२५ श्रावण २०७९, बुधबार

Aug 10, 2022

चितवन मेडिकल कलेजमा एनेस्थेसियोलोजीष्ट तथा क्रीटीकल केयर फिजिसियनका रुपमा कार्यरत डा. भारती शर्मा रेग्मीले विभिन्न चुनौतीको सामना गर्दै आफूलाई अब्बल, इमानदार र कर्तव्यनिष्ठ चिकित्सकको रुपमा स्थापित गर्नुभएको छ।  चितवन मेडिकल कलेजमा सह प्राध्यापकको रुपमा शिक्षण पेशामा समेत आवद्ध हुनुहुन्छ।  एनेस्थेसिया विभागको प्रमुख समेत रहनुभएकी डा. भारतीले मेडिकल क्षेत्रमा २  दशक भन्दा बढीको अनुभव सँगाल्नुभएको छ। दुर्गम सम्म स्वास्थ्य सेवाको पहुँच कसरी गर्न पुर्याउन सकिन्छ भनेर चिन्तन गरिरहने डा. रेग्मीले विभिन्न दुर्गम क्षेत्रमा पुगेर निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएको  छ। उहाँ डाक्टर भएपछि त्रिविवि टिचिङ हस्पिटल, गङ्गालाल हृदय रोग केन्द्र हुँदै विगत १० वर्ष देखि चितवन मेडिकल कलेजमा सेवारत हुनुहुन्छ ।

Advertisement

साहित्य र संगीतप्रति पनि विशेष रुचि राख्नुहुने डा. रेग्मीले विभिन्न गीति एल्बम निकाल्नु भएको छ । खासगरी  तीजको बेलामा गीति एल्बम निकाल्ने डा. रेग्मीले यसपटक पनि आफ्नै शब्द र स्वरमा चेतनामूलक तीज गीतको छायांकन गरिरहनुभएको छ।  समाजसेवामा पनि उत्तिकै सक्रिय रहने डा. रेग्मीले आफ्नो जन्मभूमि तथा कर्मभूमिमा  मन्दिर , पाटी पौवा, सत्तल निर्माणको लागि सहयोग तथा सरकारी विद्यालयको  समुन्नतिमा योगदान दिँदै आउनुभएको छ ।

स्याङ्जाको सरकारी विद्यालयमा पढी काठमाडौं आएर मेडिकल क्षेत्रमा लाग्नुभएकी डा भारतीले कर्तव्य निर्वाह गर्ने क्रममा बिरामीसँग गरेको  आत्मीय व्यवहार र पेशाप्रतिको अपनत्व र मानवीय करुणाकै कारण धेरै बिरामीको मन जित्न सफल डा. रेग्मीले मेडिकल क्षेत्रको यात्रामा हासिल गरेका अनुभवहरू यसरी सुनाउनुहुन्छ।

