ताजा अपडेट »

गर्भपतन गराउनेको संख्या बढ्दै, लुम्बिनीमा ३ वर्षमा ५० हजार बढीले गराए सुरक्षित गर्भपतन

विहीबार, ०४ जेठ २०८०, १६ : ३०
14 Shares

बुटवल । सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको पाइएको छ । लुम्बिनी प्रदेशमा ३ वर्षमा ५० हजार भन्दा बढीले सुरक्षित गर्भपतन गराएका छन् । आर्थिक वर्ष २०७६/०७७ देखि २०७८/०७९ सम्म लुम्बिनी प्रदेशमा ५४ हजार ६९७ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका छन्।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार आर्थिक वर्ष २०७६/७७ मा १८ हजार ७८५ जनाले गर्भपतन गराएका छन् । यस्तै आर्थिक वर्ष २०७७/७८ मा १७ हजार ४९७ र २०७८/७९ मा १८ हजार ४१५ जनाले सुरक्षित रुपमा गर्भपतन गराएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका सुचना अधिकारी डोरबहादुर बस्नेतले बताए । गर्भपतन गर्ने मध्य ३५ हजार ४७८ जनाको मेडिकल विधिबाट र १९ हजार २१९ जनाको सर्जिकलको माध्यमबाट गर्भपतन गराइएको उनले बताए । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य रुपन्देहीमा मात्रै १२ हजार ५८ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

पहिले सूचीकृत स्वास्थ्य संस्थाहरुको संख्या पनि कम थियो, पहुँच थिएन’ लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका सुचना अधिकारी बस्नेत भन्छन्, ‘अहिले सूचीकृत स्वास्थ्य संस्थाहरु संख्या पनि बढी रहेको छ । त्यसकारणले गर्भपतन गराउनेको संख्या पनि बढी भएको हुन् सक्छ ।’ विगतमा असुरक्षित गर्भपतन गराउने गरेका कारण अहिले सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको देखिएको हुन सक्ने उनले बताए ।

स्त्री तथा प्रस्तुती रोग विशेज्ञ डा. विष्णु गौतमले धामीले कलिलो उमेरमा शारीरिक सम्बन्ध राख्ने तथा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न झन्झन्ट मान्ने कारणले पनि गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको बताउँछन्। ‘श्रीमान् विदेशमा बस्ने भएपछि उनीहरुले परिवार नियोजनका साधनहरु प्रति वास्ता गर्दैनन्,’ गौतमले भने, ‘तर जब श्रीमान घर आउँछन् अनि अनईच्छित गर्भ रहन जान्छ र त्यसपछि गर्भपतन गराउँछन् । यसकारणले गर्दा पहिला नै सचेत हुनु राम्रो हुन्छ ।’

साथै असुरक्षति रुपमा गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा पछिसम्म समस्या पर्ने भएकाले गर्भपतन गर्नु पर्ने भएमा सुरक्षित रुपमा नै गर्नु पर्ने बताउँछन् । ‘सकेसम्म त परिवार नियोजनको साधन प्रयोग गर्नु नै राम्रो हुन्छ । यदि अनईच्छित गर्भ रहेको अवस्थामा सुरक्षित गर्भपतन गर्नु पर्छ । असुरक्षित रुपमा गर्भपतन गराउँदा महिलाको ज्यान जानेसम्मको जोखिम हुन्छ । यसका साथै असुरक्षित रुपमा गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा पछिसम्म समस्या पर्न सक्छ ।’– उनले भने ।

गर्भपतन गराउनेमा २० वर्षसम्मका १० प्रतिशत
सुरक्षित गर्भपतन सेवा लिनेहरु किशोरीहरुको संख्या पनि बृद्धि हुँदै गइरहेको पाइएको छ । लुम्बिनी प्रदेशमा गर्भपतन गराउने मध्ये करिब १० प्रतिशत २० वर्ष भन्दा कम उमेर समूहका छन् । ‘१५/१६ वर्षकै उमेरमा पनि गर्भपतन गराउन आएको देखिन्छ,’ सूचना अधिकारी बस्नेतले भने्, ‘गर्भपतन गराउने मध्य करिब १० प्रतिशत २० वर्षमूनीका छन् ।’

