ताजा अपडेट »

ऐतिहासिक सालिक संरक्षण अभावमा जिर्ण बन्दै

आइतबार, १४ फागुन २०७९, ०९ : १८
39 Shares

दाङ । तुलसीपुर उपमहानगर ५ स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको स्वामित्व रहेको जग्गामा रहेको श्री ३ जुद्ध समशेरको सालिक संरक्षण नहुँदा जीर्ण बनेको छ । अस्पतालदेखि उत्तरपूर्वमा रहेको झण्डै ८ फिट अग्लो स्तम्भमाथि करिब ३ फिट जति अग्लो समशेरको सालिक छ । उक्त सालिक सल्यानी राजा शमशेरबहादुर शाहले वि.सं. १९९५ सालमा स्थापना गरेको शिलालेखमा उल्लेख छ ।

ऐतिहाँसिक सालिकको अवस्था यस्तो हुनु दुःखद् भएको यज्ञबहादुर बुढाले बताए । उनले नेपालको शासन व्यवस्थाको इतिहाससँग जोडिएका व्यक्तिको सालिकको संरक्षण हुनुपर्ने बताए । उनले भने, ‘नेपालको इतिहाससँग राणाकाल जोडिएको छ । यसलाई संरक्षण गर्नुपर्छ । यो सालिक जीर्ण अवस्थामा रहेको छ । कसको सालिक भनेर कसैलाई थाहा पनि छैन । स्तम्भ भत्किएको छ । सालिकको टाउको पछाडिबाट फुटेको छ । यसलाई सम्बन्धित निकायले संरक्षण गर्नुपर्छ ।’

उनले ऐतिहाँसिक वस्तु संरक्षण गर्नु राज्यको दायित्व भएको पनि बताए । भावी पुस्तालाई पनि इतिहासको जानकारी दिन यसको संरक्षण गर्नु उचित रहेको उनको भनाइ थियो । यस्तै समाजसेवी गोपीनाथ योगीले ऐतिहाँसिक वस्तुको संरक्षण गर्नुपर्ने बताए । उनले भने, ‘अहिले तुलसीपुरको इतिहास जनाउने एउटा रतननाथ मन्दिर मात्र छ । यहाँ इतिहास जनाउने वस्तु सबै मासिएका छन् । त्यसैले सल्यानी राजाको पालामा बनेको जुद्ध समशेरको सालिकको संरक्षण गर्नुपर्छ ।’

यस्तै उनले यो सालिक राप्ती प्रादेशिक अस्पतालको जग्गामा रहेको भन्दै यसको संरक्षणमा अस्पताल, वडा कार्यालय र उपमहानगरले ध्यान दिनुपर्ने बताए । उनका अनुसार अहिले अस्पताल रहेको ठाउँमा सल्यानी राजको दरबार थियो । राजाहरू सल्यानमा जाडो हुँदा दाङमा आउने र दाङमा गर्मी हुँदा सल्यान जान्थे ।

अस्पतालले सालिकको संरक्षण गर्ने जनाएको छ । सालिक भएको ठाउँमा कुनै पनि संरचना बनाउने योजना नरहेको र यदि बनाउनु परे त्यसलाई संरक्षण गरेर बनाउने अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले बताए ।उनले भने, ‘अहिले संरचना बनाउने योजना छैन । बनाउनुपरे पनि हामीसँग तुलसीपुर ६ गोलौरामा गोविन्द रजौरेले दिएको ४ कट्ठा जग्गामा बनाउनेछौँ ।’

आफूहरूको ध्यान स्वास्थ्यसँग सम्बन्धित सेवा कसरी दिने भन्नेमा गएको हुँदा पनि सालिकको संरक्षणमा ध्यान नपुगेको उनले स्विकारे । उनले भने, ‘५० शय्याबाट सञ्चालन भएको अस्पताललाई २०० शय्याको बनाएका छौँ । अस्पतालमा जनशक्ति कमी हुँदा हाम्रो ध्यान सबै त्यता छ । त्यसैले गर्दा पनि सालिक संरक्षणमा ध्यान गएन । अब हामी सालिक संरक्षणका लागि विभिन्न निकायसँग समन्वय गरी काम गर्नेछौँ।’

यसैगरी तुलसीपुर उपमहानगरले पनि सालिक संरक्षणका लागि योजना बनाएको बताएको छ । केही समयअघि सालिकको सरसफाइ गरे पनि विभिन्न कारणले नभ्याउँदा समस्या भएको भन्दै सालिक संरक्षण गर्ने वडाध्यक्ष वीरेन्द्रकुमार शाहले बताए । उनले भने, ‘हामीले सालिक जोगाउनुपर्छ भन्ने सोचेका थियौँ। जनताको काममा बढी ध्यान दिनुपर्दा कहिले नभ्याएर र कहिले बिर्संदा काम हुन सकेको थिएन। अब सालिक संरक्षण गरेर अगाडि बढ्नेछौँ । ऐतिहासिक वस्तुको संरक्षण गर्नुपर्छ भन्ने हाम्रो पनि मान्यता छ ।’

सुमन केसी
लेखकको बारेमा
सुमन केसी