ताजा अपडेट »

लागुऔषधसहित १८ जना पक्राउ

शुक्रबार, २७ माघ २०७९, १५ : ०७
28 Shares

काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ परेका छन् । प्रहरीले दिएको जानकारीअनुसार उनीहरु बाँके, कैलाली र बाराका विभिन्न स्थानबाट पक्राउ परेका हुन् । 

बाँके, नेपालगंज उपमहानगरपालिका–१ वाटर पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ५० ग्राम सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकम(पश्चिम) सानोभेरी नगरपालिका–१० बस्ने २८ वर्षीय तिलक डाँगी, सोही नगरपालिका–५ बस्ने बिनोद कुमार गौतम र ३३ वर्षीय सोनिराम केसी रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।     

कैलाली, गोदावरी नगरपालिका–६ बड्याहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १२० मिलिग्रामसहित गोदावरी नगरपालिका–६ बस्ने २५ वर्षीय गोपाल चौधरीसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी कैलाली, टीकापुर नगरपालिका–१ साथी अस्पताल चोकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६३० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–२ डाँडा बस्ने १९ वर्षीय सागर काफ्ले र लम्की चुहा नगरपालिका–१ पूर्व लम्की बस्ने १९ वर्षीय लोकेश शाही रहेका छन् । 

ईलाका प्रहरी कार्यालय टीकारपुरबाट खटिएको प्रहरीले प्रदेश ३–०२ ००६ प ६४१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका–१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर ५०० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–७ बस्ने १८ वर्षीय किशोर र गोदावरी नगरपालिका–५ बस्ने १८ वर्षीया किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । 
अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले सु.प.प्र.१–१०प ४३९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरूलाई पक्राउ गरको हो ।

यस्तै धनगढी उपमहानगरपालिका–१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका–६ बस्ने २० वर्षीय रामभजन राना र २४ वर्षीय प्रकाश रानालाई प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले प्रदेश ०३०२–००१ प ११४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको  ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट अवैध लागूऔषध ब्राउनुसुगर ७ मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–११ बस्ने २६ वर्षीय किरण जोशी र सोही ठाउँ बस्ने २२ वर्षीय रविन चौधरी रहेका छन् । सु.प.प्र.०१००९ प २४०१ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनुसुगरसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

बारा, निजगढ नगरपालिका–११ पूर्व टोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलोसहित सोही नगरपालिका–१२ बुङ्जोर बस्ने २३ वर्षीय विजय गोलेलाई प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।