ताजा अपडेट »

गण्डक बाँधका सबै ढोका खोलियो

मंगलबार, १७ साउन २०७९, १७ : २१
29 Shares

परासी । नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि गण्डक बाँधका सबै ३६ वटै ढोका (फाटक) खोलिएको छ। दुई दिनदेखि परेको लगातारको वर्षाका कारण पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको ढोका खोलिएको हो।

गण्डक बाँधको ढोकाको चाँबी सधैं भारतले राख्ने गरेको छ। देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीको पानीका सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो क्षेत्र(तटीय क्षेत्र)मा समेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलेको हो। प्रति सेकेण्ड साढे ८ लाख क्यूसेक बेगको पानी धान्ने क्षमता गण्डक बाँधको हो।

पुरानो बाँध भएका कारण संरचनाहरू जीर्ण हुँदा अहिले ब्यारेजले साढे ४ लाख क्यूसेकभन्दा बढी पानी धान्न नसक्ने भूआर्जन तथा जनसम्पर्क कार्यालय भैंसालोटनका भूआर्जन अधिकारी अमित खड्काले बताए। ३ लाख ६७ हजार पुगेपछि खतराको लेबल मानिन्छ। अहिले २ लाख ९७ हजार प्रति सेकेण्डको बेगले पानी बगेको छ। पानी परिरहेकाले कुनै पनि समय खतरा नजिक पुग्न सक्ने उनले बताए।

यसैबीच पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका स्थानीयलाई उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। सम्भावित जोखिममा पर्न सक्ने स्थानीयहरूको व्यवस्थापन र उद्दारका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल