ताजा अपडेट »

बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच

बुधबार, २४ जेठ २०८०, १६ : ४३
14 Shares

बुटवल । बुटवलमा करोडौँ मूल्य पर्ने सरकारी जग्गा अनाधिकृत रुपमा व्यक्तिको नाममा नामसारी गरेकोे भेटिएको छ । बुटवल उपमहानगरपालिका १२ (साविक १४ नम्बर वडा) मा रहेको कित्ता नम्बर ५२ को २६ कठ्ठा सरकारी जग्गा व्यक्तिको नाममा पास गरी किनबेच भएको पाइएको हो । करोडौं मूल्य पर्ने सो सरकारी जग्गा विचौलियासँगको मिलेमत्तोमा मालपोत कार्यालय बुटवलले व्यक्तिको नाममा पास गरिदिएको हो ।

उक्त सरकारी जग्गा लामो समयदेखि तिलकबहादुर केसीले भोगचलन गर्दै आएका थिए । केसी बुटवल उपमहानगरपालिका १२ का निर्वतमान वडा सदस्य हुन् । उनले भोगचलन गर्दै आएको सरकारी जग्गा वि.स.२०६८ चैत २३ गते बुटवलस्थित मालपोत कार्यालय र नापी कार्यालयबाट मिलाएर केशरबहादुर थापाको नाममा पास भएको थियो ।

केशरबहादुर थापाको निधन पछि सो जग्गा उनकी श्रीमति कला थापाको नाममा २०७७ माघ ११ गते नामसारी भएको मालपोत कार्यालय बुटवलको अभिलेखमा देखिन्छ । २०७८ सालमा सो जग्गा तिलकबहादुर केसीको नाममा पास भएको मालपोतको अभिलेखले देखाउन्छ ।

त्यस पछि विभिन्न मितिमा गरी जग्गा टुक्रा पारी विभिन्न व्यक्तिहरुकोे नाम जग्गा पास भएको मालपोत कार्यालयको अभिलेखमा देखिन्छ । तर, केशरबहादुर थापाका छोरा अंकल थापाले सो जग्गा आफुहरुले बिक्रि नगरेको र कसरी अरुको नाममा नामसारी भयो भन्ने थाहा नभएको बताउँछन् ।

गुपचुप नै रहेको यो विषय मालपोत कार्यालय बुटवलले बदर गरी सरकारको नाममा सदर गरिसकेका छन् । सो जग्गा नेपाल सरकारको रहेकोले आफुले जानकारी पाउना साथ बदर गरी सरकारको नाउमा श्रेस्ता सदर गरेकोे मालपोत कार्यालय बुटवलका प्रमुख उपेन्द्रराज पौड्यालले बताए । ‘साविक सेमलार गाविस वडा नम्बर २ को कित्ता नम्बर ५२ को २६ कठ्ठा जग्गा सरकारको नै हो । सो जग्गा विभिन्न व्यक्तिको नाममा रहेको जानकारी पाउन साथ त्यसलाई बदर गरि सरकारको नाउमा श्रेस्ता सदर गराएको हुँ ।’– उनले भने ।

साथै उनले आफु कार्यालय प्रमुख भएर आएपछि भुमाफियाले हड्पेको जमिन फिर्ता गराएको र अन्य हड्पेको जमिन पनि फिर्ता ल्याउने बताए । ‘म यहाँ कार्यालय प्रमुख भएर आएको २०७९ साउनमा हो । यो बिचमा मोतिपुरको १ विघा जग्गा र तिलोत्तमामा १५ विघा २२ कठ्ठा जग्गा भुमाफियाको हातबाट फिर्ता लिएको छु ।’– उनले भने ।

यस्तै बुटवल उपमहानगरपालिका र वडा नम्बर १२ लाई पत्र लेखि उक्त जग्गा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ को उपदफा १ बमोजिम संरक्षण गर्न भनि पत्र पनि पठाइसकेको बताए । तर, २०२४ सालदेखि नै हजुरबा यहाँ बसेको र आफ्नो जग्गा अरुको नाममा गएकाले पछि फिर्ता लिएको तिलकबहादुर केसीले दाबी गर्छन् । साथै सो जग्गा आफुहरुले लामो समयदेखि भोग चलन गर्दै आएको र त्यहाँ खेति पाति पनि गर्ने गरेकाले उक्त जग्गा आफ्नै भएको उनले दाबी गरे ।

‘कसरी आफ्नो नाममा अरुले लालपुर्जा निकाले थाहा भएन् । पहिला अलिकति थियो। त्यहाँ उहाँ(केशरबहादुर थापाको) को पनि जग्गा थियो । उहाँको पछाडि कित्ता निकाल्दा हाम्रो समेत निकाले छन् ।’– उनले भने ‘२०२४ सालदेखि बाजे यहाँ बस्नु भएको हो । लेख्दा कसरी लेखियो थाहा भएन् । हामीले खेती पाति गर्ने सबैलाई थाहा छ । यो हाम्रै जग्गा हो लेख्दा के लेखिदिए हेर्ने कुरा भएन् ।’

बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष डिल्लीप्रसाद शर्मा उपाध्ययले सो जग्गा तिलकबहादुर केसीले लामो समयदेखि भोगचलन गर्दैै आएको भए पनि कसरी लालपुर्जा आयो र कसले चौकिल्ला गरेर अन्य व्यक्तिको नाममा जग्गा पास भएको हो भन्ने विषयमा जानकारी नभएको अध्यक्ष शर्माले बताए । यसबारेमा आफुहरुले अनुसन्धान गरिरहेको उनी बताउँछन् ।

यस्तै तत्कालिन वडा अध्यक्ष दुर्गाबहादुर केसीले आफुले लालपुर्जाको लागि भनेर कहि कतै पनि सिफारिस नगरेको र सबै प्रक्रिया पुराएकालाई मात्रै चौकिल्लाको सिफारिस दिने गरेको बताउँदै यस बारेमा आफुलाई धेरै जानकारी नभएको बताए ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।