका छन्।

मन्दिर क्षेत्रको सांस्कृतिक इतिहास केलाउँदा यहाँ पाइएका प्राचीन वस्तुहरू १५ देखि १६ औं शताब्दीका रहेको ज्ञवालीले बताए । शिखर शैली मन्दिरको भग्नावशेष अहिले यत्रतत्र फैलिएकोले अब यस क्षेत्रको भौतिक सर्वेक्षण ९जियोफिजिक्स० गरी क्षेत्रफल यकिन गर्न तत्काल आवश्यक रहेको पुरातत्वविद् ज्ञवालीले बताए । १६ सेन्टिमिटर खनेपछि बाट नै शिखर शैली मन्दिरका भग्नावशेष भेटिन थालेपछि उत्खननको काम रोकिएको छ ।

टोलीले जियोफिजिक्स आवश्यक रहेको रायसहितको प्रतिवेदन विभागमा दिइने ज्ञवालीले बताउनुभयो । पहिलो पटक यसवर्ष उत्खनन् सुरु गरिएकाले प्रतिवेदनका आधारमा अर्को वर्षदेखि पुनः उत्खनन् हुन सक्ने उहाँले भनाइ छ । यहाँ फेला परेका वस्तुअंशहरूलाई टोलीले मन्दिर व्यवस्थापन समितिको जिम्मा लगाएर जाने छ।

स्थानीयले देवीका मूर्तिहरू पाउनुअघि मन्दिर क्षेत्र नजिक रहेको भलुही खोला किनारमा २०५२ सालमा प्राचीन ताम्रपत्र भेटिएको थियो। त्यस ताम्रपत्रलाई पुरातात्विक विभाग पठाइएको थियो।
१२ बुँद्दाको अक्षराकांश पद्दतिमा रहेको उक्त ताम्रपत्रमा उल्लेख भएका तत्कालीन राजा त्यस समयमा भएको अभिलेख नपाइएकाले त्यो पुष्टि हुन नसकेको र अनुसन्धान भइरहेको पुरातत्वविद्ध ज्ञवालीले बताए । ताम्रपत्र पाएपछि स्थानीयले चासो दिएर खोजी गर्न थालेपछि त्यहाँ देवीका विभिन्न मूर्तिहरू फेला पर्न थालेका हुन्।

किंवदन्ती अनुसार त्यस क्षेत्रमा विजय नाम गरेका राजा बस्ने र उनले सयौं गाईहरू पाल्ने गरेको उल्लेख छ। त्यस क्षेत्रमा निर्माण गरिएको मन्दिरमा बसाहा ९साँढे० रहेको थियो। पछि त्यसलाई शिवधामका रूपमा विस्तार गरिएको किंवदन्तीमा उल्लेख भएको बाबा बर्दगोरिया धाम संरक्षण समितिका अध्यक्ष नरपति पाण्डेले जानकारी दिए ।

मन्दिर नजिकै रहेको अमर पोखरीको जलले नुहाएमा चर्म रोग निको हुने विश्वासले पनि यस क्षेत्रको महत्व थप रहेको पाण्डेले भनाइ छ । यस श्री बाबा बर्दगोरीया धाम विकाश संस्थामा विशेषगरी तीज र शिवरात्रिमा ठूलो मेला लाग्ने गर्छ जहाँ नेपालका विभिन्न ठाउँदेखि मात्र नभई भारतसम्मका तीर्थालुहरू यस मन्दिरमा दर्शनका लागि आउने गर्दछन्।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल