ताजा अपडेट »

आयात प्रतिस्थापन गर्ने उद्देश्यले जुत्ता घरको अवधारणाः उपभोक्ताको आकर्षण उत्साहजनक

मंगलबार, २६ बैशाख २०८०, १८ : ०७
19 Shares

नेपाल छाला जुत्ता उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । छाला जुत्ता उत्पादनमा केही तीतो ईतिहास भए पनि पछिल्लो समय सञ्चालनमा आएका विभिन्न प्रतिष्ठित जुत्ता उत्पादक कम्पनीहरुले बजारको ७० प्रतिशत बढी माग धान्न सकेको उद्योगीहरु दाबी गर्छन।

विसं २०२२ सालमा बाँसबारी छाला जुत्ता कारखानाको औपचारिक उद्घाटन भएको थियो । त्यतिबेला बाँसबारीस्थित अहिले शहीद गंगालाल हृदय केन्द्र अस्पताल रहेको स्थानमा कारखाना थियो । चीन सरकारको सहयोगमा स्थापना गरिएको सो छाला जुत्ता कारखाना नीजिकरण गर्ने सरकारको नीतिअनुरुप २०४९ सालमा नीजिकरण गरियो । कारखाना नीजिकरण भएसँगै अहिले बन्द छ । प्रजातन्त्र पुनःस्थापनापछि २०४८ मा मन्त्रिपरिषद्को बैठकले चीनसहित विभिन्न मुलुकको सहयोगमा निर्माण भएका उद्योग निजीकरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा उक्त उद्योग नीजिकरण गरिएको थियो ।

उक्त उद्योगको उत्पादन २०५३/५४ सालसम्म पनि काठमाडौंको रत्नपार्कमा राखेर विक्रि हुन्थ्यो । उक्त समयदेखि नै नेपाली जुत्ताका उत्पादनहरु एकै ठाउँमा राखेर विक्रि वितरण गर्ने परम्पराको विकास भएको उदाहरण सुनाउँछन नेपाली जुत्ता घर बुटवलका अध्यक्ष होमनाथ उपाध्याय । काठमाडौंका विभिन्न ठाउँमा एकै छानामुनि विभिन्न कम्पनीका उत्पादन विक्रि गरेको अनुभवलाई लिएर बुटवलमा पनि जुत्ता घर सञ्चालनमा आएको छ ।

बुटवलको मिलनचोक स्थित डेल्टा कमप्लेक्समा रहेको ‘नेपाली जुत्ता घर बुटवल’मा हरेक दिन जुत्ता पारखीहरुको चहल पहल हुने गर्दछ । नेपालका विभिन्न प्रतिष्ठित ९ कम्पनीका उत्पादन एउटै छामुनि उपलब्ध हुने भएकाले सेवाग्राहीहरुको चहलपहल हुने गरेको छ । उद्योगहरुले आफ्ना उत्पादनहरु एकै ठाउँमा राखेर व्यापार प्रतिस्पर्धा गर्नुका उद्देश्य लगायत विषयसँग सम्बन्धित रहेर नेपाली जुत्ता घर बुटवलका अध्यक्ष होमनाथ उपाध्यायसँग गरिएको कुराकानी :

नेपाली जुत्ता घरको अवरधारणा कसरी आयो ?

नेपाली ब्राण्डका गुणस्तरीय नेपाली जुत्ता एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले नै यसको अवधारणा ल्याइएको हो । स्वदेशी वस्तुको प्रवद्र्धन र आफ्ना उत्पादनको ब्राण्डिङका लागि सहज होस भन्ने उद्देश्यले उद्योगीहरु बीच सहकार्य गरी जुत्ता घरको अवधारणामा हामी अघि बढेका हौं । यो अभ्यास काठमाडौंमा यसअघिदेखि नै भैरहेको छ । काठमाडौंको जमलमा रहेको राष्ट्रिय नाच घरको भवन भाडामा लिएर ५ वर्षसम्म हामीले यस प्रकारको पसल सञ्चालन गर्यौ । उक्त भवन नाच घरले विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्ने भएपछि हामी त्यहाँबाट अन्यत्र सर्नु पर्ने भएका कारण हामीले उक्त पसल बन्द गरेका छौं । अब छिट्टै सोही अनुसारको स्पेससहितको ठाउँ खोजेर पुनः सञ्चालनमा आउने छौं । यसैगरी काठमाडौंमै बालाजु र कुमारी पार्टीमा पनि हामीले सामुहिक रुपमा आफ्ना उत्पादनहरु विक्रिका लागि राख्ने गरेका छौं । थप व्यवस्थित र आधुनिक शैलिमा जाने उद्देश्यले नै पश्चिम नेपालको मुख्य ब्यापारीक केन्द्र बुटवलमा जुत्ता घरको अवधारणा अघि बढ्यो ।

तपाईहरुको आफ्ना उत्पादनहरु बीच नै प्रतिस्पर्धा गरिरहेको अवस्थामा भारतीय सीमानाकासँग नजिकै रहेको बुटवलमा जुत्ता घर सञ्चालन गर्दा थप चुनौतीपूर्ण रहँदैन ?

