ताजा अपडेट »

मुख्यमन्त्री पोखरेल र राजदूत यान्छीबीच भेटवार्ता

बुधबार, ०१ माघ २०७६, १३ : १०
8 Shares

माघ १,

ग्लोबल आवाज

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री पोखरेल र नेपालका लागि चीनका राजदूत होउ यान्छी बीच आज बुधबार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत यान्छीले माघी पर्वको शुभकामना दिदै प्रदेश ५ ले आर्थिक विकासमा हासिल गरेको उपलब्धीप्रति बधाई दिएका थिए ।मुख्यमन्त्री पोखरेलले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम रहेको बताए । उनले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउने सोंचमा रहेको र त्यसका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताए ।

त्यसैगरी,उनले प्रदेश ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको बताउँदै सिचुवानले गरेको कृषिको व्यवसायीकरण र औद्योगिक विकासको अनुभव हाम्रा लागि काम लाग्ने बताउनुभयो । सिचुवानका गर्भनरलाई प्रदेश ५ भ्रमणको निमन्त्रणा दिएको र त्यसको आवश्यक प्रबन्ध मिलाउन राजदूतलाई आग्रह समेत गरे । राजदूत यान्छीले नेपालको विकास प्रयासमा चीन सधैं सहयोगी रहेको चर्चा गर्दै अहिले नेपाल दु्रत विकासको बाटोमा हिडेको र त्यो प्रयासमा चिनियाँ साथ रहेको बताए । उनले केही महिना अघि चिनियाँ राष्टपतिको नेपाल भ्रमण र नेपालका राष्टपति विद्यादेवी भण्डारीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध अझ उचाईंमा पुगेको बताए ।

मुख्यमन्त्री पोखरेलले विआरआई परियोजना अन्तर्गत केरुङ काडमाडौं रेलमार्ग लुम्बिनी ल्याउने योजना पूरा गर्न सक्दा यो क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले प्रदेश ५ मा रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र दाङको घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने योजना अघि सारेको र तीमध्ये एक चिनियाँ मोडलको औद्योगिक क्षेत्र होस् भन्ने चाहेको बताए । साथै बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नती र सेवा सुधार गर्न लागेको र ती अस्पतालको सुधारमा चिनियाँ अनुभवबाट सहयोग पुग्ने बताए ।

लुम्बिनी चिनियाँका लागि आउन चाहने एउटा प्रमुख ठाउँ भएको बताउँदै राजदूत यान्छीले सिचुवानको छेन्दु भैरहवा सिध उडानका लागि सहयोग र अभिप्रेरित गर्ने भन्दै छेन्दु भैरहवा सिधा उडानले प्रदेश ५ र सिचुवानबीचको सम्बन्ध अझै राम्रो हुने बताएका छन् । मुख्यमन्त्रीले कृषिको व्यवसायीकरण र पर्यटन प्रवद्र्धन मार्फत प्रदेशको समृद्धि गर्दै सिंगो मुलुकको विकासमा योगदान गर्ने लक्ष्य लिएको जानकारी समेत दिएका छन् । केही महिना अघि भएको सिचुवान भ्रमणका क्रममा कृषिको नयाँ प्रविधिबारे त्यहाका कृषि विज्ञसंग भेटेको र त्यहाँका विज्ञ यहाँ ल्याएर प्रविधि हस्तान्तरणका लागि सहयोग गर्न आग्रह गरे ।

उनले परम्परागत शिक्षाका लुम्बिनी बौद्ध विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय यहाँ रहेका, ती दुई विश्वविद्यालय र चीनमा परम्परागत शिक्षाको महत्वपूर्ण मानिने कन्फ्युसियस विश्वविद्यालयबीच विद्यार्थी आदान प्रदान गर्न सकिने बताए । मुख्यमन्त्री पोखरेलले लुम्बिनी भ्रमण बर्षको समापन तथा बुद्ध जयन्ती समारोहमा राजदूतलाई लुम्बिनीमा निमन्त्रणा समेत गरेका छन् ।राजदूत यान्छीले लुम्बिनी, कपिलवस्तुको तिलौराकोट सहित बौद्ध सम्पदास्थलको भ्रमण गर्न लागेको र ती क्षेत्रको भ्रमण गर्न पाउँदा खुशी लागेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।