ताजा अपडेट »

च्याउ खेतीमा रमाउँदै ऋषिराम, मासिक १५ सय केजी उत्पादन

आइतबार, ०८ माघ २०७९, ०८ : ००
16 Shares

दाङ । दाङको घोराही उपमहानगरपालिका १८ निवासी ऋषिराम चौधरीको दैनिकी च्याउको रेखदेखमै बित्छ । हरेक बिहान च्याउ कोठामा पुगिसकेपछि मात्र उनको दैनिकी सुरु हुन्छ । वन कार्यालय लगायतका संघसंस्थामा समय बिताउने उनीलाई अहिले भने च्याउमा पानी हाल्ने र रेखदेख गर्नेतर्फ मात्रै ध्यान जान्छ । ‘बाहिर कतै गएँ भने पनि काममा भन्दा च्याउमा ध्यान हुन्छ’, ऋषिराम चौधरी भन्छन्, ‘च्याउलाई धेरै सरसफाइ चाहिन्छ । न बिग्री पो हाल्ने हो की भन्ने चिन्ता लाग्छ ।’-विगत १७ वर्षदेखि व्यावसायिक च्याउखेती गरेकी ऋषिराम व्यवसायबाट सन्तुष्ट रहेको सुनाउँछन् । चौधरीका लागि च्याउखेती आम्दानीको स्रोत बनेको छ । ६ प्याकेट च्याउको विउँबाट सुरु भएको व्यवसाय मार्फत अहिले वार्षिक १र१२ लाख रुपैयाँ बराबरको च्याउ उत्पादन गर्दै आएकाछन् ।

च्याउखेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि चौधरीले लगानी समेत बढाउँदै लगेको बताए । सामुदायिक वनका क्षेत्रमा काम गर्दैगर्दा १७ वर्षअघि २०६२ साल मंसिर १० गतेदेखि च्याउखेती गर्न थालेका चौधरीले २०७२ सालदेखि अम्बिकेश्वरी च्याउ उद्योग दर्ता गरेर व्यावसायिक रुपमा च्याउखेतीमा लागेको बताए । ‘२०६२ सालमा २५ सय रुपैयाँबाट च्याउखेती सुरु गरेको थिए । अहिले १७ वर्ष भयो । म निरन्तररुपमा च्याउ उत्पादन गर्दै आएको छु’, उनले भने– ‘यो अवधिमा राम्रो आम्दानी भएको छ ।’ करिब दश वर्षअघि च्याउको बजार कम भए पनि पछिल्लो समय बढ्दै जाँदा च्याँउखेतीमा लाग्ने व्यवसायीहरु समेत थपिँदै गएको बताए । दैनिक करिब ४०/५० केजी अर्थात मासिक करिब १५ सय केजी बराबरको च्याउ उत्पादन गर्दै आएको बताउने चौधरीले उत्पादन भएको च्याउ जिल्लाभित्रै खपत हुने गरेको छ । अहिले पनि उनले १ क्विन्टल ९ केजी च्याउ लगाएकाछन् ।

यसअघि रोल्पा, प्यूठान, बुटवललगायतका ठाउँहरुमा जाने गरेको भए पनि अहिले जिल्लामै खपत हुने गरेका छ । जिल्लामा सुगर, प्रेसर लगायतका बिरामीहरुले खान मिल्ने र मासु नखानेहरुले समेत च्याउ खान मिल्ने भएका कारण पछिल्लो समय जिल्लामा च्याउको माग बढ्दै गएको बताए । ‘पहिले धेरैलाई च्याउ खान हुँदैन भन्ने थियो । तर अहिले त्यो अवस्था हटेको छ’, उनले भने ‘अहिले च्याउ खानुपर्छ भन्ने चेतनाको विकास भएको छ । जसले गर्दा जति उत्पादन गरे पनि जिल्लाभित्रै खपत हुन्छ ।’ च्याउखेतीका लागि दुईवटा टनेल निर्माण गरेका चौधरीले अर्गानिक च्याउ उत्पादन गर्ने गरेको बताए । च्याउबाट राम्रो आम्दानी लिन सकिने भए पनि जिल्लामा गुणस्तरीय बीउ नपाउँदा व्यवसायीहरु समस्यामा परेको उनले बताए । चौधरीले आफ्नो फर्मका लागि काठमाडौँको कालिमाटीबाट च्याउको बीउ ल्याउने गरेको बताउँछन् ।

च्याउ नबिके सुकुटी बनाएर बिक्री गर्ने गरेको बताए । च्याउलाई सुकुटी बनाएर बिक्री गर्नका लागि मेसिन समेत ल्याएका छन् । सुकुटी बनाएको च्याउ प्रतिकेजी २ हजार रुपैयाँसम्म बिक्री हुने गरेको चौधरीले बताए । ‘च्याउ नबिक्ने समस्या छैन । तर कहिलेकाहीँ बिकेन भने सुकुटी बनाउने गरेको छु’, चौधरीले भने ‘च्याउ १ सय ९० देखि २ सय रुपैयाँसम्म प्रतिकेजी बिक्री हुने गरेको छ भने सुकुटी प्रतिकेजी २ हजारसम्म बिक्री हुने गर्दछ ।’

त्यस्तै कृषक चौधरीले वर्षमा तीन लटसम्म च्याउ उत्पादन गर्छन् । उत्पादन भएको च्याउ बजार बिक्री गर्ने र नबिकेको च्याउलाई सुकुटी बनाउने गर्नाले आफ्नो च्याउ खेर जान नपाएको समेत उनले बताए । ‘च्याउ कत्ति फल्छ, टुंगो हुँदैन । समय र तापक्रम मिल्यो भने एउटा पोकाबाट एकपटकमा ३ किलोसम्म च्याउ उत्पादन गर्न सकिन्छ, चौधरी भन्छन्, ‘अहिले १ क्विन्टल ९ केजी च्याउ राखेको छु ।’

उनका अनुसार च्याउ भदौ महिनादेखि फागुनसम्म राम्रो आम्दानी लिन सकिन्छ । उनले गएको असोजमा परेको वर्षाका कारण १ लाख रुपैयाँ बरावरको घाटा व्यहोर्नुपरेको बताए । लगातार परेको पानीका कारण बिक्रि गर्न नपाएकोले कुहिएर गएको बताए । अझ व्यवसायलाई फराकिलो बनाउनको लागि हालसम्म कहिकतैबाट आफुले अनुदान पाए सहज हुने बताए । अहिले पनि विचौलियाका कारण वास्तविक किसानले अनुदान नपाउने समस्या रहेको गुनासो गरे । यति मेहनती किसानले कहीँ कतैबाट अनुदान भने पाएका छैनन् । तर उनलाई राज्यबाट सुविधा पाए हुने थियो भन्ने लागेको छ ।

त्यसैगरी च्याउमा हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बाेहाइबे्रट, चिल्लो पदार्थ, भिटामिन र पानी प्रशस्त मात्रमा पाइन्छ । च्याउँमा हाम्रो शरीरलाई आवश्यक पर्ने नौवटै अमिलो एसिड पाइन्छ । च्याउँमा पानीको मात्र ९० प्रतिशत पाइने हुनाले यो एकदम महत्वपूर्ण मानिन्छ ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी