ताजा अपडेट »

गुल्मीमा संघीय निर्वाचनमा यी नेता हुन सक्नेछन् आमने-सामने !

बुधबार, २५ साउन २०७९, १८ : ०२
14 Shares

बुटवल । सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी माहोलले तिव्रता पाएको छ । राजनीतिक दलहरु निर्वाचन केन्द्रित भएका छन् भने दलका नेता उम्मेद्वारीका लागि आ–आफ्नो निर्वाचन क्षेत्र लक्षितका गतिविधिमा केद्रित हुन लागेका छन्।

दुई वटा निर्वाचन क्षेत्र रहेको निर्वाचन रहेको गुल्मी जिल्लामा यसपटक रोचक प्रतिष्पर्धा हुने देखिएको छ । गत निर्वाचनमा दुबै क्षेत्रमा बाम गठबन्धनको आड्मा नेकपा एमालेका सचिव प्रदिपकुमार ज्ञवाली र नेता गोकर्णराज विष्टले निर्वाचन जिते । २०७४ सालमा क्षेत्र नम्बर १ बाट प्रदिपकुमार ज्ञावालीले ३७ हजार ८१४ मत ल्याएर जिते भने कांग्रेकाका चन्द्र भण्डारीले ३० हजार २५६ मत ल्याए । जबकी २०७० सालको निर्वाचनमा कांग्रेसका भण्डारीले एमालेका ज्ञवालीलाई पराजित गराएका थिए ।

यस्तै क्षेत्र नम्बर २ मा बामगठबन्धनबाट उम्मेद्वार बनेका एमालेका नेता गोकर्णराज विष्ट ३४ हजार ६१४ ल्याएर जिते । उनका निकट प्रतिष्पर्धी कांग्रेसका चन्द्र बहादुर केसीले २० हजार २५७ मत ल्याए । गत निर्वाचनको राजनीतिक कोर्ष र अहिले राजनीतिक कोर्ष धेरै परिर्वतन भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर १ मा एमालेका वडाध्यक्षहरुको मत ३५ हजार ७०२ र सत्ता गठबन्धन दल तर्फबाट वडाध्यक्षको मत ३८ हजार ३६१ ल्याए । यस्तै क्षेत्र नम्बर २ मा सत्तागठबन्धका वडाध्यक्षको मत ३२ हजार ४२१ र एमालेको ३१ हजार २५३ ल्याएका थिए।

यस पटकको निर्वाचनमा पनि एमालेबाट गुल्मी क्षेत्र नम्बर १ मा प्रदिप ज्ञावली र २ बाट गोकर्णराज विष्ट नै उठ्ने निश्च्ति प्रायः छ । सत्ता गठबन्धनबाट क्षेत्र नम्बर १ मा कांग्रेसका केन्द्रिय सदस्य डा.चन्द्र भण्डारीको बलियो सम्भावना रहेको छ । तर, भण्डारी रुपन्देही २ मा उठने चर्चा रहेको छ । नेकपा माओवादी केन्द्रले चन्द्र भण्डारी रुपन्देही आएको अवस्थामा पूर्वसचिव लिलामणि पौडेललाई गुल्मी १ मा अघि सार्ने र भण्डारी गुल्मीबाट उठ्ने पौडेलाई क्षेत्र नम्बर २ मा उठाउने तयारी गरेको छ ।

गुल्मी २ मा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले पनि दाबी गरेकी छिन् । झाँक्रीले यसपटकको निर्वाचनमा समानुपातिकमा नबस्ने र जन्मभूमि गुल्मीबाट नै उठ्ने बताएकाले यहाँ गठबन्धनको भागबन्डामा समस्या हुने देखिएको छ ।

के भन्छन् जिल्लाका नेता?
नेकपा एमाले गुल्मी जिल्लाका सचिव गणेश तिपालीले अहिलेसम्म पार्टीमा उम्मेद्वार कसलाई उठाउने भनेर छलफल नभए पनि प्रदिप ज्ञावली र गोकर्ण विष्ट नै उठ्ने बताउँछन् । ‘हामी निर्वाचन केन्द्रित भएका छौँ । उम्मेद्वारको बारेमा अहिलेसम्म छलफल भएको छैन।

गुल्मी १ बाट प्रदिप ज्ञावली र २ बाट गोकर्ण विष्ट नै उठ्ने पक्का पक्की छ ।’–उनले भने । सत्तागठबन्धन गठबन्धन गरेर निर्वाचन लडे पनि गुल्मीमा एमालेलाई रोक्न नसक्ने दाबी गर्छन् । ‘जिल्लामा गोकर्ण विष्ट र प्रदिप ज्ञवालीले गरेका विकास निर्माणका धेरै काम गर्नु भएको छ । यसकारणले पनि उहाँहरुलाई गठबन्धनले रोक्न सक्दैन्।’–उनले भने ।

नेपाली कांग्रेसका गुल्मी सभापति खिलध्वज पन्थीले पनि क्षेत्र नम्बर १ मा कांग्रेसबाट डा. भण्डारी नै उठ्ने बताउँछन् । चन्द्र भण्डारी रुपन्देही जाने चर्चा भएपनि त्यो हल्ला मात्रै भएको र भण्डारी गुल्मीबाटै उठ्ने सभापति पन्थीले बताए । क्षेत्र नम्बर २ मा पार्टीका धेरै साथीले आकांक्षा व्यक्त गरेकाले आफूहरु अरुलाई छाड्न नसक्ने बताउँछन् । तर, पार्टी केन्द्रले जस्तो निर्णय गरे पनि आफू स्वीकार गर्न तयार रहेको बताए । ‘क्षेत्र नम्बर २ मा पनि कांग्रेसको संघगठन बलियो नै छ । यसकारणले गठबन्धन भए कांग्रेस गुल्मीको माग छ । तर, केन्द्रले गर्ने निर्णयमा हाम्रो समर्थन हुन्छ ।’–उनले भने ।

माओवादी केन्द्र गुल्मीका पूर्व अध्यक्ष विरबहादुर कार्कीले गुल्मीका २ निर्वाचन क्षेत्र मध्ये गठबन्धनबाट एउटा आफूहरुले पाउनु पर्ने बताउँछन् । चन्द्र भण्डारीको रुपन्देही जाने चर्चा रहेको बताउँदै कार्कीले भण्डारी रुपन्देही गए आफ्नोे दाबी गुल्मी क्षेत्र नम्बर १ मा हुने बताए । चन्द्र भण्डारी गुल्मीबाटै निर्वाचन लडे आफूहरु क्षेत्र नम्बर २ लिने र पार्टीले लिलामणि पौडेलाई अघि सार्ने बताउँछन् ।

‘चन्द्र भण्डारीको रुपन्देही जाने चर्चा पनि सुनेको छु । उहाँ रुपन्देही गए गठबन्धनमा हाम्रो दाबी १ नम्बर क्षेत्रमा हुन्छ । नगए हामी २ नम्बर क्षेत्र नभए पनि लिन्छौँ ।’–उनले भने । लिमामणी पौडेलको चाहाना पनि गुल्मी २ भन्दा पनि १ नै रहेको पूर्व अध्यक्ष कार्की बताउँछन् ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।