ताजा अपडेट »

पत्रकारप्रति जनप्रतिनिधिको व्यबहार 'अपमानजनक', दृष्टिकोण परिवर्तन गर्न आवश्यक

शुक्रबार, १४ असोज २०७९, ११ : ४१
21 Shares

बुटवल । जिम्मेवार निकायमा बसेकाले हरेक कुराको शालिनतापूर्वक जवाफदिनु उनीहरुको दायित्वहो । जनप्रतिनिधिहरुले आफ्नो दायित्व भुलेर संचारकर्मीमाथि प्रश्न गरकै आधारमा विभिन्न लाञ्छाना र आरोप लगाउनु प्रेस स्वतन्त्रताको मर्म विपरित हो । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले नगर आफैँले आयोजना गरेको कार्यक्रममा पत्रकारमाथि गरेको व्यवहारको चौतर्फी आलोचना भएको छ ।

नगर प्रमुख पाण्डेयले यही असोज १२ गते बुधबार उपमहानगरले आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा ग्लोबल आवाजका समाचार संयोजक डिबी सुस्लिङ माथि समाचार लेखेकै आधारमा सार्वजनिक कार्यक्रममा अपमानजनक शब्द प्रयोग गरे । नगर प्रमुखको व्यवहार प्रेस स्वतन्त्रता विपरीत भएको भन्दै विभिन्न पत्रकार संम्बद्ध व्यक्तिहरुले जिम्मेवार रुपमा प्रस्तुत हुन जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । संचार माध्यमको काम भनेको सत्य तथ्य उजागर गर्ने र जिम्मेवार निकायमा बसेकासँग प्रश्नगर्ने काम भएकाले जनप्रनिधिहरुले हरेक प्रश्नको शालिनतापूर्वक जवाफ दिनुपर्ने बताउँछन् । जनताको मत लिएर आएको हुँ भन्ने कुरा भुलेर उनीहरुले पत्रकारको अलिकति पनि टिप्पणी सहन नसक्नु दुःखद् भएको बताउँछन् ।

नेपालपत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकार जहिले पनि प्रतिपक्ष हुने र प्रतिपक्षले प्रश्न उठान गर्न पाउने अधिकारको कुरा जनप्रतिनिधिले बुझ्नु पर्ने बताउँछन् । ‘यस्ता घटना के कारणले भएको बुझ्नु जरुरी छ । त्यहाँ जनप्रतिनिधि खराब हुनसके कतिपय पत्रकारको आचरणको कारणले हुन सक्छन् । पत्रकार जहिले पनि प्रतिपक्ष नै हुन् । प्रतिपक्षले प्रश्न उठान गर्न पाउने कुरा अधिकारको कुरा हो । यो कुरा जनप्रतिनिधिले बुझ्नु पर्छ ।’–उनले भने ।

वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीले कुर्सीमा पुगेपछि जनताको मत लिएर आएको हुँ भन्ने कुरा भुलेर उनीहरुले पत्रकारको अलिकति पनि टिप्पणी सहन नसकेको बताउँछन् । मोटो बजेट खेलाउने कतिपय जनप्रतिनिधिहरुमा ‘हाकिमगिरी’ बढेर गएको र उनीहरुमा कसैका पनि गुनासा सुन्ने ध्येता नाश भएर गएको बताए । ‘जनप्रतिनिधि हुँ, जनताको मत लिएको हुँ भन्ने कुरा कुर्सीमा पुगेपछि भुल्ने गरेका छन् । त्यहाँ ‘मनि’ छ वरिवरि ‘मसल’को पनि संगठन बनाएका हुन्छन् । त्यस पछि कसैका गुनासा सुन्ने ध्येता नाशभएर गएको छ ।’–ज्ञवालीले भने, कतिय मसल र मनिबाट बढी प्रभावितहरु सेवाभावबाट धेरै टाँढा छन् । यीनीहरु यस्तो हर्कत गर्छन् । पत्रकारको अलिकतिपनि टिप्पणी सहन सक्दैन् । यो प्रवृत्ति दुःखद हो । यसलाई उनीहरु सुधार गर्नु पर्छ ।’

