ताजा अपडेट »

सहकारीलाई सीप र उद्यमशिलतासँग जोडौं : नगरप्रमुख खाँण

शनिबार, २४ मंसिर २०७९, २० : ५६
10 Shares

बुटवल । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले सहकारीहरुलाइ शिप र आय आर्जनसंग जोडेर उद्यमशिलता विकासमा प्रभावकारी भूमिका खेल्नु पर्ने बताएका छन् । तिलोत्तमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६ औँ साधारण सभा तथा १० औं अधिवेशनको शनिबार रुपन्देहीको तिलोत्तमा ३ योगीकुटीमा उदघाटन गर्दे नगरप्रमुख खाणले सो कुरा बताएका हुन । नगरप्रमुख खाणले सहकारीहरुले संचित निक्षेपलाइ आयमुलक तथा उत्पादनमुलक क्षेत्रमा लगानी गरी युवा तथा महिलाहरुलाई उद्यमशीलतासँग जोड्न सके समाजमा व्याप्त बेरोजगारी, कुलत तथा हिंसात्मक घटनाहरुलाइ समेत न्यूनीकरण गर्न सकिने बताए ।

शेयर सदस्यहरुको माग र आवश्यकता अनुरुप चेतनामूलक र शिपमूलक कार्यक्रमहरु गरी उद्यमशीलताको विकासमा जुट्न आग्रह गर्दै उनले त्यसमा नगरपालिकाले सहकार्य गरेर अगाडि बढ्ने बताए । ‘सभ्य समाज निर्माणमा आर्थिक सशक्तिकरणको महत्वपूर्ण भूमिका हुने भएकाले जनचेतनामूलक र आयआर्जन मूलक कार्यक्रमहरु संचालनका लागि नगरपालिकाले सहकारीहरुसँग सहकार्य गर्नेछ’– नगरप्रमुख खाणले भने । आर्थिक र नेतृत्व क्षमता विकास एकै सिक्काका दुइ पाटा भएको उल्लेख गर्दै उनले तिलोत्तमा सहकारीले युवा र महिलाहरुको क्षमता विकासमा महत्वपूर्ण भुमिका खेल्दै आएकोमा प्रशंसा गरे । सहकारीको नेतृत्वले आर्थिक सुशासन, पारदर्शीता र गतिशिलतालाइ विशेष ध्यान दिदैं सदस्यहरुको विश्वास जितेर काम गर्नु पर्नेमा जोड दिए ।

सहकारीका अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षता र सचिव पार्वती थापाको संचालनमा सम्पन्न कार्यक्रममा सल्लाहकार तथा जेष्ठ सदस्य प्रेमबहादुर भण्डारी, तिलोत्तमा नगरपालिका–२ का वडा अध्यक्ष डिलबहादुर भट्टराई, सहकारीका संस्थापक अध्यक्ष यामबहादुर खत्री, सल्लाहकार बाबुराम अधिकारी, भुपू सैनिक बहुउद्येस्यीय सहकारी संस्थाका अध्यक्ष राजकुमार केसी, जनविकास कृषि सहकारीका अध्यक्ष हरिलाल पाण्डे,शेयर सदस्यहरु दामोदर खनाल, यवकुमारी कार्की, सिष्टर सोसाइटीका सचिवालय अध्यक्ष यादा क्षेत्री लगायतले बोल्दै तिलोत्तमा सहकारीले आफ्ना सेयर सदस्यहरु मार्फत आर्थिक तथा सामाजिक सशक्तिकरणमा महत्वपूर्ण भुमिका खेलेको बताए ।

साधारण सभाले अध्यक्ष माधवलाल देवकोटाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, लेखा समिति संयोजक शान्ता कार्कीले प्रस्तुत गरेको लेखा परीक्षणको ५५ करोड, ७५ लाखको वासलात प्रतिवेदन र कोषाध्यक्ष प्रदिप पराजुलीले प्रस्तुत गरेको ७ करोड ६२ लाख ३० हजारको आगामी आर्थिक वर्षको अनुमानित आयव्यय सहितको आर्थिक प्रतिवेदन पास गरेको छ ।

देवकोटाको नेतृत्वमा नयाँ कार्यसमिति
तिलोत्तमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १० औं अधिवेशनबाट माधवलाल देवकोटाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा पावर्ती थापा, सचिवमा सिता पौडेल, कोषाध्यक्ष प्रदिप पराजुली निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा जोवनसिंह ठकुरी, गोविन्द्र प्रसाद शर्मा, लालबहादुर शाह गुप्ता, गीतादेवि भुसाल पौडेल, हिरा पौडेल, मधुकला अर्याल र सुजता शर्मा पौडेल, पदेन सदस्यमा पूर्व अध्यक्ष ढालबहादुर कार्की र यादा क्षेत्री चयन भएका छन । लेखा सुपरीवेक्षण समितिको संयोजकमा कुलबहादुर भण्डारी, सदस्यमा गिरीराज ज्ञवाली र वीना मल्ल चयन भएका छन ।

नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाइ निर्वाचन समितिका संयोजक टेकबहादुर थापा, सदस्यद्वय माधव घिमिरे र रिता अर्यालले प्रमाणपत्र प्रदान गरे । सहकारीका नवनिर्वाचित अध्यक्ष माधवलाल देवकोटाले विगतको शाखलाई जोगाउँदै नीति, विधी र प्रविधिमैत्री ढंगबाट सहकारीलाइ सञ्चालन गरी आर्थिक सुशासन र पारदर्शीता कायम गर्ने प्रतिवद्धता जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।