ताजा अपडेट »

भाङबारीको पीडा : सधै नेताहरुको भोट बैंक मात्र, बिकास कहिले हुने ?

शनिबार, २३ बैशाख २०८०, ०५ : ५८
4 Shares

दाङ । बबई गाउँपालिका १ भाङबारीकी विमी कँवरले नेताहरू निर्वाचनको समयमा मात्र भोट माग्न आउने र जितेपछि फर्केर नआउने गरेको गुनासो गरिन् । बबई गाउँपालिकाको सबैभन्दा विकट क्षेत्र यही मानिन्छ । तर, उनले नेताहरूले चुनावमा भोट माग्ने बेलामा विभिन्न आश्वासन दिने गरेको भए पनि जितेपछि फर्केर नहेर्दा आफूहरूले धेरै समस्या भोग्दै आएको गुनासो गरिन् । उनको घर अगाडि तारसहित विद्युतको पोल रहेको छ । तर, उनले अहिले पनि सोलार बत्ती बाल्दै आएकी छन् । करिब ३ वर्ष पहिला गाउँमा विद्युतको उद्घाटन भएपछि अब बत्ती बाल्न पाइने भयो, भनेर उनी मात्र नभइ त्यहाँका स्थानीयहरू निकै खुशी भएका थिए ।

अहिलेसम्म पोलमा विद्युतको तारमा टाङ्गीएको छ । जसले गर्दा उनको घरमा विद्युत बाल्न सपना पूरा भएको छैन् । उनले भनिन् –यो ठाउँ सबै कुराले एकदमै विकट क्षेत्र हो । बल्लतल्ल विद्युत आएको थियो । तर, अहिलेसम्म हामीले त्यो प्रयोग गर्न पाएका छैनौँ । पोलमा तार टाङ्गीएको छ । तर, त्यसमा विद्युत आएको छैन् । लरामा मात्र बाल्नु भएन । करेन्ट आएको छैन रे रु’ यस्तै उनले आफूहरूले धेरै समस्या भोग्दै आएको पनि गुनासो गरिन् । उनले यहाँका नागरिकहरू विद्युत, सडक, सञ्चार, शिक्षा, स्वास्थ्य लगायतको समस्या भोग्दै आएको सुनाइन् ।

उनले भनिन्,‘ हाम्रो ठाउँमा कक्षा ७ सम्म मात्र पढाइ हुने विद्यालय छ । त्यसपछि कक्षा १० सम्म पढ्नको लागि गङ्गटेमा आउनु पर्छ । त्यसपछि की हापुरे र तुलसीपुर जानु पर्दछ । फोनले पनि राम्रोसँग काम गर्दैन । बिरामी भएपछि तुलसीपुर नै जानु पर्छ । अहिले त जेनतेन गाडीहरू चलेका छन् । बर्खा लागेपछि त्यो पनि बन्द हुन्छ । घन्टौँ हिँडेर हापुरेसम्म जानु पर्छ । ’ यस्तै उनले आफूहरू जंगली जनावरबाट पनि पीडित हुने गरेको बताइन् । उनले खेतबारीमा रोपेको अन्नपात जंगली जनवारले खाइदिने गरेको समेत बताइन् ।

यस्तै अर्का स्थानीय लाल बहादुर बोहराको पनि समस्या उस्तै रहेको छ । उनले बोइलर कुखुरा पालन गर्दै आएका छन् । कुखुरालाई पनि रातको समय उज्यालो दिनको लागि सोलार प्रयोग गर्दै आएको बताए । उनले भने,‘ गाउँमा विद्युत आएको करिब ३ वर्ष हुन लाग्यो । शुरुमा उद्घाटन गर्ने बेला वडा कार्यालयमा मात्र बलेको थियो । त्यो पनि एक/दुई महिना जति बेलेको थियो, होला । तर, अहिले त्यहाँ पनि बेलेको छैन् । ’ यसैगरी उनले गाउँमा खानेपानी, यातायात लगायतको समस्या रहेको पनि बताए ।

यस्तै उनले गाउँका केही ठाउँमा लाइन सहितको पोलहरू रहेको भएता पनि केही ठाउँमा पोल मात्र गाडिएको बताए । उनले सबै कुराले पछाडि परेको यस ठाउँमा विद्युत आएको देख्दा धेरै खुशी लागेको भन्दै अहिलेसम्म प्रयोग गर्न नपाउँदा दुख लागेको समेत बताए । यस्तै गाउँमा विद्युत पुगेपछि स्थानीयहरूले घरमा घर वायरिङ समेत गरेका छन् । तर, उनीहरूले अहिलेसम्म विद्युतको अनुभव गर्न पाएका छैन् । २०७८ साल पुस १० गते गङ्गटेमा विद्युत सेवाको उद्घाटन समेत भएको थियो ।

बर्खामा हापुरेसम्म पैदल यात्रा

अहिले गङ्गटेसम्म सवारी साधनहरू सञ्चालन हुने भएयता पनि बर्खा समयमा सडक राम्रो नहुँदा र खोलाहरूमा पुन नभएका कारण कुनै पनि कामको लागि हापुरेसम्म घन्टौँसम्म पैदल जानु पर्ने बाध्यता रहेको उनले बताए । उनले भने,‘ मैले सानो व्यवसाय गर्दै आएको छु । अब बर्खामा घोडामा सामान बोकाएर ल्याउनु पर्छ । घोडामा सामान ल्याउँदा एउटा घोडाको ३ हजार भाडा दिनुपर्छ । बिरामी हुँदा पनि बोकेर नै लैजानु पर्दछ । यहाँ हामीले धेरै समस्या भोगेका छौँ । ’ यस्तै उनले फोनको टावरले काम नगर्दा पनि उत्तिकै समस्या हुने गरेको सुनाए ।

