ताजा अपडेट »

मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय

सोमबार, १३ चैत्र २०७९, १३ : ३४
29 Shares

नेपालका प्रसिद्ध मुटुरोग विशेषज्ञको रुपमा परिचित छन् डा अवनिभूषण उपाध्याय । व्यावसायिक जीवनका क्रममा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै सरकारी, गैरसरकारी र निजी तीनवटै क्षेत्रमा कुशलतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरी सात दशकको उमेरमा पनि उनी उत्तिकै क्रियाशील छन् । उनले वीर अस्पतालका अतिरिक्त भक्तपुर, उदयपुर, मेडिकियर, गङ्गालाल, सार्क हार्ट फाउण्डेसनमा संलग्न भई मुटु रोग उपचारमा सेवा पुर्याँदै आएका छन् । तत्कालीन सोभियत सङ्घबाट चिकित्सा विज्ञानको मुटु रोग विधामा विशेषज्ञता हासिल गरेका उनले देशका कुनाकन्दारामा पुगेर मुटु रोग उपचार सेवा पुर्याएका छन् । जीवन र सङ्घर्षलाई नङ र मासुजस्तै परिपूरक ठान्ने उनी कामको अनुभव विश्वविद्यालयमा पढेर पाइने होइन, त्यसका लागि कार्य गर्नै पर्छ, ठक्कर खानैपर्छ भन्ने मान्यतामा विश्वास गर्छन् । व्यवहारबाट प्राप्त हुने अनुभव भनेको आगोको भुङ्ग्रोमा पगालेर सुन्दर आकार दिइएको सुनजस्तै उनी पनि उच्च शैक्षिक डिग्रीसँगै अनुभवले खारिएका परिपक्व चिकित्सक हुन् ।

उनको हालै मुटुसँग सहयात्रा नामक आत्मवृतान्त पुस्तक समेत प्रकाशित भएको छ । पुस्तकभित्र एक नेपाली डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, राजनीतिक र भूगोललगायतका विषयको रोचक चित्र समेटिएको छ । पुस्तकमा रोचक सन्दर्भ, व्यावसायिक जीवन आरम्भ, सुधार गर्न सकिँदोरहेछ, वीरका चुनौतीपूर्ण ती दिन, फरक अवधारणाको अस्पताल, मुटु जोगाउने अभियान, गौरवपूर्ण गङ्गालाल हृदय केन्द्र, न्याम्सको चपेटामा वीर अस्पताल, भिआइपीको उपचार, स्वास्थ्य र राजनीति शीर्षकमा विषयगत महत्वपूर्ण घटनासम्बन्धी लेख समावेश गरिएका छन् ।

प्रस्तुत छ, नेपालमा मुटुरोगको अवस्था, रोगको उपचार, निदान र रोकथाममा गर्नुपर्ने पहल तथा आम नागरिकले स्वस्थ मुटुका लागि अपनाउनुपर्ने जीवनशैलीका बारेमा गरिएको कुराकानीको अंश

यहाँले करिब ४० वर्षदेखि मुटु रोगको उपचारमा क्रियाशील रहँदै आउनु भएको छ । सुरुमा कहाँबाट सेवा आरम्भ गर्नुभयो ?

रसियाबाट मुटुमा पोष्ट ग्राजुएट गरेर फर्केपछि २०३५ सालमा वीर अस्पतालमा काम सुरु गरेँ । डा मृगेन्द्रराज पाण्डेले मुटुको छुट्टै युनिट सञ्चालन गर्न दिनुभयो । त्यतिबेला हामीले विदेशबाट केही उपकरणहरु ल्याएर वीर अस्पतालमा मुटुरोगको छुट्टै उपचार सेवा सुरु गरेका थियौँं । हाम्रो टिम राम्रो थियो । डा पाण्डे देशमा मुटुक रोगीको सङ्ख्या बढ्दै गएका कारण यसको उपचारसँगै रोकथाम कसरी गर्न सकिन्छ भन्ने कुरामा बढी नै चिन्तित हुनुहुन्थ्यो । त्यसैले उहाँकै सल्लाहमा उपचारसँगै जनचेतना अभिवृद्धि गराउने उद्देश्यले २०४५ सालमा नेपाल हार्ट फाउण्डेशन स्थापना गरियो । अहिले यसको देशभरि शाखा विस्तार भई जनचेतनामूलक विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । यस फाण्डेशनको स्थापना गर्नुको अर्को उद्देश्य देशमा मुटुरोगको उपचार गर्ने अलग्गै अस्पताल स्थापना गर्नुपर्दछ भन्ने पनि रहेको थियो ।

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको स्थापना यसैको उद्देश्यअनुसार नै भएको हो त ?

