ताजा अपडेट »

सहकारीको लगानी उत्पानमुलक क्षेत्रमा लगाउन सुझाब

बुधबार, २० पुस २०७९, १६ : २२
36 Shares

बुटवल। लुम्बिनी प्रदेशका सांसद लिला गिरीले सहकारी संस्थामा वचत गरेको रकम औषधी उपचार र विशेष अवस्था बाहेक उत्पादनमुलक क्षेत्रमा मात्रै लगानी गर्न वचतकर्ताहरुलाई सुझाव दिएका छन्।

सानो पूंजीलाई सामुहिक रुपमा वचत गर्ने र ऋण सापटी लिएर आर्थिक गर्जो टार्ने उद्देश्यले नेपालमा सहकारीको शुरुवात गरिएको उल्लेख गर्दै अब सहकारी संस्थाहरुलाई वचत गर्ने र ऋण लगानी गर्ने काममा मात्रै सिमित राख्न नहुने बताए।

जनकल्याण वचत तथा ऋण सहकारी संस्था बुटवलको २३ औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रममा सम्बोधन गर्दै गिरीले सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी लगाउनुपर्ने बताए।

लुम्बिनी प्रदेश सरकारका पुर्व मन्त्री समेत रहनुभएका गिरीले नेपालमा बढ्दै गरेको बेरोजगारी समस्या समाधानका लागि सहकारी संस्थाहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सुझाव दिए।

‘कृषि उपज उत्पादन, संकलन, प्रशोधन तथा बजारीकरणका क्षेत्रमा लगानी गर्न सके उत्पादन पनि बढ्ने र किसानको उत्पादनले बजार र मूल्य दुबै पाउन सक्छन् जसले बेरोजगारी समस्या पनि समाधान हुन्छ,’ गिरीले भने।

गिरीले विचौलियाका कारण किसानले कम मूल्य पाउने र उपभोक्ताले बढि मूल्य तिर्नुपर्ने बाध्यता रहेको भन्दै सहकारीको माध्यमबाट बजारिकरणको व्यवस्था गर्दा त्यो समस्या समेत समाधान हुने बताए।

सहकारीका अध्यक्ष टंक प्रसाद पराजुलीले आफ्नो कार्यकाल भरी सहकारीले गरेका कामहरुबारे जानकारी गराउंदै समान प्रकृतिका सहकारीका बीचमा मर्ज गर्ने अवधारणा अगाडी सारिएको बताए।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले पछिल्लो समय सहकारी संस्थाहरुमा आर्थिक अनियमितताका घटनाहरु बाहिर आउने गरेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे।

सहकारी संस्थाका अध्यक्ष पराजुलीको अध्यक्षता उपाध्यक्ष सुरज भट्टराईको स्वागत तथा सचिव डिल्लीराज अर्यालको संचालनमा सम्पन्न भएको कार्यक्रममा गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रदेशसभा सदस्यमा निर्वाचित यसक्षेत्रका सांसदहरुलाई सम्मान समेत गरिएको थियो।

यसैबीच बुधवार सम्पन्न निर्वाचन कार्यक्रमबाट सहकारीको आगामी कार्यकालको लागि सुरज भट्टराईको अध्यक्षतामा नयां नेतृत्व चयन भएको छ। जसको उपाध्यक्षमा डिल्लीराज अर्याल, सचिवमा यादव भण्डारी र कोषाध्यक्ष्ँमा गंगाप्रसाद ढकाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।