ताजा अपडेट »

२०७९, लुम्बिनी प्रदेशलाई फर्केर हेर्दाः आशा र निराशामै बित्यो

विहीबार, ३० चैत्र २०७९, १८ : ०३
37 Shares

बुटवल । आज चैत ३० गते, अर्थात्, विसं २०७९ को अन्तिम दिन। शुक्रबार २०८० साल नयाँ वर्ष बनेर उदाउँदै छ । भित्तेपात्रोको पाता फर्किन्छ । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि । समयले धेरै सिकाएको छ । समय कोही कसैले रोकेर पनि रोकिँदैन, छेकेर पनि छेकिँदैन। यो निरन्तर अगाडि बढ्छ। यस्तै निरन्तरताको क्रममा २०७९ साल २०८०, मा परिणत हुन लागेको हो।

फर्केर हेर्दा, २०७९ मा लुम्बिनी प्रदेशमा आशा र निराशा दुबै देखियो । वर्षको सुरुवातमै भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आयो । विमानस्थल संचालनमा आएसँगै रुपन्देहीसहित प्रदेशभरको आर्थिक गतिविधि चलायनमान हुने अपेक्षामा प्रदेशवासी थिए । तर, विमानस्थलले सोचे अनुसार गति लिन नसकेपछि यहाँका व्यवसायि र नागरिकहरुमा निराशा देखियो । देश संघीय संरचनामा गएपछि सम्पन्न भएको दोस्रो निर्वाचन पछि प्रदेश सरकारले विकास निर्माणका काममा केन्द्रिय हुने र प्रदेशमा राजनीतिक स्थायीत्व कायम हुने आशामा रहेका प्रदेशवासीलाई राजनैजिक दलहरुको सत्ता दाउपेच कारण असन्तुष्टि हुनुका साथै निराशा बन्यो ।

लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको टेन्डर प्रक्रियामा भएको अनियमिताले पनि राष्ट्रिय रुपमा नै चर्चा पायो भने लुम्बिनी प्रदेशवासीलाई निशास बन्यो । बुटवलबाट रातारात राजधानी दाङ पुराइएको प्रकरणले पनि निकै चर्चा पायो । यस्तै २०७९ मा लुम्बिनी प्रदेशको राजनीतिक र आर्थिक रुपमा त्यत्ति सफल देखिएन् । देशमा देखिएको आर्थिक संकट पनि लुम्बिनी प्रदेशमा देखियो । लुम्बिनी प्रदेशको राजश्व संकलन प्रदेशको स्थापना यताकै कम हुने आर्थिक सुचकले देखाए ।

गौतमबद्ध अन्तराष्ट्रिय विमानस्थल संचालन
२०७९ को सुरुवात लुम्बिनी प्रदेशका लागि सुखद् रहयो । भैरहवा स्थित अन्तराष्ट्रिय गौतमबुद्ध विमान स्थलको उद्घाटन २०७८ को सुरुवातसँगै भयो । विमानस्थलको तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ जेठ २ गते उद्घाटन गरे । सोही दिन बिहान कुबेतबाट आएको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गर्यो ।

नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज पनि बिहान ६ बजेर ५५ मिनेटमा अवतरण गरेको थियो । मुलुकको दोस्रो विमानस्थल लुम्बिनी प्रदेशको भैरहवामा संचालनमा आए पछि प्रदेशको आर्थिक र व्यवसायिक गतिविधि बढ्ने धेरैको अपेक्षा रहेको थियो । कोरोना महामारीका कारण सिथिल अवस्थामा पुगेको आर्थिक गतिविधिलाई अन्तराष्ट्रिय विमानस्थलको संचालनले बढ्ने सबैको आशा थियो । तर, विभिन्न कारणले दैनिक रुपमा उडान गर्दै आएको जजिराले पनि उडान ठप्प पारे पछि विमानस्थल सुनसान भयो । यसले आर्थिक गतिविधि चलायनमान हुने आशामा रहेका व्यवसायिहरु लगायत सबैलाई निराशा बन्यो । तर, लामो सयमदेखि रोकिए उडान केही दिनदेखि सुरु भएको छ ।

प्रदेश राजधानी बुटवलबाट दाङमा
देश संघीय संरचनामा गएपछि सरकारले २०७४ को माघमा बुटवललाई लुम्बिनी प्रदेशको अस्थायी राजधानीको रुपमा घोषणा गरिएको थियो । तर, २०७७ असोज १६ गते बसेको लुम्बिनी प्रदेशसभाको बैठकमा स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव दुई तिहाईले पारित भएको थियो ।

