ताजा अपडेट »

भैरहवामा सामुहिक खेलकुद महोत्सवमा : १२ सय विद्यार्थी सहभागी

मंगलबार, २० मंसिर २०७९, १८ : ३२
28 Shares

भैरहवा । 'जोश र उत्साहका लागि खेलकुद' भन्ने मूल नारासहित भैरहवामा १९ औं सामुहिक खेलकुद महोत्सव मंगलबारदेखि सुरु भएको छ । भैरहवा र यस आसपास रहेका १८ वटा विद्यालयहरु सदस्य रहेको प्रतियोगितामा १ हजार २ सय बढी विद्यार्थीले भाग लिएका छन् ।

विद्यार्थीहरुको वौद्धिक, शैक्षिक, सांस्कृतिक, खेलकुद लगायतका प्रतिस्पर्धात्मक क्रियाकलाप गराउनु महोत्सवको लक्ष्य रहेको सामुहिक विद्यालय परिवारका अध्यक्ष उदय कुमार मल्लिकले बताए । 'पढाई बाहेक विद्यार्थीमा रहेको अन्य अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउन हामी प्रयासरत् रहन्छौं ।'-मल्लिकले भने, 'यसको लागि संस्थाले स्थापनादेखि विद्यार्थी बीच हाजिरीजवाफ, वतृत्वकला, वादविवाद, निबन्ध लेखन तथा वाचन, कविता लेखन तथा वाचन, स्मरण खेल, चित्रकला, क्रिकेट, भलिबलहरु जस्ता प्रतियोगिताहरु समेत सञ्चालन गर्दै आएको छ ।'

महोत्सवको उद्घाटन भलिबल राष्ट्रिय टिम(महिला)की कप्तान अरुणा शाहीले गरिन् । कार्यक्रममा बोल्दै शाहीले विद्यार्थीलाई अध्ययन बाहेक यस्ता अतिरिक्त क्रियाकलापले भविष्यमा खेल क्षेत्रलाई सहयोग गर्ने बताइन । मंसिर २० देखि २३ गते सम्म भैरहवामा ४ दिन सञ्चालन हुने प्रतियोगितामा सव जुनीयर, जुनीयर र सिनीयर तहमा छात्र/छात्रालाई दौड, रिले दौड, बोरा दौड, स्किपिङ दौड, शट-पुट, भलिबल लगायत फरक-फरक खेलहरु खेलाइने कार्यक्रम संयोजक मनोज कुमार यादवले जानकारी दिए ।

भैरहवा क्षेत्रमा रहेका नीजि विद्यालयहरुको यस संस्थाले स्थापनादेखि वार्षिक रुपमा खेलकुद महोत्सव गर्दै आएको र यस पटक संस्थाले १९ औं संस्करणको आयोजना गरेको उनले बताए । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको साथै नीजि विद्यालयहरु बीच आपसी सम्बन्ध कायम गर्न पनि प्रतियोगिताले सहयोग गर्ने उनको भनाई थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।