हाम्रो अहिलेको पहिलो प्राथमिकता नै बुटवल जस्तै सीमानाका नजिक रहेका शहरहरुमा बजार विस्तार गरेर आयात प्रतिस्थापन गर्नु हो । सीमा नाकामा हुने चोरी पैठारी रोक्नका लागि नेपाली उत्पादनहरु पनि गुणस्तरीय छन है, सस्तो र भरपर्र्दो छन, स्वदेशी उत्पादनको प्रयोग गर्नुपर्छ भन्ने सचेतनाका लागि हाम्रो यो प्रयास पनि हो । नेपालका ग्राहकहरुले हाम्रो उत्पादन बारे बुझ्न सके भने चोरी पैठारी हुने छैन, आयात प्रतिस्थापन रोकिएर मुलुकको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने छ । हामीले ग्राहकहरुलाई आफ्ना उत्पादनको ६ महिना बढीको ग्यारेन्टी दिएर विक्रि गर्ने गरेका छौं जुन विदेशी कम्पनीहरुमा नपाउन सकिन्छ । गुणस्तरीय वस्तु कुन हो भन्ने कुरा ग्राहकले बुझ्न सके भने हामीलाई कुनै पनि चुनौती हुने छैन ।

हामी बीचको आपसी प्रतिस्पर्धाको कुरा जहाँ छ, उदाहरण्का रुपमा हामी फरक ढँगले प्रस्तुत हुन चाहान्छौं । एउटा कम्पनीको शोरुममा अर्को कम्पनीको व्यक्ति नजाने उदाहरणहरु पनि छन । तर हामी चाहान्छौं प्रतिस्पर्धामा व्यापार भएन भने हामी संघर्षरत रहन सक्दैनौं । अर्को कुरा एकले अर्र्को कम्पनीका उत्पादन, प्रविधि र सीप बारे जानकारी राखेर हामीहरु बीच नै थप परिस्कृत हुन पनि यसले सहयोग गर्नेछ ।

जुत्ता घरमा भएका उत्पादन र बुटवलका ग्राहकबाट पाएको प्रतिक्रिया बारे के भन्नु हुन्छ ?

हामी उत्साहजनक अवस्थामै छौं । जुत्ता घरमा ग्राहकको आगमन बढ्दो छ । विस्तारै गुणस्तरीय र नेपाली उत्पादनका बारेमा उपभोक्ताले जान्ने अवसर पाएका छौं । उपभोक्ताको माग बढ्दै गएको अवस्थामा यहाँ हामीले गरेका लगानीमा थप वृद्धि गर्ने सोँच पनि बनाइरहेका छौं । हालसम्म यहाँ हामीले डेढ करोड बढी लगानी गरेका छौं भने ३० जना बढीलाई प्रत्येक्ष रोजगारी दिन समेत सफल भएका छौं । यसैगरी अन्य शहरहरुमा पनि शाखा विस्तार गर्ने योजना रहेको छ । बुटवल पछि पोखरा, विराटनगर लगायतका शहरहरुमा पनि शाखा विस्तारको योजनामा हामी छौं ।

बुटवलमा हामीले ५ हजार बढी मोडलका जुत्ता चप्पल उपलब्ध गराएका छौं । जस अन्तरगत पवित्र शुज इण्डष्ट्रिज प्रालिको शुल्यान्ड, रन शु इण्डष्ट्रिज प्रालिको रन शुज, बेस फुटवेयर इण्डष्ट्रिज प्रालिको बि एफ डियर हिल, लालिगुरास फुटवेयरको क्रस रोड, शुभकामना फुटवेयरको फस्ट वाल्क, बल्याक हर्स शुज इण्डष्ट्रिज प्रालि को बल्याक हर्स, स्मार्ट शुज इण्डष्ट्रिजको स्मार्ट, तथा एक्सन शुज इण्डष्ट्रिजको टुरिष्ट तथा शिखर शुज ईण्डष्ट्रिजको शिखर ब्राण्डका उत्पादनहरु प्राप्त गर्न सकेका छन भने थप कम्पनीहरुलाई पनि जोड्दै जाने हाम्रो लक्ष्य छ ।

नेपाली जुत्ता उद्योगहरुको के–कस्ता समस्या समाधानका लागि जुत्ता घरको अवधारणाले सहयोग पुर्याउन सक्ला ?

नेपालका जुत्ता उद्योगहरुमा ३५ अर्ब बढी लगानी रहेको तथा ती उद्योगहरुमा ६५ हजार बढीले रोजगार प्राप्त गरिरहेका छन । ती उद्योगहरुमा हजारौंले रोजार प्राप्त गरेका छन, यस कारण पनि ती उद्योगहरुको संरक्षण गर्नु राज्यको दायित्व हो । हामीले अघि सारेको एक अवधारणाले मात्रै सबै समस्याका हल हुन सक्दैन । खुला सीमाका कारण हुने चोरी पैठारी, उत्पादनमा हुने पाइरेसी लगायतका कारणहरुले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न हामीलाई लगानीका हिसाबले गाह्रो छ । उपभोक्ता सस्तो र एकछिनलाई हेर्दा राम्रोका पछि लाग्ने प्रवृत्ति छ । यी प्रवृत्तिलाई अन्त्य गरी गुणस्तरीय बस्तु हामीले उत्पादन गरेका छौं भन्ने जानकारी गराउन जुत्ता घरले सहयोग गर्ने छ ।

बुटवल तथा यस आसपासका बासिन्दालाई जुत्ता घरको तर्फबाट के भन्न चाहनु हुन्छ ?

हामी बुटवलमा नेपाली जुत्ताघर बुटवल मार्फत गुणस्तरीय नेपाली फुटवेयरहरु लिएर आएका छौं । एकै ठाउँमा ९ वटा कम्पनीका आफ्नै शो–रुम मार्फत जुत्ता चप्पलहरु बिक्री बितरण हुने हुँदा सुपथ मुल्यमै गुणस्तरीय फुटवेयरहरु पाईने तथा उपभोत्ताले जुत्ता चप्पलहरु किन्नकै लागि अब बजार बजार चाहरी रहन नपर्ने भएकाले हजुरहरु एक पटक जुत्ताघर आयर अवलोकन गरी हामीलाई थप उत्साह प्रदान गर्नुका साथै आफ्ना शुझावहरु समेत प्रदान गरिदिनुहुन अनुरोध गर्दछु ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।