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेरबहादुर केसीले जनप्रतिनिधिहरुले पत्रकारले गरेको जस्तो सुकै प्रश्नको पनि शालिनतापूर्वक जवाफ दिनु पर्ने बताउँछन् । ‘संचार माध्यमको काम भनेको सत्य तथ्य उजागर गर्ने र जिम्मेवार निकायमा बसेकासँग प्रश्न गर्ने काम हो । उनीहरु मिडियाले प्रश्न गर्दा शालिनतापूर्वक जवाफदिनु पर्छ । मिडियाको पेशागत दायित्व भनेको प्रश्न गर्ने हो ।’–उनले भने । जनप्रतिनिधिहरुले आफ्ना गुणगान गाएको र पक्षमा मात्रै समाचार लेखेको समाचारलाई ठिक मान्ने र आलोचना गरेको स्वीकार नगर्नु दुःखद भएको उनले बताए । ‘चुनाव जितेपछि अहंकारको विकास भयो । हामी जनताबाट निर्वाचित भएकाहौं । हामीलाई अरुले मान्नुपर्छ भन्ने अहंकार विकास भयो । आलोचना स्वीकार गर्ने प्रवृत्तिको बिकास भयो, यो दुःखद हो ।’–केसीले भने ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले जिम्मेवार निकायमा बसेकाहरुले पत्रकारलाई उल्टै प्रतिप्रश्न गर्ने र पत्रकारहरुमाथि विभिन्न लाञ्छना लगाउने, आरोप लगाउने र अप्ठारो पार्नेकार्य गलत भएको बताउँछन् । ‘जिम्मेवार निकायमा बसेका मान्छेहरुले पत्रकारलाई उल्टै प्रतिप्रश्नगर्ने र पत्रकारहरुमाथि विभिन्न लाञ्छना लगाउने, आरोप लगाउने र अप्ठारो पार्ने काम गरेका छन् । बास्तममा यो एकदमै गलल कार्य हो यसले लोकतन्त्रलाई संकटमा पुर्याउँछ ।’–उनले भने ।

स्थानीय सरकारमा निर्वाचित भएपछि सबै राज्य सत्ता हाम्रो हो, आलोचकहरु हुनु हुदैँन, सबै समर्थक हुनुपर्छ भन्ने उनीहरुमा भ्रम रहेको बताउँदै केसीले त्यस्तो भ्रम नराख्न समेत आग्रह गरे । नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसालले पत्रकार पत्रकारिताको आचारसंहितामा रहेर कामगर्नु पर्ने बताउँछिन् । ‘पत्रकारले पत्रकारको आचारसंहितामा रहेर कामगर्नु पर्यो । पत्रकारले आचारसंहिताभित्र रहेर कामगर्दा कहिकतैबाट जिम्मेवार निकायबाट त्यस्ता खालका व्यवहार हुनु हुदैँन । पत्रकारका कारणले पनि कहिले काही यस्ता घटना हुने गरेका हुन्छन् ।’–उनले भनिन् ।

क्रियाशिल महिला पत्रकार रुपन्देहीकी संस्थापक अध्यक्ष भगवती पाण्डेले जन्रपतिनिधिले सबै हाम्रा राम्रा समाचार मात्रै आउँछन् भनेर अपेक्षा राख्नु गलत रहेको र त्यो अपेक्षा परिर्वतन गर्नु पर्ने बताउँछिन् । ‘जनप्रतिनिधिहरु आफै जवाफदेही बन्नुपर्छ । निर्वाचनको बेलामा गरेका बाचा अनुसारको काम भएभएन् भनेर जनताको तर्फबाट प्रश्न उठाउने नै पत्रकारहरुले हो ।’–पाण्डेले अघि भनिन्, हरेक समाचार उनीहरुको पक्षमा आउछन् । भन्ने हुदैँन । जहाँ जनप्रतिनिधि पुगेका छैन, त्यहाँका जनताका आवाजहरु पत्रकार मार्फत आउने हो । जनप्रतिनिधिले सबै हाम्रा राम्रा समाचार मात्रै आउँछन् भनेर अपेक्षा राख्नु गलत हो । त्यो अपेक्षा परिर्वतनगर्नु पर्छ ।’

वरिष्ठ पत्रकार महेन्द्र थापाले जनप्रतिनिधिहरुले पत्रकारलाई हेर्ने दृष्टिकोण बदल्नु पर्ने बताउँछन् । जनप्रतिनिधिहरु आफ्नो प्रचारमा मात्रै खोज्ने र कमिकमजोरीका विषयलाई पत्रकारले उठाउँदा सकारात्मक रुपमा लिनु पर्ने बताए । ‘जनप्रतिनिधिहरु आफ्नो प्रचारमा मात्रै खोज्नु हुदैँन र कमिकमजोरी बारे पत्रकारले समाचार लेख्दा सकारात्मक रुपमा लिनु पर्छ ।’–उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।