ताजा अपडेट »

सगुन ईट्टा उद्योगमा पर्खालले किचेर मजदुरको मृत्यु, दुई जना घाइते

शुक्रबार, १० चैत्र २०७९, १६ : ३८
30 Shares

सिरहा। सिरहामा ईट्टा उद्योगको पर्खाल भत्किएर किच्दा एकजना मजदुरको मृत्यु भएको छ भने दुईजना मजदुर घाइते भएका छन्। शुक्रबार गोलबजार ८ मा रहेको सगुन ईट्टा उद्योगको पर्खालले किच्दा भारतको पूर्वी बङ्गालका मजदुर महिमा बीबीकाे मृत्यु भएको हो ।  

ईट्टाभट्टाबाट पोलेको ईट्टा निकाल्ने क्रममा भट्टीको पर्खाल भत्किएर किच्दा घाइते भएका महिमाको उपचारको लागि लहान लाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलजारले जनाएको छ। घाइतेहरू ३५ वर्षीय बबी बीबी र ४० वर्षीय ममता बीबीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको जनाएको छ।  

शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  गत फागुन २७ गते गोलबजार ५ स्थित माँ धमिनी ईट्टा उद्योगको पर्खाल भत्किँदा उद्योगमा कार्यरत ६ जना घाइते भएका थिए। 

ईट्टा उद्योगमा कार्यरत मजदुरहरुलाई सामान्य सुरक्षाको व्यवस्थासमेत नमिलाउँदा पटक-पटक दुर्घटनामा परि मजदुरहरु अङ्गभङ्ग हुनुको साथै ज्यान नै जाने गरेको छ। यसप्रति सरकोकारवालाहरूको ध्यान जान जरुरी रहेको स्थानीय बताउँछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।