ताजा अपडेट »

रुकुमपूर्वमा पुनः हिमपात, दैनिकी कष्टकर

शुक्रबार, ०३ माघ २०७६, ०८ : १८
4 Shares

माघ ३,

रुकुमपूर्व । रुकुमपूर्वमा पुनः हिमपात भएको छ । पहिलेको हिउँ नबिलाउँदै पटकपटक भएको हिमपातले जिल्लाको माथिल्लो क्षेत्रका बस्तीहरु प्रभावित भएका छन् । मङ्सिरको अन्तिम साताबाट सुरु भएको हिमपात लगातार हप्ताहप्तामा परिरहेको छ । हिमपातका कारण जिल्लाका पुथा उत्तरगङ्गा गाउँपालिका, सिस्ने गाउँपालिकाका १ र २ नम्बर वडा तथा भुमेका केही क्षेत्रहरु प्रभावित भएका छन् । केहि हप्ता यता लगातार रुपमा भइरहेको वर्षा र माथिल्लो क्षेत्रमा भएको हिमपातले जिल्लावासीको जनजीवन कष्टकर बन्दै गएको छ ।

हिमपातका कारण पुथा उत्तरगङ्गा गाउँपालिकाका अधिकांश क्षेत्रहरु प्रभावित बनेका छन् । पहिलेको हिउँ बिलाउन नपाउँदै पुनः आज हिमपात भएपछि मानिस बाहिर निस्कन नसकेको वडा नम्बर १ मैकोटका कर्मशाही घर्तीले बताए । बाक्लो हिउँ जमेकै कारण नागरिकका दैनिकी पनि ठप्प बनेको उनले बताए । हिउँले सबै जमीन छोपेपछि पशुचौपायलाई पनि चरणक्षेत्रको अभाव भएको स्थानीयले बताएका छन् । पटकपटकको वर्षा र हिमपातले जिल्लामा विद्यालय जाने बालबालिका तथा ज्येष्ठ नागरिकलाई समस्या हुने गरेको छ । हिमपातकै कारण विकास निर्माणका कामलगायत सडक पनि अवरुद्ध भएका छन् ।

सडकमा चारदेखि पाँच फिटसम्म हिउँ जमेकै कारण मङ्सिरको अन्तिम साता अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । यता आकाशे पानीको भरमा खेती गर्ने किसानलाई भने हिमपात र वर्षाले निकै राहत मिलेको छ । पटक पटक भएको हिमपात र वर्षाले यस वर्षको बालीनाली सप्रने भन्दै जिल्लाका किसानहरु खुशी भएका हुन् । –रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।