हो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी बिरामी भएपछि उहाँको उपचारमा वीर अस्पतालबाट म र त्रिवि शिक्षण अस्पतालबाट डा अरुण सायमी खटियौंँ । त्यतिबेलाका स्वास्थ्यमन्त्री पद्मरत्न तुलाधरसँग पनि मुटुरोगको अलग्गै अस्पताल स्थापना गर्नु जरुरी भएको कुरा राख्यौँ । उहाँ हाम्रो कुरामा सहमत हुनुभयो । काठमाडौँको बाँसबारीस्थित त्यतिबेला बाँसबारी छालाजुत्ता कारखानाको जग्गामा सांसद निवास बनाउने योजना रहेछ, हाम्रो अस्पताल बनाउने प्रस्तावपछि मन्त्री तुलाधरले मुटुको अस्पताल बनाउन सहमत हुनुभयो ।

यसका लागि धेरै मेहनत गर्नुपर्यो । हाल यो अस्पताल नेपालकै एक स्रोत साधनसम्पन्न, दक्ष जनशक्तियुक्त मुटुरोगको अस्पताल बन्न सकेको छ । गङ्गालालको स्थापनापछि नेपालले मुटुरोगको उपचारमा ठूलो फड्को मार्नसक्यो । त्यसपछि निजी अस्पताल पनि आए । अहिले मुटु रोगको उपचार र निदानका लागि नेपाल बाहिर जानुपर्दैन । मुटुरोगको निदान, उपचार, रोकथाम तथा अध्ययन अनुसन्धान सम्बन्धमा सरकारको केन्द्रीय अस्पतालको रुपमा विस्तार गर्नु आवश्यक छ ।

पछिल्लो समय नेपालमा मुटु रोगीको सङ्ख्या निकै अस्वभाविक रुपमा बढ्दै गएको छ । पहिले दुई/तीनजना बिरामी आउने गरेकामा अहिले ३०/४० जना आउने गर्दछन् । त्यसअनुसार ती बिरामीको उपचारका लागि आवश्यक चिकित्सकको सङ्ख्या निकै कम छ भने आवश्यक अस्पतालको सङ्ख्या पनि छैन ।

नेपालमा मुटुका रोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा तिनको उपचारका लागि चिकित्सकको सङ्ख्या र अस्पतालको अवस्था कस्तो छ ?

पछिल्लो समय नेपालमा मुटु रोगीको सङ्ख्या निकै अस्वभाविक रुपमा बढ्दै गएको छ । पहिले दुई/तीनजना बिरामी आउने गरेकामा अहिले ३०/४० जना आउने गर्दछन् । त्यसअनुसार ती बिरामीको उपचारका लागि आवश्यक चिकित्सकको सङ्ख्या निकै कम छ भने आवश्यक अस्पतालको सङ्ख्या पनि छैन । केन्द्रमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र मात्रै छ भने अन्य सरकारी र निजी अस्पतालबाट सेवा दिन सकेका छौंँ ।

मुटुरोगको उपचारमा तुलनात्मक रुपले सस्तो र गुणस्तरीय सेवा प्रदान गरी देशकै एक भरोसायोग्य उपचार केन्द्रको रुपमा स्थापित गर्नेतर्फ सरकारको सहयोग जरुरत पर्दछ । काठमाडौँ बाहिरका मुख्य सहरहरुमा चिकित्सक भए पनि जिल्ला तहमा सेवा विस्तार गर्न सकेका छैनौंँ । गङ्गालाल अस्पताल स्थापना गर्दा पाँच वर्षमा सबै अञ्चल र अर्को पाँच वर्षमा सबै जिल्लामा मुटुरोगको उपचार गर्ने अलग्गै अस्पताल स्थापना गर्ने लक्ष्य राखेका थियौँ । यसमा प्रगति हुनसकेको छैन । अहिले जनकपुरमा भने अस्पतालको युनिट स्थापना भएको छ ।

मुटुरोगको उपचार सेवालाई देशभरि विस्तार गर्न के गर्नुपर्ला ?

पहिलो कुरा स्वास्थ्य क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्दछ र त्यहीअनुसार बजेट योजना हुनु आवश्यक छ । गङ्गालाल अस्पताल पूर्वाधार, प्रविधि र जनशक्तिका हिसाबले राम्रो भएकाले तुरुन्तै यसलाई विश्वविद्यालयको रुपमा सञ्चालन गर्न सकिएमा त्यहाँबाट उत्पादित जनशक्तिलाई देशभर परिचालन गर्न सकिन्छ । पहिलो चरणमा कम्तीमा हरेक प्रदेशमा एउटा गङ्गालालजस्तै अस्पताल स्थापना गर्न जरुरी छ । त्यसपछि जिल्लास्तरमा मुटुरोगको अस्पताल विस्तार गर्दै लैजान सकिन्छ । साथै सरकारको एकल प्रयासले मात्रै मुटुको रोग नियन्त्रण गर्न सम्भव छैन । आज जनता र निजी क्षेत्रको पनि उत्तिकै हातेमालोको आवश्यक पर्दछ ।

नेपालमा २०३५ सातसम्म पनि मुटु रोगको समस्या थिएन । नेपालीको जीवनशैली निकै राम्रो थियो । तर अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ । पश्चिमा देशहरुले खानपीन र जीवनशैलीमा ध्यान दिन थालेकाले ती देशमा अहिले मुटुको समस्या निकै कम भएको छ तर हाम्राजस्ता देशमा स्वास्थ्यप्रतिको सचेतना नहुँदा समस्या बढ्दै गएको छ ।

नेपालमा मुटुका रोगीका बिरामीको सङ्ख्या तीव्ररुपमा बढ्दै जानुको मुख्य कारण के होला ?

