ताजा अपडेट »

लुम्बिनीका ८१ पालिकासँग छैनन् दमकल, डोजर ‘फालाफाल’

बुधबार, १३ बैशाख २०८०, १६ : ३४
61 Shares

बुटवल । विपत्तका विभिन्न घटनामध्ये आगलागी पनि गम्भीर र चुनौतीपूर्ण छ । खासगरी गर्मीयाममा आगलागीको जोखिम बढी हुन्छ । स्थानीय तहसँग समयमै आगलागीलाई नियन्त्रणमा लिई क्षति न्यूनीकरण गर्न दमकल अभाव छ ।

निर्वाचित भएलगत्तै आफ्नो सुविधाका लागि तुरुन्त सवारी खरिद गरेका स्थानीय तहका जनप्रतिनिधिहरू विपद् व्यवस्थापनमा उपयोगी दमकल किन्ने योजनामा छैनन्। अधिकांश स्थानीय तहका जनप्रतिनिधि गाडीमा सरर हिँड्छन् । कानुनतः सवारीसाधनको सुविधा पाउने भएपछि जनप्रतिनिधिहरूले सवारीसाधनको प्रयोग गर्नु स्वाभाविकै हो । तर, कानुनले खरिद गर्न सक्ने सुविधा दिँदा पनि स्थानीय तहका जनप्रतिनिधिले दमकल किन्न चासो दिएका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा दमकल राख्नुपर्ने उल्लेख छ।एउटै कानुनले जनप्रतिनिधिको सवारी सुविधामा र जनताको जिउधनको सुरक्षा गर्न दमकल खरिद गर्ने अधिकार दिएको छ । तर, लुम्बिनीका अधिकांश स्थानीय तहले आफ्नो सुविधाप्रति बढी चासो र जनताको सुरक्षामा भने बेवास्ता गरेको देखिन्छ ।

६ वर्षमा आगलागीबाट ८५ जनाको मृत्यु, २ अर्ब बढीको क्षति
लुम्बिनी प्रदेशमा ६ वर्षमा आगलागीका घटनाबाट ८५ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दिपक कुमार बस्नेतका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७९/०८० को चैत मसान्तसम्म प्रदेशका १२ जिल्लामा भएका आगलागीका घटनामा परी ८५ जनाको मृत्यु भएको बताए ।

आगलागीमा परी १६८ जना घाइते भएको प्रवक्ता बस्नेतले बताए । यस्तै आगलागीबाट १ हजार ५१० चौपायाको मृत्यु हुनुका साथै ४६९ चौपाए घाइते भए । सो अवधीमा भएको आगलागीबाट १ हजार ८३९ घर र ८४० गोठ जलेको प्रहरी प्रवक्ता बस्नेतले बताए । आगलागीबाट करिब २ अर्ब ३४ करोड ६७ लाख ७८ हजार ९९ रुपौयाँको क्षति भएको उनले बताए । आर्थिक वर्ष २०७५/७६ बाहेकका अन्य वर्षमा २० करोड भन्दा माथिको क्षति भएको प्रहरी प्रवक्ता बस्नेतले बताए । साथै आगलागीबाट हुने क्षति प्रत्येक वर्ष बृद्धि हुँदै गएको उनी बताउँछन् ।

लुम्बिनीका ८१ पालिकासँग छैन् दमकल
लुम्बिनी प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १०९ पालिका छन् । जसमध्ये ४ उपमहानगरपालिका, २२ नगरपालिका र २ गाउँपालिका गरी २८ वटा पालिकासँग ३५ वटा दमकल छन् । ती दमकल मध्ये ५ वटा दमकल अहिले बिग्रिएका छन् । बुटवल उपमहानगरपालिकासँग २ वटा दमकल छन् । यस्तै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा ३, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र सैनामैना नगरपालिकासँग १/१ वटा दमकल छन् । सिद्धार्थनगरका २ वटा दमकल भने अहिले बिग्रिएर थन्किएका छन् ।
दाङ तुल्सीपुर उपमहानगरपालिका र घोराहि उपमहानगरपालिकासँग २/२ वटा दमक छन् । तर, दुबै उपमहानगरका १/१ दमकल अहिले बिग्रिएका छन् । लमही नगरपालिकासँग १ र गढवा गाउँपालिकासँग १ वटा दमकल छन् । बर्दियाको गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बासँगढी नगरपालिका र राजापुर नगरपालिकासँग १/१ वटा दमकल छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकासँग ३, नरैनापुर गाउँपालिका, कोहलपुर नगरपालिका, नवलपरासी पश्च्मिको रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकासँग १/१ वटा दमक छन् ।

नेपालगञ्ज उपमहानगरपालिका ३ दमकल मध्ये एउटा बिग्रिएको छ । यस्तै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, गुल्मीको रेसुङ्गा नगरपालिका, प्युठानको प्युठान नगरपालिका र रोल्पाको रोल्पा नगरपालिका, पाल्पाको तानसेन नगरपालिका र रामपुर नगरपालिकासँग १/१ दमकल छन् ।
लुम्बिनी प्रदेश विपत्त व्यवस्थापन महाशाखाका प्रमुख रविन्द्र घिमिरेले प्रदेशमा प्रत्येक वर्ष आगलागीका घटनाहरुको संख्या र क्षति बढीरहेकाले पालिकाले दमकलको व्यवस्थापन लगायतका पूर्वतयारीमा ध्यान दिनु पर्ने बताउँछन् । अहिले लुम्बिनी प्रदेशमा आवश्यकता भन्दा कम संख्यामा दमकल रहेको र दमकल भएमा आगलागीबाट हुने क्षतिलाई केही मात्रामा भए पनि गर्न सहयोग पुग्ने बताउँछन् ।