केही ठाउँमा मात्र टावरले काम गरेको हुन्छ । तर, आकाशमा बादल त्यसले पनि काम नगर्ने उनको भनाइ छ । गङ्गटेमा तीनतलेमा फोनको टावर बनेपछि त्यसले केही राहात दिएपनि अझै सबै ठाउँमा फोनको सहज भएको छैन् । बर्खाको समय कोही बिरामी भएकामा २ र ४ पैदल हिँडेर कि हापुरे पुग्नु पर्छ, भने कि कोहलपुर जानलाई बाँकेको शमशेरगन्ज जानु पर्छ । तर, बीचमा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले जंगली जनावरको उत्तिकै डर स्थानी हरूको भनाइ छ । गाउँमा कोहीको समयमा उपचार नपाएर अकालमै मृत्यु हुने गरेको छ ।

विद्युत मर्मत र लाइन विस्तारको काम अब छिट्टै हुन्छ : गाउँपालिका अध्यक्ष खत्री

बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्री गङ्गटेको लाइन मर्मत र लाइन विस्तारको काम छिट्टै हुने बताए । उनका अनुसार करिब ३ वर्ष पहिले बबई १ को वडा कार्यालय गङ्गटेमा विद्युतको उद्घाटन भएको थियो । त्यो उद्घाटन गरेको समय बर्खाको समय हुँदा हावाहुरी वर्षाका कारण बाटोमा ढलेका रुखले गर्दा विद्युत अवरुद्ध भएको उनको भनाइ छ ।

उनले भने,‘ हामीहरू गाउँपालिकामा आइसकेपछि धेरै प्रयास गरेका छौँ । तर, हामीले धेरै पटक प्रयास गर्दा सफल नभएपछि मर्मत गर्न ढिलाइ भएको हो । जसले गर्दा अहिलेसम्म त्यहाँका नागरिकहरूले विद्युत बाल्न पाएका छैनन् । पहिला शुरुमा काम गर्दा अघिल्लो सरकारले साझेदारीमा काम गर्दा विद्युतसँग असमझदारी भएपछि विद्युतले काम गर्न मानेको थिएन । करिब २ महिना अगाडि मर्मतको लागि विद्युतसँग हामीले साझेदारीको रुपमा सम्झौता गरेका छौँ । अब छिट्टै विद्युतको काम हुन्छ ।’

उनले विद्युत विस्तारको लागि गाउँपालिकाले १० लाख बजेट छुट्टाएको समेत बताए । उनका अनुसार लाइन प्रसारण भएको ठाउँमा बत्ती बाल्नको लागि तिव्र रुपमा काम गर्ने समेत बताए । उनले भने,‘ विद्युत मर्मत र कप्तानेबाट लाइन विस्तार गर्न गर्ने हाम्रो योजना रहेको छ । हामीले उपभोक्ता समितिबाट गर्दा थोरै काम हुने र विद्युत बाल्न नसकिने भएपछि विद्युतसँग पनि समन्वय गर्नु पर्ने भएकाले हामीले विद्युतसँग साझेदारी गरेका हौँ । विद्युतलाई पुराना बक्यौता तिर्नु पर्ने हुँदा पनि विद्युतले काम गर्न मानेको थिएन । अहिले त्यो समस्या समाधान भइसकेको छ । अब कामको लागि हामीले विद्युतलाई ताकेता गर्छौँ । ’

गङ्गटेका समस्या समाधान हुन्छन् : मन्त्री मास्की

लुम्बिनी प्रदेशका विनाविभागीय मन्त्री धन बहादुर मास्कीले यहाँको समस्याको बारेमा आफू चिन्तित रहेको बताए । यहाँ भएका समस्य हरूलाई जतिसक्यो छिट्टो समाधान गर्ने र विद्युत विस्तार प्रक्रियामा अगाडि बढेको समेत बताए । विद्युत प्राधिकरणसँग आफूहरूले छलफल गरेको भन्दै उनले जतिसक्दो छिट्टो यहाँ विद्युत विस्तार गरी सबैको घर घरमा विद्युत बाल्न प्रक्रियामा लागेको उनको भनाइ छ । यस्तै गङ्गटेसम्म आउनको लागि सडकको लागि पहल गरेको भन्दै उनले हापुरेदेखि गङ्गटे पुग्ने सडकको स्तरोन्नतिको काम भइरहेको समेत बताए ।

उनका अनुसार अहिले ५ किलोमिटर सडक कालोपत्रे हुँदै गरेको र करिब १७ किलोमिटर सडक स्तरोन्नतिको काम भइरहेको छ । उनले गङ्गटेसम्म कालोपत्रे गर्ने र त्यहाँका भित्र गाउँहरूमा पनि सडकको पहुँच पु¥याउने आफूहरूको उद्देश्य रहेको र त्यही अनुसार काम भइरहेको बताए ।

यस्तै उनले यस क्षेत्रमा सञ्चारको पनि समस्या भएको भन्दै कतिपय ठाउँमा टावरहरू निर्माण भइरहेका र कतिपय ठाउँमा सर्वेका काम भइरहेको समेत बताए । यस्तै उनले आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले गङ्गटेलाई पहिलो प्राथमिकतामा राखेको समेत बताए । उनले त्यहाँका सबै समस्याको बारेमा आफू थाहा भएको भन्दै समाधान गर्नतर्फ लाग्ने समेत बताए । उनले खानेपानी, शिक्षा लगायतको समस्या पनि छिट्टै समाधान हुने बताए । उनैको पहलमा गत शनिबार गङ्गटेमा विशेषज्ञ स्वास्थ्य शिविर भएको थियो । त्यस शिविरमा करिब ४ सय जनाले विशेषज्ञ स्वास्थ्य सेवा लिएका थिए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी