ताजा अपडेट »

चुनाव खर्च बुझाउन अटेर, स्पष्टीकरण दिन भीड

मंगलबार, ०७ भदौ २०७९, ०८ : १०
12 Shares

काठमाडौँ । अटेर गरी निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरू स्पष्टीकरण भने लाम लागेर बुझाउँदै छन्। खर्च नदेखाउनेलाई निर्वाचन आयोगले कारबाही प्रक्रिया थाल्दै साउन ३१ गते स्पष्टीकरण सोधेपछि जिल्ला र प्रदेश निर्वाचन कार्यालयमा भीड लागेको छ।

सप्तरीको कञ्चनरूपका मेयर ललनप्रसाद गुप्ता, डाक्नेश्वरीका मेयर रामलखन मुखिया, शम्भुनाथका मेयर जितेन्द्रप्रसाद गुप्ताले सोमबार स्पष्टीकरण बुझाएका छन्। सप्तकोसीका मेयर कृष्णप्रसाद ढकाल र रूपनीका अध्यक्ष दिनेशकुमार यादवले मंगलबार अन्तिम दिन जसरी पनि स्पष्टीकरण बुझाउने प्रतिबद्धता जनाएका छन्।

निर्वाचन अधिकारी रमेशकुमार जोशी बेलुका ७ बजेसम्म पनि  स्पष्टीकरणका पत्र मिलाउँदै थिए। ‘३ सय ७ जनाले बुझाए। खर्च विवरण बुझाउनेभन्दा स्पष्टीकरण बुझाउने बढी हुने देखियो’, जोशीले भने। जिल्ला निर्वाचन कार्यालय सप्तरीले भदौ १ गते सात दिनभित्र स्पष्टीकरण दिन पत्राचार गरेको थियो। कञ्चनरूप–६ का वडाध्यक्ष बच्चुलाल चौधरीले खर्च विवरण बुझाएको तर बिल भौचर संलग्न नभएका कारण निर्वाचन कार्यालयले नगरपालिका कार्यालयमा फिर्ता पठाएकोबारे कर्मचारीबाट जानकारी नै नभएको बताए।

जिल्ला निर्वाचन कार्यालय सप्तरीले दिएको जानकारीअनुसार ५ हजार ५१ जनाले खर्चको विवरण नै बुझाएनन्। विवरण बुझाउनेको संख्या ४ सय ८४ जना मात्र छ। त्यसमा पनि समयभित्र बुझाउने त २ सय ४६ जना मात्र छन्। गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा जिल्लामा कुल ८ सय ५६ पदका लागि ५ हजार ५ सय ३५ जनाले प्रतिस्पर्धा गरेका थिए। निर्वाचित ८ सय ५६ जनप्रतिनिधिमध्ये १ सय ६८ जनाले र निर्वाचित नभएकामध्ये ३ सय १६ जना विवरण बुझाएका हुन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।