ताजा अपडेट »

सिद्धबाबामा सडक खुल्न अझै समय लाग्ने, लुम्बिनीका बिभिन्न ठाउँमा सडक अवरुद्ध

मंगलबार, २३ साउन २०८०, ०९ : १७
41 Shares

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा सडक खुल्न अझै केही समय लाग्ने भएको छ । सिद्धबाबा सुरुङमार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध भएको छ । अबरुद्ध सडक खुलाउन पहिरो हटाउने काम भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । पाल्पा-बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड (रामापिथेकसपार्क) क्षेत्रमा लेदोसहित ठूलो पहिरो खसेको थियो ।

यसैगरी वर्षासँगै पहिरो खस्दा लुम्बिनी प्रदेशका विभिन्न सडकहरु अवरुद्ध भएका छन् । दाङको लमही–घोराही सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । लमहीको कुलमोहर नजिकै पहिरो खस्दा सवारी आवागमन बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार अहिले पहिरो पन्छाउने काम भैरहेको छ । गत बर्षको अविरल वर्षाका कारण उक्त स्थानमा ठुलो पहिरो खसेको थियो ।

पहिरोका कारण भालुवाङ–प्युठान जोड्ने सडक पनि अवरुद्ध भएको छ । प्युठानको मान्दवी गाउँपालिकामा पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।