ताजा अपडेट »

श्रीमतीको हत्या गरी भारत जाने तयारीमा रहेका पुरुष पक्राउ

आइतबार, १० बैशाख २०८०, १८ : २८
32 Shares

दाङ । दाङमा प्रहरीले श्रीमती हत्या गर्ने श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १२ रतनपुर बस्ने ४१ वर्षीय मेघराज केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय घोराही दाङमा पत्रकार सम्मेलन गरी प्रहरीले घटना बारे जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीर बहादुर ओलीका अनुसार केसीलाई शुक्रबार राति करिब साढे ९ बजेतिर घोराही उपमहानगरपालिका ३ भवानपुर नजिकै लुकिछिपि रहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो । पक्राउ परेका केसीले गत वैशाख १ गते राती १० बजेको समयमा आफ्नी ४० वर्षीया श्रीमती शारदा कुमारी केसीको हत्या गरी घर नजिकै बारीमा पुरेका थिए । बुधबार दिउँसो १ बजेतिर घोराही केसीको घर अगाडि महिलाको शव गाडेको अवस्थामा (खुट्टाको पैतला र हल्का कपडा देखिएको) भन्ने खबर प्राप्त हुनासाथ जिप्रका दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतम सहित अनुसन्धान टोली खटेको थियो । घटनापछि उनी फरार रहेका थिए ।

तत्काल घटनाको प्रकृति, बरामद भएका सबुद प्रमाण, स्थानीयहरूको भनाई तथा प्रारम्भिक अवस्थामा प्रविधिको प्रयोग सीडीआर एनालाइसिस एवं घटना स्थलको प्रकृति हेर्दा उनका श्रीमानले कर्तव्य गरी फरार रहेको देखिएको हुँदा उनलाई खोजतलास गर्दै पक्राउ गरिएको प्रहरीको भनाइ छ । सोधपुछका क्रममा केसीले श्रीमानसँगको विवाद हुँदा आफूले मुक्का र अन्य चिजबाट हत्या गरी बारीमा गाडेको स्वीकार गरेको प्रमुख एसपी ओलीले बताए । उनी वन जङ्गलमा लुक्दै छिप्दै व्यक्तिगत सरसामान समेत साथमा बोकी भारत जाने तयारी गरिरहेको पक्राउ परेका हुन् । उनीमाथि दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले बालिकालाई ठक्कर दिई फरार रहेका अटो चालकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १२ गुर्जे बस्ने २६ वर्षीय सुवास सुनार रहेको प्रहरीले जनाएको छ । गत चैत १६ गते घोराही १२ गुर्जे स्थित पक्की पुलमा नम्बर नखुलेको अटोले तुलसीपुर १७ बस्ने ५ वर्षीया युविका बुढाथोकी लाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा गत चैत २० गते भैरहवा स्थित मेडिकल कलेजमा मृत्यु भएको थियो ।

घटना पश्चात प्रहरीले अनुसन्धान गर्दै हरियो रङको अटोले ठक्कर दिएको भन्ने मात्र खुल्न आएको र थप अनुसन्धान गर्दै सुनारले चलाएको रा १ ह ७००३ नम्बरको अटोले दुर्घटना गराई फरार रहेको भन्ने खुल्न आएको पछि घटना भएको २४ दिन पछि शनिबार उक्त अटो लुकाई छिपाई राखेको अवस्थामा फेला पारी नियन्त्रणमा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमका अनुसार अटो चालक सुनार भागेर भारत हरियाणा गएको भन्ने खुल्न आएकोमा उनलाई आइतबार पक्राउ गरी जिप्रका ल्याई थप अनुसन्धान कार्य भइरहेको छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी