ताजा अपडेट »

सामूहिक बलात्कार र हत्यामा संलग्न ४ जनालाई मृत्युदण्डको फैसला

बुधबार, २३ पुस २०७६, ०८ : १९
2 Shares

पुस २३,

काठमाण्डौ । दिल्लीको एक स्थानीय अदालतले निर्भया सामूहिक बलात्कार र हत्यामा संलग्न ४ जना दोषीलाई मृत्युदण्डको सजाय सुनाएको छ । निर्भया घटनामा संलग्न ४ जना दोषीहरुः अक्षय ठाकुर सिंह, मुकेश, पवन गुप्ता र विनय शर्माले आउँदो जनवरी २२ मा बिहान सात बजे तिहाड जेलमा मृत्युदण्ड दिइनेछ । सन् २०१२ को डिसेम्बर १६ मा २३ वर्षकी एक मेडिकल छात्रालाई गुडिरहेको बसमा सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो ।

निर्भया बलात्कारमा ६ जना संलग्न रहे पनि एक जनाले जेलमा आत्महत्या गरेका तथा अर्का एक जना घटना घटेको बेलामा नाबालिग रहेकाले चार जनालाई मात्रै मृत्युदण्डको सजाय सुनाइएको हो । दिल्लीको पटियाला अदालतका अतिरिक्त सत्रका न्यायाधीश सतीश कुमार अरोडाले भने, ‘दोषीहरुलाई अघिको कारबाहीको लागि १४ दिनको समय दिइएको छ ।’ निर्भयाका आमाबुवाले घटनामा संलग्न चार जना दोषीहरुलाई मृत्युदण्डको सजायको लागि कानुनी कारबाही प्रक्रियामा ढिलासुस्ती नगर्न आग्रह गरेपछि अदालतले यस्तो फैसला गरेको हो । दोषीहरुका वकिल ए. पी.सिंहले अदालतको फैसलाको विरुद्धमा सर्वाेच्च अदालतमा ‘क्युरेटिभ पिटिशन’ दायर गर्ने बताए ।

निर्भयकी आमा आशा देवीले भनिन्, ‘सात वर्षदेखि दोषीहरुको सजायको पर्खाइमा थिएँ । मेरो छोरीलाई न्याय मिलेको छ । चारै जना दोषीलाई मृत्युदण्ड दिइँदा देशका महिलाहरुलाई ताकत मिल्छ । यो फैसलाले मानिसहरुमा न्यायपालिकाप्रतिको विश्वास अझ बढ्छ ।’ निर्भया घटनामा संलग्न चारै जना दोषीले सन् २०१४ मार्चमा दिल्ली उच्च अदालतको आदेशविरुद्ध सर्वाेच्च अदालतको ढोका ढकढकाएका थिए । दिल्ली उच्च अदालतको आदेशमा चारै जनालाई मृत्युदण्डको सजाय दिने विषयमा मञ्जुरी दिइएको थियो । यसअघि सन् २०१३ सेप्टेम्बर १३ ‘ट्रायल कोर्ट’ ले सबै दोषीहरुलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

त्यसपछि सन् २०१७ मार्च ५ मा सर्वाेच्च अदालतले पनि दोषीहरुको सबै अपिल खारेज गरेको थियो । फेरि तीन जना दोषीः पवन, विनय र मुकेशले सर्वाेच्च अदालतमा पुनर्विचार गर्न अपिल गरेको थियो, जसलाई सन् २०१८ जुलाई ९ मा सर्वाेच्च अदालतले खारेज गरिदियो ।

घटना के थियो ?

सन् २०१२ डिसेम्बर १६ को रातको समयमा दिल्लीमा २३ वर्षीया एक मेडिकल छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलत्कार गरेका थिए । ४ जना दोषीको अलावा एक प्रमुख आरोपी राम सिंहले ट्रायको दौरान तिहाज जेलमा आत्महत्या गरेका थिए । एक जना अपराधी, जो घटना हँदाको समयमा नाबालिग साबित भएका थिए, उनलाई सुधारगृह पठाइएको थियो । सन् २०१५ मा उनलाई सुधारगृहबाट रिहा गरिएको थियो ।

उनको नाम खुलाउन सकिँदैन । उनलाई सन् २०१३ अगस्ट महिनामा सुधारगृहमा तीन वर्ष बिताउने सजाय सुनाइएको थियो । अहिले उनी वयस्क भइसकेका छन् तर नियमका अनुसार उनको सजाय पूरा भइसकेको छ । अहिले उनी एउटा सहयोगी संस्थामा आबद्ध छन् किनकि बाहिर उनको सुरक्षा चिन्ताको विषय बनेको छ ।–एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।