छोराछोरी पनि आमाबाबुकै लाइनमा

म स्याङ्जाको तत्कालीन किचनास गाविस वडा नं १ भोर्ले स्थित मध्यम वर्गीय परिवारबाट काठमाडौँ आएर मेडिकल क्षेत्रमा क्रियाशील भएकी हुँ । बुवा कवि इन्द्रप्रसाद शर्मा र आमा चित्रकुमारीको कोखबाट साहिँली छोरीको रुपमा मेरो जन्म भएको हो ।  गाउँकै सरकारी विद्यालयबाट मेरो शैक्षिक यात्रा शुरु भयो।  प्राथमिक शिक्षा किचनास प्रा.वि. नागस्थानबाट तथा एसएलसी तहसम्मको पढाइ नवज्योति माध्यामिक विद्यालयबाट पूरा गरेँ।  पछि उच्च शिक्षा अध्ययनको लागि काठमाडौं आएँ।  सानैदेखि कुनै राम्रो क्षेत्रमा आएर केही उदाहरणीय काम गर्ने रहर थियो।   एसएलसिमा राम्रो नतिजा आएकोले मैल साइन्स विषय लिएर पढ्न थालें।  महाराजगञ्ज मेडिकल कलेजबाट एमबिबिएस गरेँ र सोही कलेजमा मेडिकल अफिसरको रुपमा समेत काम गरेँ।  त्यसपछि एनेस्थेसिया विद्यामा अध्ययन गरी एनेस्थेसियोलोजीष्ट भूमिकामा क्रियाशील छु।  मेरो बुबाआमा लामो समय भारतमा बस्नुभयो । बुवाले बनारसमा संस्कृत पढ्नुभएको थियो । म पनि भारतमै जन्मिएर २ वर्षकी हुँदा नेपाल आएको त्यही भएर मेरो नाम भारती भएको हो । छोरीलाई पनि पढाएर उच्च तहसम्म पुर्‍याउने बुबाको ठूलो रहर थियो।  उहाँले बारम्बार हामीहरूलाई पढ्ने प्रेरणा दिइरहनुहुन्थ्यो।  सोही अनुरूप मलगायत मेरा दाजुभाइ तथा दिदीबहिनीले पनि राम्रो पढ्यौं।  अहिले हामीहरू सबै शैक्षिक तथा मेडिकलको क्षेत्रमा क्रियाशील छौं।  साथै हाम्रो रेग्मी परिवारमा अहिले ३ जना छोरी एक जना छोरा सहित म र मेरो श्रीमान गरी ६ जना डाक्टर छौं ।  मेरो श्रीमान प्रा. डा. श्यामराज रेग्मी  चितवन मेडिकल कलेजको बरिष्ठ मुटुरोग विशेषज्ञ हुनुहुन्छ। मेरो छोरीले एनेस्थेसियामा एमडी सकिन् । उनले मेरो संघर्ष र सफलता देखेर मेरै क्षेत्रमा आउने इच्छा देखाइन् मैले पनि उनलाई हौसला दिएँ । छोरा पनि कलेज लेभल पढ्दै छन् ।

 नर्स बन्छु भन्ने लाग्थ्यो

मलाई सानैमा यही क्षेत्रमा आउँछु भन्ने लागेको थिएन न त स्वास्थ्य सेवामा कसरी पुगिन्छ भन्ने नै थाहा थियो।  सानोमा भने मलाई नर्स बन्न मन थियो।  नौ दश कक्षामा पढ्दा एसएलसी राम्रो गर्न पाए त शहर गएर नर्स बन्छु भन्ने लाग्थ्यो।  त्यसताका गाउँमा पाल्पा मिसन अस्पतालको स्टाफ नर्स  आउनुभएको थियो।  उहाँ निकै स्मार्ट देखिनुहुन्थ्यो।  सबैले नमस्कार गर्थे। उहाँलाई देखेपछि मलाई पनि नर्स बनेर राम्रो सारी लगाएर गाउँ शहर डुल्छु भन्ने रहर जागेको थियो।  म यस्तै बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो।  पछि एसएलसी राम्रो अङ्कमा पास भएपछि शिक्षक तथा आमाबुबाले प्राविधिक शिक्षा पढ्न प्रेरित  गर्नुभयो।  सानैदेखि अभिभावक तथा मान्यजनले डाक्टर भएस् भनेर आशीर्वाद दिनुहुन्थ्यो।  मलाई लाग्यो डाक्टर भनेको त ठूलो मान्छे रहेछ, अनि म पनि डाक्टर नै बन्छु भनेर महाराजगञ्ज क्याम्पसमा पढ्न थालेँ।    त्यतिबेला सो कलेजमा मात्र डाक्टरको पढाइ हुन्थ्यो।  त्यसपछि धरानमा तथा अन्य प्राइभेट मेडिकल कलेजहरू खुल्दै गए।   महाराजगञ्जमा नाम निकाल्नु भनेको निकै नै चुनौतिपूर्ण थियो उ बेला।   तर मनमा दृढविश्वास र लगनशीलताले सफल हुँदै गएँ।  मेरो वैवाहिक जीवन सुरुवातको माध्यम पनि सोही कलेज बनेको थियो।  यही पढ्दापढ्दै मेरा दुई छोराछोरी जन्मेका थिए।

जागिरे जीवन  टिचिङ हस्पिटलबाट

मेरो पहिलो जागिरे जीवन भने टिचिङ हस्पिटलबाट भएको थियो।  त्यहाँ छँदाको जागिर निकै रमाइलो र प्रेरणादायी थियो।  मेरा प्रोफेसरहरूले मलाई गाउँको सरकारी स्कुलमा पढेर पनि सो ठाउँसम्म पुगेको भनेर हौसला दिइरहनुहुन्थ्यो।  म गाउँबाट शहर आएर पढ्न पाउने अवसर भने मेरो भाइ राजेश शर्माको कारण पाएको हो।  उ बेला छोरीमान्छेलाई एक्लै काठमाडौँ पढ्न पठाउने चलन थिएन।  दाजुभाइ वा पिताको साथमा मात्र पठाइन्थ्यो।   मलाई पनि मेरा अभिभावकले भाइको साथमा काठमाडौँ पठाउनु भएको थियो।  भाइको साथ नपाएको भए अहिले म यो जन्ममा जिल्लातिरै स्टाफ नर्समै सीमित हुन्थे होला।

दुर्गमसम्म सेवा

म स्वास्थ्य क्षेत्रमा आएर समाजलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा केही न केही योगदान दिन पाएकी छु यसमा गर्व लाग्छ।  म टिचिङ हस्पिटल पछि सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा रजिष्टार एनेस्थेसियोलोजीष्ट रुपमा काम गरेँ।  त्यसबेला मुटुरोगको लागि काठमाडौँ नै पुग्नुपर्ने बाध्यता थियो।  चितवन मेडिकल कलेजको मुटुरोग विभागले हर्ट अट्याक भएको बिरामीलाई नसाबाट तार छिराएर मुटुको नसा खोल्ने प्रविधि ल्याउनको लागि मेरो श्रीमानसँग सल्लाह गरी हामी दुवैलाई चितवन मेडिकल कलेजमा बोलायो। हाम्रो पनि गाउँमा गएर सेवा गर्ने धोको थियो।  आफूलाई पनि आत्मसन्तुष्टी मिल्ने सेवा गर्न पाउने भएपछि हामी चितवन मेडिकल कलेजमा आएर सेवा गर्न थाल्यौं।  यस क्रममा विभिन्न दुर्गम जिल्ला पुगेर निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने अवसर पाएका छौं।  आफू जन्मे हुर्केको ठाउँसम्म पुगेर आफैले पढेको स्कूल सम्म पुगी सेवा गर्न पाएकी छु।  अहिले भने कोभिडको कारण सबै ठाउँमा पुगेर सेवा गर्न पाइएको छैन।

दक्षता हुनैपर्ने चुनौतिपूर्ण पेशा

हाम्रो पेशा निकै नै चुनौतीले भरिएको पेशा हो।  अझै एनेस्थेसिया त अचेतना वा चेतना शून्य (बेहोस) बनाउने चिकित्सा विज्ञानको अति नै महत्वपूर्ण, सम्वेदनशील र चुनौतिपूर्ण विधा हो।  अप्रेसन अथवा शल्यक्रिया गर्ने क्रममा बिरामीलाई बेहोस बनाउँदा मुटुको फोक्सो  मृगौलाको तथा दिमागको काम सुचारु बनाउने अपरेसन सकिएपछि तुरुन्त होसमा ल्याइ पहिलेजस्तै अवस्थामा ल्याउनुपर्ने काम यस विधा मार्फत गरिन्छ।   मानव शरीरको  भाग जहाँ रोग लागेको छ त्यस भागलाई चिरेर काटेर फाल्दा हुने पीडा छटपटी हटाएर बिरामीलाई मस्त निन्द्रामा सुताइन्छ।   शरीरका हातखुट्टाका माशंपेशीहरूलाई  अचल बनाइन्छ , मुटुको काम जस्ताको त्यस्तै राखिन्छ। मुटुको धड्कन चलिरहन्छ।  श्वासप्रश्वास मेसिनको सहायताले गराइन्छ।   बिरामीको मुटुको चाल , प्रेसर , अक्सिजन को मात्रा , पिसाबको मात्रा आदिको मेसिनको सहायता ले लगातार निगरानीमा राखिन्छ।  यस्ता प्रक्रिया निकै सतर्क र दक्षताका साथ गम्भीरतापूर्वक गर्नुपर्ने हुन्छ।   बिरामी  स्वास्थ्य र चिकित्सकको सम्बन्ध नङ र मासुको भन्दा गहन हुन्छ।  यस जिम्मेवारी रहेर काम गर्न पाउँदा मनमा छुट्टै उर्जा, आत्मसन्तुष्टि र आनन्दको अनुभूति हुन्छ।

