ताजा अपडेट »

गुरुयोजना अनुसारनै लुम्बिनी प्रादेशिक अस्पतालको विशिष्टिकृत र स्तरोन्नती हुन्छ : मन्त्री पन्थी

सोमबार, १५ फागुन २०७९, २२ : ०१
24 Shares

बुटवल । लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री विष्णु पन्थीले गुरुयोजना अनुसार नै लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नती र विशिष्टिकृत प्रतिवद्धता गरेका छन् । सरकारले अगाडि बढाएको लुम्बिनी प्रदेशकै गौरवको योजनाको रुपमा रहेको अस्पताललाई नमुना बनाउने बताए। अस्पतालको १० तले आधुनिक भवन निर्माणको लागि रोकिएको ठेक्का प्रक्रिया अविलम्ब सुरुवात गर्ने समेत आश्वासन दिए ।

अस्पतालको १ सय १३ औ वार्षिक उत्सवको अवसरमा बोल्दै स्वाथ्य मन्त्री पन्थीले प्रदेशको सबैभन्दा महत्पूर्ण अस्पतालको रुपमा विकास गर्ने योजना रहेको बताए । उनले बुटवल आर्थिक राजधानीको कोसेढुङ्गा भएको भन्दै विपतमा तुरुन्त उपचार पाइन्छ, बाँच्न सकिन्छ भन्ने भरोसा दिलाउन सक्ने गरी अस्पताल विकास हुने बताए ।

उनले भने–‘यो अस्पताल विकासका लागि सिङ्गो प्रदेशको चासोको केन्द्र हो, यसको व्यवस्थापनमा हामी लाग्छौं ।’ स्वास्थ्यकर्मीलाई आत्मबल साथ अगाडि बढ्ने वातावरण बनाउने भन्दै बुटवललाई मेडिकल टुरिजम बनाउने समेत उनले बताए । उनले सरकारी स्वास्थ्यमा लगानी गर्ने निजी स्वाथ्य संस्थालाई समेत सम्मान गरी अस्पतालको गुरुयोजना अनुुसार रहेको लुम्बिनी ट्रेड कम्लेक्स निर्माणको लागि साझेदारीका साथ अगाडि बढ्ने बताएका थिए ।

पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले अप्ठ्यारो अवस्थामा अस्पतालले स्वास्थ्य संकटमा ठूलो योगदान दिएको बताउँदै पछिल्लो समयमा विरामीहरुले बिमाबाट भएका हैरानी अन्त्य गर्नका लागि अस्पताल प्रशासनले कदम चाल्नुपर्ने बताए ।

अस्पतालको सुदृढीकरणका निमित्त, गुणस्तर व्यवस्थापन गर्न आवश्यक भएको भन्दै अरर्वौको भवन निर्माण गर्ने काममा अघिल्लो सरकार कुबाटोमा लागेकै कारण आधा सम्पन्न हुने अवस्थमा अस्पताल निर्माण नै सुरुवात नभएको गुनासो गरे । कुन कुरालाई प्राथमिकतामा राख्ने भन्ने विषयमा जवाफदेही हुनुपर्नेमा जवाफदेही नहुँदाको परिणाम अस्पताल सही रुपले अगाडि बढ्न नसक्ने पुर्व मन्त्री तथा वर्तमान सांसाद श्रेष्ठको भनाई रहेको थियो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले कोभिड कालमा अस्पतालले दिएको सुविधा प्रसंशायोग्य रहेको भन्दै एमडी कार्यक्रम सञ्चालन गर्ने कार्यक्रममा सहयोग रहने बताए । उनले बुटवलमा हुने विभिन्न सेवा प्रदायक संस्थामा बुटवल उपमहानगरपालिका सहयोगी निकायको रुपमा रहने बताउँदै यसमा सहकार्य गर्नका लागि आग्रह गरेका थिए ।

कार्यक्रममा अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। ज्ञानहरी मरासिनीले विरामीको चाँप अनुसार अस्पतालको भौतिक पुर्वाधार अभाव रहेको बताएका थिए । उनले निर्माण गर्ने भनिएको १० तले भवन छिटोभन्दा छिटो निर्माण प्रकृया अगाडि बढाउनको लागि प्रदेश सरकारसंग माग समेत गरे ।

कार्यक्रममा पूर्व अध्यक्षहरुबाट बाबुराम भट्टराई, पूर्व मेडिकल सुपरिटेन्डेन्टको तर्फबाट डा। राजेन्द्र खनाल, पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रममा सेवा निवृत्त कर्मचारी विश्वनाथ गौतम, कृष्णप्रसाद सापकोटा, युग कुमारी खनाललाई सम्मान गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।