ताजा अपडेट »

किसान च्याउ खेतीतर्फ आकर्षित

शुक्रबार, २३ मंसिर २०७९, १५ : ३०
27 Shares

लमजुङ । दोर्दी गाउँपालिकाका किसानहरू च्याउ खेतीतर्फ आकर्षित हुन थालेका छन् । उनीहरूले गाउँपालिकाको सहयोगमा व्यावसायिक रूपमा च्याउ खेती थालेका हुन् । परालको डल्लो बनाएर अँध्यारो कोठामा गरिने कन्ये च्याउको खेती गर्न किसानहरू आकर्षित हुन थालेपछि गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा बीउ वितरण गर्न थालेको छ । 

गाउँपालिकाको कृषि शाखामा कार्यरत कृषि प्राविधिक सहायक निराजन पौडेलका अनुसार मागका आधारमा कन्ये च्याउको बीउ ७५ प्रतिशत अनुदानमा वितरण गर्न थालिएको हो । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले किसानलाई च्याउ खेतीतर्फ आकर्षित बनाउन किसानलाई ७५ प्रतिशत अनुदानमा बीउ वितरण गरिएको बताए ।

स्वास्थ्यका लागि निकै फाइदा हुने र आफ्नै गाउँघरमा उत्पादन गरी उपभोग गर्न सकिने भएकाले ग्रामीण भेगका किसानलाई च्याउको बीउ वितरण गरिएको उनले बताए । कतिपय किसानले यसअघि च्याउ खेतीसम्बन्धी तालिम पाइसकेका छन् । कतिपयले देखासिखीको आधारमा च्याउ खेती गर्न सकिने बताएका छन् । 

दोर्दी गाउँपालिकाले चालू आर्थिक वर्षमा कृषि क्षेत्र आधुनीतिकरण तथा व्यवसायिक परियोजनाअन्तर्गत विशेष अनुदान कार्यक्रम राखेको छ । यो कार्यक्रमबाट नयाँ व्यवसवाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत मह उत्पादन, माछापालन र च्याउ खेतीको तीनवटा कार्यक्रमका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नयाँ व्यवसाय प्रवर्द्धनअन्तर्गत च्याउ खेतीका लागि च्याउको बीउ खरिद गर्न गाउँपालिकाले ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको हो ।

किसानले यसमा १२ हजार पाँच सय रुपैयाँ लागत साझेदारी जुटाएका छन् । यसबाट च्याउका बीउ खरिद गरी वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।