ताजा अपडेट »

विवाह पूर्व वडा कार्यालयबाट शुभकामना सहितको सिफारिस अनिवार्य

सोमबार, २९ फागुन २०७९, ०७ : ४२
14 Shares

दाङ । सल्यानको कपुरकोट गाउँपालिकाले विवाह पूर्व वडा कार्यालयबाट शुभकामना सहितको सिफारिस अनिवार्य लिनु पर्ने निती ल्याएको छ । बाल विवाह न्यूनिकरण गर्नको लागि गाउँपालिकाको १२ औँ गाउँसभाले यस्तो निर्णय गरेको थियो । यस्तै गाउँपालिकाले यस्तो निर्णय गरेसँगै आइतबार कपुरकोट गाउँपालिका ३ का खगेन्द्र सेनले शुभकामना सहितको सिफारिस लिएका छन् । वडा कार्यालयमा पुगेर उनीसँगै उनीकी दुलही शारदा नगरपालिका १५ मालनेटा निवासी पवित्रा शाहले पहिलो सिफारिस लिएका हुन् ।

वडाध्यक्ष प्रदिप खड्का , कार्यपालिका सदस्य राधिका ऐरी , वडा सदस्य तिलक सिंह ठकुरी सहितको जनप्रतिनिधिहरूले उनीहरूलाई खादा , टिका सहित वैवाहिक जीवनको लागि अग्रिम शुभकामना दिदैँ सिफारिस प्रदान गरेका थिए । बाल विवाह न्यूनिकरणको लागि विवाह पूर्व अनिवार्य रुपमा वडाबाट निःशुल्क सिफारिस लिनु पर्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार यो नियम यही फागुन १५ देखि लागू भएको र यदि सिफारिस नलिएर विवाह गर्ने जोडीहरूलाई विवाह दर्ता गराउँदा ५ जरिवाना गर्ने निर्णय गरिएको छ । २० वर्ष मुनि विवाह गर्न नपाइने कानुनी ब्यवस्था भएयता पनि गाउँपालिकामा २० वर्ष मुनि विवाह गर्नेको संख्या अत्याधिक भएको पाइएकाले बालविवाह न्यूनिकरणको कानुनी प्रावधानको सफल कार्यान्वयनको लागि सिफारिस लिनु पर्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी