ताजा अपडेट »

तिलोत्तमाको नमस्ते एकेडेमीमा सरस्वती पूजाको अवसरमा साहित्यिक महोत्सव

बुधबार, ११ माघ २०७९, १९ : ०२
6 Shares

बुटवल । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सन्चालित रुपन्देहीको नमस्ते एकडेमीमा सरस्वती पूजाका अवसरमा भोलि माघ १२ गते नयाँ विद्यार्थीहरुको अक्षरारम्भ साथै साहित्यिक महोत्सव हुने भएको छ ।

वरिष्ठ गजलकार एवम् प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा मोफसलका साहित्यिक व्यक्तित्वहरूले नमस्तेका साहित्य अनुरागी विद्यार्थीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको विद्यालयका प्राचार्य जिम्मे शेर्पाले बताए ।

“साहित्य समाजको ऐना हो । यसले विद्यार्थीलाई सृजनशील बनाउँछ।’ भन्ने मूल नारासहित कार्यक्रम हुने भएको हो । ‘नेपाली साहित्यमा आजका युवाको भूमिका’ विषयमा युवा साहित्यकार तथा लेखक रामचन्द्र श्रेष्ठ, चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपाने र विद्यार्थी किरण भुसालले सहजीकरण गर्ने विद्यालयले जनाएको छ ।

छलफलको प्रारम्भ कक्षा ९ की आकृति कंडेलले गर्नेछिन् । त्यसैगरी लेखक कसरी बन्ने भन्ने शीर्षकमा स्वतन्त्र लेखक दीपक विश्वकर्मा पत्रकार शंकर पाण्डे तथा बाल लेखिका श्रीयसी पन्थीले आ–आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ । स्वीकृति पंगेनीले विषय वस्तुको उठान गर्नेछिन ।

‘आर्ट अफ स्टोरी टेलिङ्गको महत्व र शैली’ शीर्षकमा साहित्यिक अभियान्ता मीनाक्षी न्यौपाने, शिक्षक राजेन्द्र कुँवर तथा विद्यार्थी प्रशान्त चौधरीले परिचर्चा गर्ने र विषय वस्तुको उठान तमन्ना भण्डारीबाट हुने ब्रिटिस एजुकेसन ग्रुपका स्कुल हेड अरुण कंडेलले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।