ताजा अपडेट »

कहिले सुरु हुन्छ बुटवलको बधशाला ? सञ्चालनका लागि पुनः टेन्टर प्रक्रिया

शुक्रबार, १२ जेठ २०८०, १३ : ४४
14 Shares

बुटवल । बुटवलमा निर्माण सम्पन्न भएको महिनौ बितिसक्दा पनि पशु बधशाला सञ्चालनमा आउन सकेको छैन । बुटवल उपमहानगरपालिका–१० रामनगरमा २ विगाह ३ कठ्ठा क्षेत्रफलमा तयार भएको बधशाला सञ्चालनमा नआउँदा प्रयोगविहिन भएको छ ।

बुटवलका नगरप्रमुख खेलराज पाण्डेले आफ्नो एक वर्ष कार्यकालमा हासिल गरेका उपलब्धी तथा प्रयासहरुमा समेत समेटिएको बधशाला यो आर्थिक वर्षमा सञ्चालनमा आउने सम्भावना कम हुँदै गएको छ । बधशाला सञ्चालनका लागि यसअघि थालिएको प्रक्रिया गलत भएको भन्दै पुनः टेन्डर प्रक्रियामा जाने तयारी भएको बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । ‘अबको हप्ता १० दिनमा नै ३० दिने म्याद राखेर ई बिडिङ हुन्छ ।’–उनले भने, ‘टेन्टरको सबै प्रक्रिया पूरा गरी अर्को आर्थिक वर्षदेखि मात्रै बधशाला सञ्चालनमा आउन सक्छ ।’ बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगरसभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरिसकेको छ । विधेयकले पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजत पत्र लिनुपर्नेजस्ता व्यवस्था गरेको छ । कानूनी हिसाबले समेत सहज हुने गरी बधशाला सञ्चालन हुने र यसले बुटवलबासीले स्वस्थ र स्वच्छ मासु उपभोग गर्न पाउने प्रमुख प्रशासकीय अधिकृत पन्थी बताउँछन् ।

बधशाला सञ्चालनका लागि निजी क्षेत्रलाई दिने र सोबापत भाडा असुल्ने गरी बनेको योजना कार्यान्वयनमा गई परीक्षण समेत सफल भएको थियो । तत्कालिन नगर प्रमुख शिवराज सुवेदीको पालामा नै सञ्चालनका लागि बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका बीचमा पशु बधशाला सञ्चालन गर्ने सहमति प्रक्रिया अघि बढेको थियो । उक्त प्रक्रिया कानुनअुसार नभएको भन्दै पुनः टेन्टर प्रक्रियामा जाँदा सञ्चालनमा थप ढिलाई भएको हो । बधशाला सञ्चालन र व्यवस्थापन गर्न बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले बुटवल उपमहानगरपालिकालाई वार्षिक ४७ लाख ३० हजार रुपैयाँ बुझाउने गरी सहमती भएको थियो । तर, उक्त सम्झौतामा प्रक्रिया नपुगेको भन्दै उपमहानगरले पुनः टेन्डर प्रक्रिया थालेको हो ।

अस्वस्थकर मासु बन्देज हुने गरी आर्थिक वर्ष २०६६/६७ सालमै बुटवलमा पशु वधशाला निर्माणको शुरूआत गरिएको थियो । निर्माण गर्ने निकायको ढिलाइले वधशाला सञ्चालनमा ढिलाइ भयो । वधशालाका लागि विभिन्न समयमा विभिन्न निकायबाट करीब २७ करोड रूपैयाँ खर्च भइसकेको छ । बुटवल उपमहानगरका निवर्तमान मेयर सुवेदीको पालामा सार्वजनिक निजी साझेदारीमा वधशाला सञ्चालन गर्ने मोडालिटी बनेको थियो भने त्यसैअनुरूप बजेट विनियोजन भई पूर्वाधार निर्माण तयार भएको थियो । बधशाला सञ्चालनमा आएपछि बुटवलका मासु पसलहरूले जथाभावी खसीबोका काटेर बिक्री गर्न पाउने छैनन्, वधशालाबाट मासु किनेर ल्याई बिक्री गर्नुपर्नेछ ।

वधशालामा लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगर, हेफर इन्टरनेसनल सहितको लगानी छ । दैनिक १ हजार खसीबोका वध गर्न मिल्ने गरी वधशाला बनाइएको छ । यहाँ बाख्राको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, वधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैंचा निर्माण भएका छन् । यहाँबाट निस्किने फोहोरलाई प्रशोधन गरेर बायो ग्यास निकालिनेछ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।