नेपालमा २०३५ सातसम्म पनि मुटु रोगको समस्या थिएन । नेपालीको जीवनशैली निकै राम्रो थियो । तर अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ । पश्चिमा देशहरुले खानपीन र जीवनशैलीमा ध्यान दिन थालेकाले ती देशमा अहिले मुटुको समस्या निकै कम भएको छ तर हाम्राजस्ता देशमा स्वास्थ्यप्रतिको सचेतना नहुँदा समस्या बढ्दै गएको छ । तयारी खाना, चिल्लो, माछामासु बढी खाने, सागसब्जी कम खाने, शारीरिक कसरत नगर्ने आदत बढ्दै गएको छ । सानो उमेरमै धुूमपान गर्ने, मध्यपान गर्ने क्रम बढ्न थालेको छ । यसले गर्दा १८/२० वर्षकै उमेरका युवामा उच्च रक्तचाप, मधुमेहको समस्या बढ्न थालेको छ । पछिल्लो समय धेरै मानिसमा तनावले पनि मुटुको समस्या बढेको पाइन्छ । त्यसैले उचित खानपान, कसरत तनावमुक्त जीवनशैलीमा ध्यान नदिए ठूलै महामारी आउने निश्चित छ ।

मुटुको रोग लाग्नै नदिन के कुरामा ध्यान दिन आवश्यक हुन्छ ?

उचित आहार, व्यायाम र योगसहितको जीवनशैली नै मुटुरोग मात्र नभइ कुनै पनि नसर्ने रोगबाट बच्ने उपाय हो । एउटा वयस्क व्यक्तिलाई स्वस्थ हुन सामान्यतयाः दिनमा छ/सात घण्टा सुत्नुपर्छ । दैनिक करिब एकघण्टा हिँडडुल वा अन्य व्यायाम गर्नुपर्छ । आधा घण्टा योग ध्यान गर्दा धेरै फाइदा हुन्छ । खानामा कार्वोहाइटेडयुक्त खानेकुरा कम र प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । बिहान सामान्य खानेकुरा खाने तर साँझमा ढिलोमा छ बजेभित्र हल्का पाँचनदार खानेकुरा खानु राम्रो हुन्छ । हरियो तरकारी, सागसब्जीलाई दुबै छाकमा खानुपर्छ ।

चिनी र चिल्लो पदार्थलाई बन्द गरेहुन्छ । नून पनि २.५ ग्रामभन्दा कम खाए पुग्छ । घिउ वा तेलमा तारेको खानेकुरा नखाने तर शुद्ध तोरीको तेलमा पकाएको खाँदा खासै बेफाइदा हुन्न । व्यक्तिको शारीरिक बनोटअनुसार यी कुरामा केही तलमाथि पनि हुनसक्छ । मध्यपानले कुनै फाइदा नगर्ने वैज्ञानिक तथ्यबाट पुष्टि भइसकेको छ । मासुमा माछा ठिकै हुन्छ, रातो मासु सकभर नखाने, खानै परे एकदम कम खानुपर्छ । धूमपानबाट टाढै रहन सक्यो भने उच्च रक्तचाप, मधुमेहको समस्या नियन्त्रण गर्न सजिलो हुनुका साथै अन्य रोग पनि लाग्ने जोखिम धेरै नै कम हुन्छ ।

मुटुका रोगीलाई उपचारसँगै पुनःस्थापनामा पनि ध्यान दिनुपर्ने होइन र ?

विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो अध्ययनले इस्केमिक हार्ट डिजिजलाई विश्वकै सबैभन्दा ठूलो प्राणघातक रोगको रुपमा देखाएको छ । पछिल्ला दिनहरुमा नेपालमा समेत रोगका बिरामी तथा यसका कारण हुने मृत्यु बढिरहेको सन्दर्भमा उनीहरुको उपचारसँगै पुनःस्थापनामा पनि जोड दिनु आवश्यक छ । विकसित देशहरुमा उपचारसँगै पुनःस्थापनाका कार्यक्रममा जोड दिन थालिएको छ । बिरामीलाई अस्पतालबाट घर पठाउनुअघि केही समय पुनःस्थापना केन्द्रमा राखी सही ढङ्गबाट औषधि सेवन गराउने, खानपिनमा अभ्यस्त तुल्याउने तथा व्यायाम गराउनेजस्ता कुरा गराउन जरुरी हुन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।