ताजा अपडेट »

लुम्बिनी साँस्कृतिकमा मिलेन विवाद : भद्रगोल कार्यालय, मर्कामा सेवाग्राही

मंगलबार, २४ साउन २०७९, १७ : ३८
24 Shares

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा उत्पन्न विवाद समाधान नहुँदा कार्यालयको कामकाज भद्रगोल बनेको छ । साउन १ गतेदेखि विवादित बनेको नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिहरु बीचको आपसी द्वन्दले सेवाग्राही मर्कामा परेका छन् । नगरपालिका प्रमुख सजरुद्दिन मुसलमान तथा प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले मनोमानी गर्दा कार्यालयको काम काजनै भद्रगोल बनेको आरोप लागेको छ ।

नगपालिकामा करारका कर्मचारीहरुको बर्खास्ती तथा नियुक्तिको विषयबाट उत्पन्न विवादसँगै प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले राजनीतिक स्वार्थ अनुरुप काम गर्दा थप समस्या उत्पन्न भएको उपप्रमुख कल्पना हरिजनले गुनासो गरिन् । नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले गोप्य रुपमा टिप्पणी उठाएर यही साउन १ गतेदेखि करारमा रहेका ९ जना कर्मचारीलाई बर्खास्त गरी १३ जना नयाँ कर्मचारी भर्ना गरेपछि विवाद उत्पन्न भएको उनले बताइन् । नयाँ कर्मचारीलाई भर्ना गर्ने निर्णय गरेपछि विदामा बसेका प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले निर्णय कार्यान्वयनका लागि निमिक्त प्रमुख रचना गौतम पाण्डेय क्षेत्रीलाई निर्देशन गरेपछि विवाद बाहिर आएको हो ।

निमिक्त प्रमुख रचना पाण्डेयले कर्मचारी बर्खास्ती तथा नयाँ भर्ना सम्बन्धि निर्णय कानून सम्बत नदेखेपछि नगरप्रमुख तथा उप्रमुखसँग सल्लाह गरेकी थिइन् । कार्यपालिकामा निर्णय नगराई फर्जि निर्णय गराई कर्मचारी हटाउने तथा नयाँ कर्मचारी भर्ना गर्ने विषयमा आफूहरुले बिरोध जनाउँदै आएको उपप्रमुख हरिजनले दाबी गरिन् । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले मनोमानी ढंगले काम गरेको भन्दै उप्रमुखसहित कार्यापालिकाका १३ जना सदस्यहरुले बिरोध जनाएका छन् । २३ जनाको कार्यपालिका रहेको लुम्बिनी साँस्कृतिक नगरपालिमा जनप्रतिनिधिहरु २ खेमामा बाधिएर आरोप प्रत्यारोपमा लागेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतले कर्मचारीहरुको जिम्मेवारी हेरफेर गर्ने विषयमा समेत मनोमानी गरेको भन्दै थप विवाद चर्किएको छ । साउन १५ गते नगरपालिकाबाट सरुवा भइसकेका पाण्डेयले मातहतका कर्मचारीलाई पुर्वाग्रह तरिकाले दरवन्दी नै नरहेको स्थानमा सरुवा गरेको आरोप छ । साउन १५ गते सरुवा भई सकेपछि साउन २० गतेको मितिमा नगरपालिकाका छैटौँ तहका प्रशासनका अधिकृतहरु रचना गौतम पाण्डे क्षेत्रीलाई सोही नगरपालिकाको वडा नं ७ र ८ को वडा सचिवका रुपमा र दामोदर पाण्डेलाई वडा नम्बर १० को वडा सचिवको जिम्मेवारी दिएर पठाएका हुन् । निमिक्त प्रमुख रचना पाण्डेय र अर्का कर्मचारी दामोदर पाण्डेयले गलत निर्णयको विषयमा प्रश्न उठाएपछि पूर्वाग्रही ढँगले प्रमुख प्रशासकीय अधिकृतले निर्णय गरेको उपप्रमुख हरिजनले दाबी गरिन् । उक्त निर्णय समेत २० गते साझ कार्यालय समय सकिएपछि हतारमा गरिएको उनले बताइन् ।

प्रमखु प्रशासकीय अधिकृतकाे सरुवा पत्र

प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले भने वडामा सचिव नभएका कारण भएका जनशक्तिबाटै व्यवस्थापन गर्नका लागि सो निर्णय गरिएको दाबी गरेका छन् । साउन २० गतेका दिन कार्यालय समय सकिएपछि पनि विभिन्न निर्णय गरिएको कुरालाई स्वीकार गर्दै उनले पूर्वाग्रहभन्दा पनि आवश्यकता अनुसार गरिएको दाबी गरे । यसैगरी आफू सरुवाको विषयमा अनविज्ञता प्रस्तुत गरे । हालसम्म आफूलाई त्यसखालको कुने पनि पत्र नआएको उनले ग्लोबल आवाजलाई प्रतिक्रिया दिए । यद्यपी उप्रमुखले नै मन्त्रालयमा गएर आफ्नो सरुवा पत्र ल्याएर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको भन्दै उनले असुन्तुष्टि जनाए ।

नयाँ कर्मचारी भर्ना गर्दा आफ्नै छोरा र छोराको ज्वाईलाई नियुक्ति गरेको आरोप लागेका नगर प्रमुख मुसलमानले भने कानून अनुसार नै काम गरेको दाबी गर्छन् । पुराना कर्मचारीहरुको बर्खास्ती तथा नयाँ कर्मचारी भर्ना गर्ने क्रममा आफ्नो अधिकार प्रयोग गरेको उनको दाबी छ ।

https://www.globalaawaj.com/archives/201178
डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।