ताजा अपडेट »

आर्थिक संकटले सरकारी कार्यालय पनि सुनसान, बन्द हुँदै व्यवसायिक सटर

आइतबार, ०३ बैशाख २०८०, १८ : १३
28 Shares

दाङ । आर्थिक मन्दिको प्रभाव नीजि क्षेत्रमा मात्र होइन सरकारी कार्यालयहरुमा पनि परेको छ । सार्वजनिक विवा बाहेक हरेक दिन भिडभाड देखिने दाङका सरकारी कार्यालयहरुमा पछिल्लो समय सेवाग्राहीको उपस्थिती पातलो बन्दै गएको छ । सबैभन्दा बढी भिडभाड रहने मालमोत कार्यालयमा समेत सेवाग्राहीको कमी आएको छ ।

कुनैपनि काम गर्दा २/३ दिनसम्म समय लाग्ने मालपोत कार्यालय तुलसीपुरमा सेवाग्राहीको संख्या घट्दै गएको छ । करिब एक महिनादेखि मालपोत कार्यालय सुनसान हुँदै आएको कार्यालयका प्रमुख कर्ण बहादुर नेपालीले बताए । आर्थिक मन्दीले कारोबार थप्प भएपछि यहाँमा पनि चहलपहल कम भएको हुन सक्ने उनले बताए । ‘अहिले सेवाग्राहीहरू जग्गा खरिद बिक्रीको लागि भन्दा पनि रोक्का, फुकुवाको काम गर्न आउने गरेका छन् ।’–नेपालीले भने, खरिद बिक्रीको काम न्यून मात्रामा भएको छ । उनका अनुसार यसअघिका समयमा दैनिक सय बढी रजिष्ट्रेशन हुन्थ्यो भने, अहिले मुस्किलले दैनिक १५/२० वटा रजिष्ट्रेशन हुने गरेको छ । कारोबार ठप्प भएपछि राजश्व संकलन पनि निकै न्युन रहेको उनले बताए । अन्य समय दैनिक १५/२० लाखसम्म राजश्व संकलन हुने यस कार्यलमा हाल २/३ लाख मात्रै राजश्व संकलन हुने गरेको छ ।

कार्यालयमा दर्ता स्रेस्ता र जग्गाधनी प्रमाण पुर्जानै छैन

तुलसीपुर–१९ का पदम वलीले जग्गा नामसारी गर्न मालपोत कार्यालयमा आए । कार्यालयमा जग्गाको पुर्जा दिनका लागि स्रेस्ता कागज नहुँदा समस्या भएको बताए । उनले भने, ‘हामीलाई मालपोतमा स्रेस्ता कागज सकिएको थाहा थिएन । सबै काम पूरा भयो । तर, लालपुर्जा भने कागज अभावका कारण पाउन सकिएन ।’ ‘आज जग्गाको नामसारी भएको छ । तर, लालपुर्जा ल्याउन अर्को दिन आउनु पर्ने भयो,’ उनले भने, ‘यस्तो कार्यले नागरिकले सास्ती पाउने भए ।

लेखापढी व्यवसायी अमरराज रोकाले कार्यालयमा स्रेस्ता कागज नहुँदा सेवाग्राहीलाई समस्या भइरहेको बताए । उनले राज्यले छिटो कागज उपलब्ध थ।ाइ। समस्याको समाधान गर्नु पर्ने उनी बताउँछन् । उनका अनुसार यो समस्या करिब एक हप्तादेखि छ । उनले जग्गा पास भएपनि स्रेस्ता नहुँदा सेवाग्राहीले लालपुर्जा नपाउने गरेको बताए । यस्तै उनले आर्थिक मन्दीका कारण पनि अहिले कमै मात्रामा जग्गाको कारोबार हुने गरेको बताए ।