अधिवक्ता तथा महिला अधिकारकर्मी इन्दिरा आचार्यले सानैमा बच्चा जन्माउँदा भविष्यलाई असर गर्नुका साथै विभिन्न स्वास्थ्य समस्या आउन सक्ने सोचेर कम उमेरमै सुरक्षित गर्भपतन गराउने गरेको पाइने बताउँछिन् । ‘कम उमेर बच्चा जन्माउँदा ज्यान जोखिममा भएका कारणले, कम उमेरमा बच्चा जन्माउँदा विभिन्न स्वास्थ्य समस्या हुन सक्छ भनेर र अविवाहित अवस्था भएमा समाजले स्वीकार नगर्ने भएकाले सानैमा परिवारको सहमतिले नै सुरक्षित गर्भपतन गराउने गरेको पाइन्छ । यी सोचले सानै उमेरम गर्ने गर्भपतनलाई सकारात्मक रुपमा नै लिनु पर्छ ।’– उनले भनिन् ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशको तथ्याङक अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म ३ वर्षको अवधीमा मात्रै ४ हजार ८१५ जना २० वर्षसम्म महिलाहरुले गर्भपतन गराएका थिए । जुन कुल गर्भपतन गराउनेको १० प्रतिशत हो । आर्थिक वर्ष २०७६/७७ मा १ हजार ७१८ जना, ७७/७८ मा १ हजार २५७ जना र ७८/७९ मा १ हजार ७७० जनाले गर्भपतन गराएका थिए ।

असुरक्षित गर्भपतन पनि…
सुरक्षित गर्भ पतनका साथसाथै असुरक्षित गर्भपतन पनि हुने गरेको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका सूचना अधिकारी बस्नेत बताउँछन्। ‘असुरक्षित गर्भपतन गराउनेको संख्या धेरै छ,’ उनले भने ‘तर त्यो गैरकानुनी भएका कारण गणनामा आउँदैन् ।

सरकारीमा भन्दा प्राइभेटमा गोपनीयता बढी हुने भन्दै अझै पनि असुरक्षित रुपमा गर्भपतन हुने गरेको उनी बताउँछन् ।‘ सरकारी सुचिकृत संस्था संस्थाहरुले गर्भपतन गराउनेको गोपनीयतालाई विशेष ध्यान त दिएको नै छ । तर, पनि विश्वास नपरेर असुरक्षित रुपमा गर्भपतन गराउने गरेको पाइन्छ ।’– उनले भने । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी श्यामु अर्यालले असुरक्षित गर्भपतन गराएको घटना प्रहरीमा समेत आउने गरेको बताउँछन् । ‘असुरक्षित गर्भपतन गराएको घटना प्रहरीमा पनि आउने गर्छन् । गत आर्थिक वर्ष केही घटना हामी कहाँ आएका थिए । अहिले यो आर्थिक वर्षमा भने यस प्रकारका घटना आएको छैन् ।’– उनले भने ।

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको, गर्भपतन गराएमा गर्भवती महिलाको ज्यान खतरामा हुनसक्ने तथा विकलाङ्ग बच्चा जन्मने भनी ईजाजत प्राप्त चिकित्सकको रायमा २८ हप्तासम्म, जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ भए २८ हप्तासम्म, रोग प्रतिरोध क्षमता उन्मुक्ति गर्ने जीवाणु (एआईभी) वा निको नहुने रोग लागेको अवस्थामा र भुण्रमा कमी कमजोरी भएका कारण गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रुणमा खराबी रहेको, वंशाणुगत खराबी वा अन्य कुनै कारणले भ्रुणमा अशक्तता हुने अवस्था स्वास्थ्यकर्मीको रायमा २८ हप्तासम्मको गर्भ पतन गर्न पाउने व्यवस्था छ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।