ताजा अपडेट »

फोहोरको डंगुरले ढाकिंदै पर्यटकीय स्थल नुवाकोट : कहिले सुध्रिएला बानी ?

मंगलबार, १० माघ २०७९, ०८ : ००
50 Shares

बुटवल । पूर्खाहरुले अँग्रेजलाई पराजित गर्न सफल जीतगढी किल्लासँग जोडिएको पाल्पाको ऐतिहासिक तथा पर्यटकीय स्थल नुवाकोटमा पछिल्लो समय चहलपहल बढ्न थालेको छ । नेपाल ऐकिकरणअघि राजा मणिमकुन्द सेनले गढी निर्माण गरी अङ्ग्रेजहरुलाई हराएको स्थल नुवाकोट ऐतिहासिक मात्र छैन प्राकृतिक रुपले समेत आकर्षक र महत्वपूर्ण छ । तराईको समथर भू-भागदेखि नजिकैको दुरीमा रहेको ऐतिहासिक स्थल नुवाकोटले पर्यटनको क्षेत्रमा फड्को मार्दै छ । तर त्यसभन्दा बढी फोहोरको डँगुरको रुपमा गलत परिचय बस्ने चिन्ता थपिएको छ ।

पाल्पाको तिनाउ-२ मा अवस्थित नुवाकोटबाट बुटवल नियाल्न आउने पर्यटकहरुले बोकेर ल्याएका पेय पदार्थ तथा अन्य जङ्फूड प्रयोगपछि फालिएका प्लाष्टिकले नुवाकोट कुरुप बन्दै गएको छ । यत्रतत्र जँगलभरी प्लाष्टिकजन्य फोहोर, पाइलैपिच्छे सिसाका बोतल तथा तीनका टुक्राहरुले पैदल यात्रुलाई बिझाउने त्रास उत्तिकै छ । ऐतिहासिक स्थल नुवाकोट गढी भित्रै यत्रतत्र जाँड खाएर फालिएका बोतल, प्लाष्टिकजन्य फोहोरले पूर्खाहरुले विरता देखाएको भूमिको खिल्लि उडाइरहेका छन् । नजिकै रहेको भैरव मन्दिर परिसरमा त्यहाँ रहेका पुरोहितले नियमित सफा गर्ने गरे पनि त्यसबाहेकका ठाउँमा भने फोहोरको डँगुर उस्तै देख्न सकिन्छ । ईतिहास पढ्न जाने पर्यटकहरु उत्साहभन्दा बढी त्यहाँ देखिएका फोहोरको डँगुरले नाक खुम्च्याउँदै निराश भएर फर्किनुपर्ने अवस्थामा नुवाकोट पुगेको छ ।

बुटवल नियाल्न बनाइएको ‘भ्यू टावलर’ परिसर टेकिसक्नु छैन । केही ठाउँमा आधा जलेर बचेका प्लाष्टिकका बोतल, सिसाका टुक्रा र फोहर छिचोलेर मात्रै भ्यू-टावर चढ्नु पर्ने बाध्यता छ । नुवाकोटलाई पर्यटकीय स्थल बनाउनका लागि लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण गर्न लागेको उजिर सिंह पार्क पूरा नहुँदै झारले ढाकिन थालेको छ भने पार्कभित्र निर्माण गरिएको शालिक समेत तोडफोड भैसकेको अवस्थामा देख्न सकिन्छ । पार्कको गेटमै वियर तथा रक्सिका बोतल थुप्रिएका छन् । पार्क सजाउन प्रयोग गरिएका टायलहरु यत्रतत्र छरिएका छन् । पर्यटकलाई आकर्षण गर्न तथा उनीहरुमा उत्साह भर्न निर्माण गरिएको पार्कले झन बढी मन उराठ बनाउने बाहेक फरक केही भेटिदैन ।

