ताजा अपडेट »

शुभकामनासहित धनराजलाई पद्माको सुझाब : ‘आगामी दिनमा तपाईबाट लोकतन्त्र अपहरित नहोस्’

आइतबार, १८ मंसिर २०७९, १२ : २५
8 Shares

बुटवल । प्रतिनिधिसभाको निर्वाचनमा स्याङ्जा–२ बाट विजय भएका काँग्रेस नेता धनराज गुरुङलाई बधाई दिँदै एमाले नेतृ पद्मा अर्यालले आगामी दिनमा लोकतन्त्रको मुल्य–मान्यतालाई अपहरण नगर्न सुझाब दिएकी छन् । स्याङ्जामा बुथ कब्जा गरेर मृत्यु भैसकेका छन् विदेश गएकाहरुको नाममा समेत भोट हाल्नुका साथै उक्त घटनाका प्रयाप्त प्रमाणहरु हुँदाहुँदै पनि पुन मतदान नगरिएकोप्रति असन्तुष्टि जनाउँदै उनले विजयी भएका गुरुङलाई बधाई दिएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै एमाले नेतृ अर्यालले निर्वाचनमा आफूले हार व्यहोर्नु परे पनि राजनीति पेसा नभई सेवा बताउँदै निरन्तर जनताको बीचमा हुने प्रतिवद्धता गरेकी छन् । उनले लेखेकी छन्–‘श्री धनराज गुरुङ जी, स्याङ्जा २ को प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा तपाईंको उपस्थिति हुँदैगर्दा तपाईंलाई हार्दिक बधाई छ । म र म आवद्ध पार्टी नेकपा (एमाले) को तर्फबाट एउटा प्रश्न गरिएको थियो । स्याङ्जा २ मा जनताले मतदान गर्ने सन्दर्भमा केही बुथ कब्जा भए, पुनः मतदान गरौं ।

साक्षीका रुपमा कयौं प्रमाण थिए, भिडियो सार्वजनिक भएकै थियो , मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएको थियो । हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौं । त्यसलाई हामी सहज रुपमा स्विकार गर्दछौं तर कब्जा गरि खसालिएको मतलाइ हामी स्वीकार गर्दैनौं । किनकी लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन । हाम्रो जायज माग तपाईंले सुन्नु भएन र राज्यबाट समेत पनि सुनुवाइ भएन । खैर तपाईंलाई पुनः बधाई छ ।’

नेतृ अर्यालले अघि लेखेकी छन्–‘आगामी दिनमा लोकतन्त्रको मुल्य मान्यता तपाईंबाट अपहरित नहोस् । युवाहरुको जोश जाँगरलाई उत्पादनशील एवम् सृजनशील कार्यमा लगाएर राष्ट्रको सेवक बनाउन सहयोग पु¥याउन सक्नुहोस, न की निर्वाचनमा आफ्नो स्वार्थ अनुकूल उनिहरुलाइ दुरुप्रयोग गरि प्रतिस्पर्धी माथि हमला गर्न लगाउँदै, आतंक सृजना गरि बुथ कब्जा गर्ने जस्तो दुश्कर्म गर्न नलगाउनुहोस ।
मैले तपाईंलाई सालीन एवम् लोकतन्त्र माथि विश्वास गर्ने एउटा नेताको रुपमा बुझेको थिएँ । निर्वाचनका दिन चापकोटको केही बुथमा भएका निर्मम दृश्यले तपाईंप्रतिको मेरो बुझाइ झुठो प्रमाणीत गरिदियो । स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन, दर्जनौं प्रमाणहरुले त्यही बताइरहेका छन ।’

सबै कुरा भुलेर जनताको सेवामा सहकार्य गर्न तयार रहेको बताउँदै अर्यालले लेखेकी छन्–‘खैर अब तपाईंसँग धेरै गुनासो गर्नु पनि छैन । सबैकुरा भुलेर जनताको सेवा गर्न , स्याङ्जाको विकास निर्माणमा सहकार्य गरि अगाडि बढ्न प्रतिबद्ध छु । हामीले अगाडि बढाएका कयौं योजनाहरु छन, तिनलाई पुर्णताः दिन मिलेर अगाडि बढौं, नयाँ थप योजनाहरु आवस्यक छन त्यसका लागि हरदम साथ दिन तयार छु । राजनीति पेसा होइन सेवा हो, निरन्तर जनताको विचमा हुनेछु । अन्त्यमा तपाईंको कार्यकाल सफल होस । शुभकामना !!’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।