उनका अनुसार विगतको वर्षहरूको तुलनामा अहिले करिब ७५ प्रतिशत जग्गाको कारोबार घटेको छ । उनले भने, ‘पहिला सेवाग्राहीलाई २÷ ४ दिन समय लाग्थ्यो । तर, अहिले एकदिनमा सबै काम हुन्छ । आर्थिक मन्दीका कारण अहिले धेरै असर परेको छ । अहिले बाहिर पैसा कोहीसँग छैन् । बैंकले ऋण दिँदैनन्, दिए पनि महँगो ब्याज छ । अनि यस्तो समयमा कसरी जग्गाको कारोबार होला ।’ यस्तै अर्का लेखापढी व्यवसायी बसन्त केसीले अहिले मन्दीका कारण जग्गाको कारोबार नहुँदा मालपोत कार्यालय सुनसान हुने गरेको बताए ।

केही दिनदेखि कार्यालयमा राख्ने स्रेस्ता र जग्गा धनी पुर्जा दिनको लागि कागजको अभाव भएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख नेपालीका अनुसार यो कागज विभागले उपलब्ध गराउने हो । आफूले पटक पटक माग गर्दै आइरहे पनि अहिलेसम्म नआएको उनले बताए ।

यातायात कार्यालय पनि सुनसान, नयाँ दर्ता न्यून

तुलसीपुर रहेको यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीहरू आउने क्रम घट्दो रहेको कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख कालिदास बस्यालका अनुसार विगत ३÷४ महिनादेखि कार्यालयमा नयाँ गाडी दर्ता अत्यन्त न्यून हुने गरेका छन् । उनले भने, ‘म जता जान्छु अहिले उतै सुनसान देख्ने गरेको छु । बजार पनि सुनसान अवस्थामा देख्छु । हाम्रो कार्यालयमा पनि दिन दिनै सेवाग्राही आउनेक्रम घट्दो रहेको छ ।’ उनका अनुसार पछिल्लो ३÷४ महिनायता नयाँ ठूला गाडी दर्ता भएका छैनन् । साना मोटरसाइकल मात्र केही मात्रामा दर्ता भएका छन् । ‘यो सबै आर्थिक मन्दीका कारण हुनसक्छ ।’–उनले भने ।

अहिले कार्यालयमा नामसारी, ठाउँसारी, करतिर्नेको लागि मात्र सेवाग्राहीहरू आउने गरेको उनको भनाइ छ । यसअघि कार्यालयमा दैनिक एक हजार बढी सेवाग्राही आउने गरेका थिए । त्यो अवस्था अहिले नरहेको कार्यालय प्रमुख बस्याल बताउँछन् ।

दिनप्रतिदिन सटरहरू बन्दै हुँदै : उद्योगी व्यवसायी

तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्ली बहादुर बस्नेतले आर्थिक मन्दीका कारण दिनप्रतिदिन बजारका सटरहरू बन्द हुँदै गएको बताए । युवाहरू विदेश जाने क्रम बढिरहेको र देशमा कृषि क्षेत्रमा उत्साहपूर्ण उत्पादन नहुँदासम्म देशको अर्थतन्त्र चलायमान नहुने पनि उनको भनाइ छ । राज्यले कृषि क्षेत्रमा राम्रो दृष्टि पुर्याउन नसक्दा अहिले देशमा यस्तो समस्या आएको उनको आरोप छ ।

उनले भने, ‘आर्थिक क्षेत्रको चलायमान गराउने भनेको कृषि क्षेत्र हो । तर, यहाँ किसानहरूले खेतीपाती गर्दा समय मै मल, सिँचाइ पाउँदैनन् । आफ्नो तरिकाले खेती गरेपनि प्रकृतिले पनि नोक्सान गरिदिन्छ । राज्यको ध्यान यतातिर पुगेको देखिदैन । किसानले उत्पादन भएको बस्तुबाट नै सबै कुराहरू चलायमान हुने हो । अन्नपात उत्पादन नभएपछि कसरी उद्योगको सञ्चालन हुन्छ । जसले गर्दा अहिले सबै क्षेत्र बन्द हुने अवस्थामा पुगेका छन् ।’ आफूले तेल तथा मैदाको उद्योग सञ्चालन गरिरहेको बताउँदै उनले विगतका वर्षहरूमा भन्दा अहिले ५० प्रतिशत कारोबारमा कमी भएको उल्लेख गरे ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी