ताजा अपडेट »

शिक्षणमा अब्बल बन्दै “भानु”

मंगलबार, ०९ फागुन २०७९, १७ : ०५
53 Shares

भैरहवा । नेपालको सन्दर्भमा सामुदायिक विद्यालयहरुमा विपन्न परिवारका बालबालिका मात्र अध्ययन गर्ने गरेको सामान्य मान्यता रहेको छ मध्यम वर्ग तथा हुने खानेका बालबालिकालाई संस्थागत बिद्यालयमै पढाउने पछिल्लो चलन रुपन्देहीमा बिस्तारै फेरिदै छ । रुपन्देहीको कालिका नमूना माध्यमिक बिद्यालय, शान्ती नमूना माध्यमिक बिद्यालयहरु देशकै संस्थागत बिद्यालयहरु भन्दा कुनै अर्थमा कम छैनन् ।

यसै क्रममा आफुलाई अब्बल बिद्यालयको रुपमा उभ्याउन सफल भएको छ भैरहवाको भानु माध्यमिक विद्यालय । उच्च शैक्षिक गुणस्तर, दक्ष जनशक्ति, भौतिक पूर्वाधारको उपलब्धता, प्रयाप्त छात्रवृत्तिको ब्यवस्थाले बिद्यालयलाई अब्बल बनाएको छ । सिद्धार्थनगर नगरपालिकामा रहेका १७ वटा सामुदायिक तथा १४ वटा धार्मिक विद्यालयहरुमा भानुले आफुलाई सर्वश्रेष्ठ बनाएको छ । सामान्य बगैँचामा २०३३ सालमा सुरु भएको भानुले त्यस यता आफुलाई निरन्तर अद्ययावधिक गर्दै लगेको छ ।

बगैँचाबाट सुरु भएको विद्यालयले अहिले कानून, शिक्षा तथा ब्यवस्थापन बिषयमा गरि कक्षा १२ सम्मको पठन पाठन गराई रहेको छ । राष्ट्रिय परिक्षा बोर्डले २०७९ सालमा लिएको कक्षा १२ को बोर्ड परिक्षामा भैरहवा भित्र सञ्चालित सामुदायिक बिद्यालयहरुमा छात्र र छात्रा मै भानु माध्यमिक बिद्यालयका कक्षा १२ का बिद्यार्थीहरुले प्रथम र द्वितिय स्थान हासिल गरेका यसमा प्रधानाध्यापक मोतीलाल सुवेदीले बताए । सामुदायिक बिद्यालय रहे पनि यसै शैक्षिक सत्र देखि अंग्रेजी माध्यमबाट समेत कक्षा सञ्चालन गरिएको उनले बताए।

विद्यालयले शैक्षिक गुणस्तरका लागि ५ बर्षे योजनाहरु तयार गरेर कार्यान्वयन गर्ने पक्षमा रहेको प्रधान अध्यापक सुवेदीले बताए । “दीर्घकालिन र अल्पकालिन दुबै योजना तयार गरेका छौं ।” सुवेदीले भने “ विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि स्थानीय, प्रदेश र संघीयसरकार संग योजनाहरु माग गरी कार्यान्वयन गर्ने तयारीमा रहेका छौं ।” विद्यालयमा बिभिन्न दाता एवम संघ संस्थाले स्थापना गरेका दुई दर्जन बढी बिभिन्न छात्रवृत्तिहरु रहेका छन, यसबाट बार्षिक रुपमा सयौ बिद्यार्थी लाभान्वित हुने गरेको सुवेदीले बताए । बिद्यालयमा “रुम टु रिड” को अगुवाईमा स्थापना गरिएको पुस्तकालयमा हाल ४ हजार ४ सय बढी बिभिन्न पुस्तक एवम १४ वटा कम्प्युटर सहितको अध्ययन गर्ने ब्यवस्थापन गरिएको छ ।

विद्यालयको समग्र बिकासमा यहाका स्थानियहरुको उत्तिकै भूमिका रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खाँनको भनाई छ । स्थानिय बृजलाल कुर्मि, धर्मी कुर्मि, रामलखन कुर्मि, बलदेव कुर्मि, अर्जुन कुर्मि, भोला कुर्मि, राजनारायण कुर्मि, रहमुल पठान, कुशहर यादव, जलिल मियाले बिद्यालयको नाममा १५ कठ्ठा ११ धुर जग्गा दिएको खाँनले जानकारी दिए । सुरु देखि नै अभिभावकहरुले चासो दिएको कारण पनि भानुले अन्य बिद्यालयहरुको तुलनामा फड्को मामर्न सफल भएको खाँन बताउँछन् । उनले विद्यालयले अंग्रेजी बिषयलाई क्रमशः स्तरोन्नती गर्दै लैजाने बताए । यस अतिरिक्त माध्यमिक स्तरमा प्राविधिक बिषय र अन्य कार्यक्रमहरुलाई पनि थप गर्ने योजनामा विद्यालय रहेको खाँनले जानकारी दिए ।

मंगलबार आफ्नो ४७ औँ बार्षिकोत्सव मनाएको भानु माध्यमिक विद्यालयमा ४ सय ३८ छात्रा र ३ सय ५१ जना छात्र गरि ७ सय ८९ जना विद्यार्थी रहेको विद्यालयका प्रअ मोतीलाल सुवेदीले बताए । यस्तै १७ जना महिला शिक्षक र १८ जना पुरुष शिक्षक गरि ३५ जना शिक्षक रहेको उनले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।