बुटवल उपमहानगरपालिका–४ बाट नुवाकोट घुम्न पुगेका घनश्याम पराजुलीले पर्यटनको सम्भावना बोकेको नुवाकोटमा पहिलो चुनौती नै फोहोर व्यवस्थापन भएको बताए । आफूले सोचेको जस्तो नुवाकोट वातावरणीय हिसाबले स्वच्छ नभएको बताउँदै उनले सम्भावना प्रचुर भएर पनि सहि व्यवस्थापन नहुँदा पर्यटकले यहाँबाट सकारात्मकभन्दा बढी नकारात्मक सन्देश लिएर जाने चिन्ता व्यक्त गरे । नुवाकोट विकास समितिका अध्यक्ष तथा होटल व्यवसायी माधव नेपालले भने व्यवस्थित नुवाकोटका लागि आफूहरुले पहल गरिरहेको दाबी गर्छन् । घुम्न जाने पर्यटकहरु मै सचेनाको कमी वा हेलचेक्र्याइले गर्दा नुवाकोट कुरुप बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै नेपालले सुधारका लागि प्रयास भैरहेको दाबी गरे ।

निर्माण पूरा नहुँदै झाडीले भरिएको उजिर सिंह पार्क

‘नुवाकोट क्षेत्रमा फोहोर व्यवस्थापनका लागि ठाउँ–ठाउँमा डस्बिन राखेका छौं । सयम समयमा सुरक्षा निकाय नेपाल आर्मी, सशस्त्र प्रहरीय तथा अन्य सामाजिक संघ–संस्थाहरुसँग समेत सहयोग मागी फोहोर व्यवस्थापन हुने गरेका छन् ।’–अध्यक्ष नेपालले भने, ‘प्रयासहरु नभएका होइनन्, सबैभन्दा ठूलो चुनौती मानिसहरुको आचरण परिवर्तन गर्नु रैछ ।’ वातावरण स्वच्छ राख्नुपर्छ भन्ने भावना सबैमा नहुँदा समस्या भएको चिन्ता व्यक्त गर्दै उनले भने –‘राखिएका डस्बिन पनि उठाएर फालिदिने, जहाँत्यही सिसाका बोतलहरु फोरेर छाडिदिने । समस्या धेरै छन् । घुम्न जाने पर्यटकहरुमा पनि केही चेतना हुन्थ्यो भने सायद नुवाकोट कुरुप बन्दैनथियो होला ।’

तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले पनि नुवाकोट क्षेत्रमा फोहोर व्यवस्थापनको समस्या थप गम्भिर बन्दै गएको चिन्ता व्यक्त गर्छन् । यसको व्यवस्थापनका लागि गाउँपालिकामा छलफल भैरहेको बताउँदै उनले निश्चित मापदण्ड बनाई कडाईकासाथ पालना गराउनुको विकल्प नभएको उल्लेख गरे । यसैगरी निर्माणधिन अवस्थामा रहेको उजिर सिंह पार्क व्यवस्थापनका लागि प्रदेश सरकारले जिम्मेवारी हस्तान्तरण नगर्दा समस्या भएको उनले बताए । यसबाहेक नुवाकोटलाई पर्यटकीय गन्त्य बनाउनका लागि प्याकेजमै योजना बनाएर लागू गर्ने पक्षमा आफू रहेको दाबी गरे ।

जँगलमा फुटालेर फालिएको सिसाको बोतल

बुटवलदेखि सडकमार्ग हुँदै करिब ८ किलोमिटर दुरीमा पुग्न सकिने नुवाकोटमा पैदलयात्रीहरु भने करिब साढे ३ किलोमिटरको यात्रापछि पुग्न सक्छन् । बुटवलको मणिमुन्द सेन उद्दानदेखि उकालो लागेपछि २/३ घण्टाको पैदलयात्रामै पुग्न सकिने नुवाकोटबाट दक्षिणतर्फ बुटवल शहरसहित तराईका समथर भू-भागलाई सजिलै नाङ्गो आँखाले देख्न सकिन्छ भने उत्तरतर्फ हरिया र अग्ला महाभारत (पहाडी श्रृङ्खला) को मनोरम दृश्यि देख्न पाइन्छ ।

पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको नुवाकोटमा करिब १ दर्जन साना ठूला होटल तथा रेष्टुरेन्टहरु सञ्चालनमा आएका छन् भने लुम्बिनी प्रदेश सरकारको लगानीमा बनेको साँस्कृतिक डबली सञ्चालनको तयारीमा रहेको नुवाकोट विकास समितिका अध्यक्ष नेपालले जानकारी दिए । यसैगरी बुटवल-नुवाकोट केबलकार सञ्चालनका लागि निर्माणको काम तीब्र रुपमा चलिरहेको उनले बताए ।

भ्यू–टावरको बेसमा थुप्रिएका फोहर
नुवाकोटमा अवस्थित काल भैरव मन्दिर
डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।