‘प्रदेशमा हरेक वर्ष आगलागीबाट हुने क्षति बढिरहेको छ । खासगरी शहरी क्षेत्रमा दमकलको माध्यमबाट क्षतिलाई धेरै कम गर्न मद्र्धत हुन्छ । यसकारण हामीहरुले पालिका र प्रदेश सरकारलार्ई दमकलको व्यवस्थापन गर्दा राम्रो हुने भनेर सुझाव पनि दिने गरेका छौँ ।’– उनले भने ।

किन किन्न खोज्दैन् पालिकाले दमकल ?
दमकल खरिद गर्न भन्दा पनि संचालन गर्न खर्च धेरै हुने भएकाले कम आम्दानी हुने पालिकालाई खर्चको व्यवस्थामा गर्न समस्या हुने भएकाले ३ पालिकासँग मिलेर दमकल किन्न लागेको देवदह नगरपालिका प्रमुख धुव्रप्रसाद खरेलले बताउँछन् ।

देवदह नगरपालिका, रोहिणि गाउँपालिका र ओमसतिया गाउँपालिका मिलेर संयुक्त रुपमा दमकल किनेर संचालन गर्न लागेको उनले बताए । ‘दमकल भए पनि लागलागीबाट हुने क्षतिलाई धेरै मात्रामा कम गर्न सकिने रहेछ । यसकारणले हामीहरुले देवदह नगरपालिकाको ५० प्रतिशत र रोहिणी र ओमसतियाको २५/२५ प्रतिशत लागतमा दमकल खरिद गर्न लागेका छौँ । सम्भवतः असार भन्दा अघि नै हामी दमकल ल्याउने तयारीमा छौँ । नगरप्रमुखमा निर्वाचित भएपछि दमकलको आवश्यकताको महत्व बुझेर तत्कालै किन्नका लागि प्रक्रिया सुरु गरेता पनि विविध कारणले खरिद प्रक्रिया रोकिएको र अहिले केही दिन अघि मात्रै दमकलको खरिद प्रक्रिया अघि बढाएको उनी बताउँछन् ।

दमकल किन्न चाहे बजेटको अभाव छैन् पालिकालाई
पालिकाले बजेटको अभाव भएर दमकल नकिनेका भने होइन् । पालिकाले दमकल किन्न चाहेको अवस्थामा संघीय सरकारले प्रदान गर्ने समानीकरण अनुदानबाट बजेटको व्यवस्थापन सजिलैसँगग गर्न सक्छन् । मर्मतदेखि लिएर लाग्ने सबै खर्चको व्यवस्थापन भने पालिकाले नै गर्नु पर्छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वातावरण तथा विपत्त व्यवस्थापन महाशाखाका प्रमुख ऋषिराम आचार्यले संघले पालिकालाई दमकल किन्नको लागि छ्ट्टै बजेट नपठाए पनि समानीकरण अनुदानबाट किन्न सक्ने बताउँछन् ।

‘मन्त्रालयले दमकल किन्नको लागि छुट्टै पैसा पठाउने गरेको छैन् । पालिकालाई प्रदान गरिएको समानीकरण अनुदान, आन्तरिक स्रोतको व्यवस्थापनबाट किन्न सक्नु हुन्छ । ।’–उनले भने । दमकल सञ्चालन गर्नका लागि धेरै कर्मचारीको आश्यकता पर्नुका साथै मर्मत सम्भार पनि खर्चिलो भएका कारण पालिकाहरुले किन्न अनइच्छा देखाउने गरेको हुन सक्ने प्रमुख आचार्य बताउँछन् ।

‘देख्दा सजिलो जस्तो लाग्छ । अप्रेटिङमा धेरै जटिलता छ । एक्युमेष्टहरु तयारी अवस्थामा राखि राख्नु पर्यो । मर्मत सम्भार पनि खर्चिलो हुनु भयो । यी सबै व्यवस्थापन गर्नका लागि स्रोत साधन कठिन हुन्छ । एउटा दमकल सञ्चालन गर्नु पर्यो भने ८/९ वटा कर्मचारीको आवश्यकता पर्छ । यसकारणले गर्दा पनि केही पालिकाहरुले दमकल किन्न अनइच्छा देखाउने गरेका छन् । ’–उनले भने ।

साथै २/३ वटा पालिका मिलेर साझेदारीमा सञ्चालन गर्न पनि गर्न सुझाव दिएको र केही पालिकाले अहिले साझेदारीमा संचालन गरिहेको उनी बताउँछन् ।

तर, डोजर फालाफाल
दमकल खरीदमा विभिन्न बहाना गर्ने स्थानीय तहका प्रमुखहरूलाई डोजर किन्न भने कुनै समस्या छैन । ठूलो संख्यामा स्थानीय तहका वडाध्यक्ष, अध्यक्ष/उपाध्यक्ष तथा मेयर/उपमेयर, प्रदेश तथा प्रतिनिधिसभा सदस्यसहितका जनप्रतिनिधि पछिल्लो समय आफ्नै डोजर किनेर चलाएका छन्।

प्रदेशमा अहिले करीब ५ हजार हेभी इक्विपमेन्ट छन् । प्रदेशमा अहिले ३ स्थानबाट हेभी इक्विपमेन्टको दर्ता हुन्छ । यातायात व्यवस्था कार्यालय सवारी रुपन्देहीबाट ७८० हेभी इक्विपमेन्ट दर्ता भएका छन् । यसमध्ये अधिकांश डोजर, एस्काभेटर र ब्याकहोलोडर छन् ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।