स्थायी पूर्वाधार बनाएर मात्र राजधानी सार्नु पर्ने, त्यसमा पनि नयाँ बन्ने सरकारले मात्र सार्नुपर्ने माग उठिरहँदा तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीले मंसिरमा अस्थायी मुकामका रुपमा बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामानहरू रातारात दाङ पुर्याए । रातको समयमा तीन वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ पुर्याइएको थियो ।

केन्द्रको राजनीजि उथलपुथल लुम्बिनीमा पनिः २ महिनामै मुख्यमन्त्री गिरी अलपमतमा
देश संघीय संरचनामा गएपछि सम्पन्न भएको दोस्रो निर्वाचन पछि प्रदेश सरकारले विकास निर्माणमा केन्द्रित हुने अपेक्षामा थियो । तर, लुम्बिनी प्रदेश राजनीतिक दलहरुको सत्ता दाउपेचले २०७८ को अन्त्य तिर निराशा बन्यो । केन्द्रमा भएको सत्ता समिकरणबाट प्रभाव अन्य प्रदेशमा भन्दा धेरै लुम्बिनी प्रदेशमा देखियो ।

सत्ता समिकरणमा आएको परिर्वतनसँगै प्रदेशको तेस्रो मुख्यमन्त्रको रुपमा लिला गिरी पुस २७ गते नियुक्त भए । गिरी नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदकोमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रिय राजनीतिमा आएको फेरबदलले मुख्यमन्त्री बन्ने अवसर पाएका थिए । तर, राष्ट्रिय राजनीतिमा भएको उथलपुथलले गिरीको कार्यकाल लामो हुन नसक्ने देखिएको छ । मुख्यमन्त्रीमा समर्थन गरेका दल माओवादी लगाएतका दलहरुले समर्थन फिर्ता लिएका छन् ।

कांग्रेस माओवादीसहितका दलहरुले सत्तामा पुग्नका लागि अस्वभाविक हत्तारो देखाएका छन् । उनीहरुले माओवादीले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको दिननै प्रदेश प्रमुख समक्ष कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न गर्न माग गरेका थिए । सम्भवतः नयाँ वर्षसँगै लुम्बिनी प्रदेश सरकार पनि परिवर्तन हुने देखिन्छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको घोटला
बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ बन्ने भवन निर्माणका लागि मिलेमतोमा ठेक्का प्रकरणले राष्ट्रिय रुपमा नै चर्चा पायो । प्रादेशिक पूर्वाधार विकास प्राधिकरणले करिब ५ अर्ब रुपैयाँ लागतको प्रादेशिक अस्पतालको भवन निर्माणको लागि आह्वान गरेको ठेक्कामा स्पेसिफिकेसनमै सेटिङ भएको खुलेको थियो ।

‘जेडआईईसी–शर्मा–रसुवा जेभी’लाई मात्रै प्राविधिक मूल्याङ्कनमा पास गराउने गरी ठेक्का आह्वान भएपछि कार्यालयले प्रदेशिक पूर्वाधार विकास प्राधिकरणलाई पत्र काटेर टेन्डरमा तोकिएका योग्यताबारे प्रश्न उठाएको हो । टेन्डर प्रकरणमा विवाद भएपछि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख अनन्तराज घिमिरेले राजीनामा समेत दिएका थिए ।

वर्षको अन्तयसँगै पर्यटनमा पलाएको आशा
विश्वभरि फैलिएको कोरोना महामारीका कारण लुम्बिनी लगायत देशका सबै पर्यटकी क्षेत्रमा आउने पर्यटकको संख्यामा कमि हुँदा यहाँको पर्यटन व्यवसाय संकटमा पर्यो । बेहलिया नाका हुँदै सन् २०२२ मा २० हजार २२० विदेशी पर्यटक नेपाल भित्रिएका थिए । तर, सन् २०२३ को मार्चसम्म २४ हजार ६२० विदेशी पर्यटक सोे नाका हुँदै नेपाल आएका छन् ।

सन् २०२२ मा यहाँबाट १८ हजार ९४४ पर्यटक बाहिरीका थिए भने सन् २०२३ को मार्चसम्म मात्रै २२ हजार १३६ पर्यटक बाहिरि सकेका छन् । कोरोनाका कारण लामो समयसम्म संकटमा परेको पर्यटन व्यवसायले वर्षको अन्त्यसँगै गति लिन लागेको छ । अहिले लुम्बिनी प्रदेशको लुम्बिनी लगायतका पर्यटकीय स्थानमा जाने स्वदेशी तथा विदेशीको संख्यामा क्रमशः बृद्धि हुँदै गइरहेको छ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।