ताजा अपडेट »

पूर्व प्रधानमन्त्रीदेखि हाई प्रोफाइलका नेता तथा निवर्तमान ६० सांसद पराजित

आइतबार, ११ मंसिर २०७९, १७ : ४४
2 Shares

काठमाण्डौं । अघिल्लो प्रतिनिधिसभामा रहेका ६० भन्दाबढी निवर्तमान सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । संसदीय राजनीतिमा लामो अनुभव रहेपनि निर्वाचन परिणामले पार्टीको माथिल्लो तहको जिम्मेवारीमै रहेका मुख्य नेतालाई सदनबाहिर रहन बाध्य तुल्याएको छ । संसद्मा यसपटक प्रवेश गर्न नपाउनेमा कतिपय पार्टीका अध्यक्ष, उपाध्यक्ष, महासचिव तथा प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत छन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली निर्वाचनमा पराजित भएका छन् । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र पम्फा भुसाल तथा पूर्वमुख्यमन्त्री शेरधन राईलाई प्रतिनिधिसभाको यस निर्वाचन अफापसिद्ध रह्यो ।

नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कार्यकारिणी समिति सदस्य अनिलकुमार झा तथा गृहमन्त्री बालकृष्ण खाण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठ पनि निर्वाचनमा पराजित भएका छन् । पूर्वसभामुख ओनसरी घर्ती, पूर्व उपसभामुख पुष्पा भुसाल गौतम तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलका लागि पनि यसपटकको निर्वाचन फलदायी हुन सकेन ।

अघिल्लो प्रतिनिधिसभा सदस्य अञ्जना विशङ्खे, अभिषेकप्रताप शाह, कृष्णकुमार राई, कृष्णभक्त पोखरेल, गणेश ठगुन्ना, गौरीशङ्कर चौधरी, गङ्गा चौधरी (सत्गौवा), घनश्याम भुसाल, चक्रपाणी खनाल, चित्रलेखा यादव, झपटबहादुर रावललाई निर्वाचन परिणामले निरासा तुल्यायो । निवर्तमान सांसद देवेन्द्रराज कँडेल नवराज सिलवाल, निरुदेवी पाल, प्रमोद साह, बृजेशकुमार गुप्ता, भरतकुमार शाह, भानुभक्त ढकाल, भीमसेनदास प्रधान, भूमिप्रसाद त्रिपाठी र  महेश्वर बस्नेतका लागि निर्वाचन फलामको च्यूरा बन्यो ।

अघिल्लो प्रतिनिधिसभामा रहेका मातृकाप्रसाद यादव, मोहम्मद इस्तियाक राई, यज्ञराज सुनुवार, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, राजेन्द्रप्रसाद श्रेष्ठ, रामकुमारी झाँक्री, रामवीर मानन्धरलाई पनि निर्वाचन कष्टप्रद रह्यो । जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठीलाई पनि यस निर्वाचनले सदन प्रवेशमा धक्का लगायो । पूर्वमन्त्री लक्ष्मणलाल कर्ण, लालबाबु पण्डित, सुजाता कोइराला, लेखराज भट्ट, विजयकुमार गच्छदार, बीना मगर, विरोध खतिवडा, सोमप्रसाद पाण्डेय, शेरबहादुर तामाङ तथा पूर्वसांसदहरू विजय सुब्बा, विशाल भट्टराई सूर्यप्रसाद पाठक र कोमल वलीका लागि पनि यो निर्वाचन बाधक रहन पुग्यो ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभातर्फ हालसम्म एक सय ५६ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कांग्रेसले ५३ स्थानमा जित निकाल्दै आफ्नो अग्रता कायमै राखेको छ ।

एमाले ४१, माओवादी केन्द्र १७, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टी सात, जसपा छ, स्वतन्त्र पाँच, लोसपा पाँच र नागरिक उन्मुक्ति पार्टी तीन स्थानमा विजयी भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।