ताजा अपडेट »

पाल्पामा सोमप्रसाद भर्सेस ठाकुर गैरे !, अर्को क्षेत्रमा कसको चर्चा ?

आइतबार, २९ साउन २०७९, १७ : ५८
27 Shares

बुटवल । सोमप्रसाद पाण्डे पाल्पाबाट २०५१ सालदेखि २०७४ सम्मका सबै निर्वाचन लड्दै आएका छन् । यसभन्दा अघि नेकपा एमालेबाट निर्वाचन लड्दै आएका पाण्डे अहिले एमालेबाट विभाजन भएर बनेको दल नेकपा एकिकृत समाजवादीबाट निर्वाचन लड्ने तयारीमा छन् ।

पाण्डेले २०५१ र २०५६ सालको आम निर्वाचन, २०६४ मा पहिलो संविधानसभा, २०७० सालको द्रोसो संविधानसभा, २०७४ सालको संसदीय निर्वाचन लडे । जसमध्ये २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचन बाहेकका सबै निर्वाचन जिते । २०७४ सालमा पाण्डेले पाल्पा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका हरिप्रसाद नेपाललाई पराजित गरे । पाण्डेले ३४ हजार ८९९ मत पाउँदा निकट प्रतिस्पर्धी कांग्रेसका नेपालले २४ हजार ५५४ मत पाए ।

यस पटकको पनि पाल्पा क्षेत्र नम्बर २ मा सत्तागठबन्धनबाट पाण्डे नै टिकट पाउने पर्ने बताउने गरेका छन्। नेपाली कांग्रेसबाट गत निर्वाचनमा पराजित हरिप्रसाद नेपाल, लुम्बिनी प्रदेशका उर्जा तथा सिञ्चाई मन्त्री विरबहादुर राना र नेपाल राष्ट्र बैँकका पूर्व गर्भनर डा. चिरञ्जीवि नेपाल नेपालले पनि दाबी गरेका छन् । सो क्षेत्रमा गठबन्धनबाट पाण्डेले नै टिकट पाउने र प्रदेशसभामा नेपाली कांग्रेस र माओवादीले टिकट पाउने गरी भागबन्डा हुने सम्भावना छ ।

नेकपा एमालेबाट पोलिटव्यूरो सदस्य ठाकुर गैरे र राष्ट्रिय पुननिर्माण प्रधिकरणका पूर्व सिइओ शुशिल ज्ञवालीको चर्चा छ । युवा नेता गैरे कार्यकर्ता माझ परिचित रहेकोले यस पटक उनैले टिकट पाए जित्न सहज हुने एमालेका केही नेताहरु बताउने गरेका छन् । अनेरास्ववियूका पूर्व अध्यक्ष समेत रहेका गैरेका समकालिन नेताहरु मन्त्री समेत भइसकेका छन् । तर, गैरेले अहिलेसम्म पार्टीबाट निर्वाचन लड्नका लागि टिकट पाउन सकेका छैनन् । यसपटक भने सोमप्रसाद पाण्डे नेकपा एसमा गएपछि उनलाई टिकट पाउन सहज भएको उनी निकटका नेताहरुले बताउने गरेका छन् ।

यस्तै पाल्पा क्षेत्र नम्बर १ मा नेकपा एमालेका दलबहादुर रानाले पुनः उठने चाहाना गरेका छन् । २०७४ सालमा बामगठबन्धनबाट निर्वाचन लडेका रानाले नेपाली कांग्रेसका विजयराज घिमिरलेलाई पराजित गरेका थिए । रानाले ३२ हजार ५४९ मत पाउँदा कांग्रेसका घिमिरेले २३ हजार ९२३ मत ल्याएका थिए । मंसिर ४ गते हुने निर्वाचनमा एमालेबाट यसपटक रानासँगै एमालेका लुम्बिनी प्रदेश इन्र्चाज राधाकृष्ण कँडेल र प्रदेशसभा सदस्य नारायण आचार्यले दाबी गरेका छन् । राधाकृष्णले पाल्पामा ३ वटा निर्वाचन क्षेत्र हुँदा क्षेत्र नम्बर ३ बाट २०७० दोस्रो संविधानसभा निर्वाचन जितेका थिए ।
सत्तागठबन्धनको तर्फबाट यो क्षेत्र नेपाली कांग्रेसले पाउने सम्भावना रहेको छ । काँग्रेसबाटै जिल्ला उपसभापति ज्ञानबहादुर गाहा र पूर्व जिल्ला उपसभापति देवराज ढकालको पनि चर्चा छ । २०७४ सालमा कांग्रेसबाट निर्वाचन लडेका घिमिरे अस्वस्थ छन् ।

यस्तो छ स्थानीय तहको मतपरिणाम
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पाल्पा क्षेत्र नम्बर १ मा नेकपा एमालेका वडाध्यक्षहरुले ३४ हजार ७७१ मत पाए । यस्तै नेपाली कांग्रेसका वडाध्यक्षहरुले २७ हजार १५०, माओवादीकाले १ हजार १६४ र राप्रपाकाले २२३ मत पाएका थिए । यस्तै क्षेत्र नम्बर २ मा एमालेका वडाध्यक्षहरुले ३० हजार ५६६ मत पाए भने कांग्रेसकाले २९ हजार ०३९, माओवादी ४ हजार ३१३, नेकपा एकिकृत समाजवादीकाले ४३३ र राप्रपाले ३३६ मत पाएका थिए ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।