आफू बिरामी हुँदा पनि  सेवा

कामकाजी महिलाको लागि आफ्नो पेशागत जिम्मेवारी घरपरिवार र समाज समेतका कर्तव्यहरू सँगसँगै सम्हालेर लैजानु निकै नै चुनौतिपूर्ण छ ।  अझै हाम्राजस्तो पेशामा त खाने सुत्नेको समेत टुंगो हुँदैन।  आफ्नो बच्चा बिरामी भएको बेला सहयोगीको भरमा छोडेर हस्पिटल गएर अरु बिरामी बच्चा जाँच्नु पर्थ्यो।  यस्तो बेला त निकै दुःख लागेर एक्लै रुनु पनि परेको छ।  मेरो श्रीमान पनि सहयोगी र बुज्ने भएकोले पारिवारिक जिम्मेवारी र पेशागत जिम्मेवारी निर्वाह गर्न सजिलो भयो।

बच्चाहरूको हेरविचारको लागि घरमा काम गर्ने सहयोगी राखेर घरव्यवहार मिलाएँ तर पेशागत जिम्मेवारीबाट कहिल्यै पछि हटिन।  आफू बिरामी हुँदा समेत अरु बिरामी चेक गर्नुपर्ने अवस्था आउँथ्यो।  धेरै दुःख र अप्ठेरै परिस्थितिसँग खेल्दै आफ्नो पेशालाई सन्तुलित बनाउँदै लगेँ। म मात्र होइन सबै डाक्टरहरूको जीवन यस्तो पारिवारिक तथा पेशागत जीवन विभिन्न चुनौतीबाट गुज्रिएको हुन्छ।  हामी डाक्टरहरू कोभिडको बेला आफू कोरोनाले ग्रस्त भएर उभिनै नसक्दा पनि अरु बिरामीको उपचारमा खटिएका थियौं।

महिला डाक्टर हुन्छन् भनेर पत्याउँथेनन्

महिला भएकै कारण कतिपय अवस्थामा पुरुषले भन्दा बढि चुनौतीको सामना गर्नुपर्छ।  यो पेशामा भने दक्षता र योग्यता निकै आवश्यक हुने भएकोले पहिले त सो अनुरूप आफ्नो क्षमता विकासमा लाग्नुपर्छ।  महिला हो, पढ्न भ्याइन वा सकिन  भनेर कुनै कुरामा छुट हुँदैन।  न त आरक्षण वा विशेष व्यवस्थालाई नै आधार बनाएर उच्च तहमा पुग्न सकिन्छ।  महिला होस् वा पुरुष डाक्टर भैसकेपछि क्षमता वा योग्यता पनि उस्तै हुनुपर्छ र विभेद पनि केही कुरामा गर्न पाइँदैन।  र कुनै पनि स्वास्थ्य संस्थामा महिला डाक्टर र पुरुष डाक्टरबीच विभेद भएको छ जस्तो मलाई लाग्दैन।  तर मानिसको सोच भने त्यति विकसित भैसकेको छैन।

महिला डाक्टर भएपनि उसलाई सिस्टरको रुपमा हेर्ने प्रवृत्ति देखिन्छ।  मलाई पनि एमबिबिएस पास गरेर डाक्टर भैसकेपछि पनि कतिपय बिरामीले सिस्टर भनेर बोलाउँथे।  होइन म नै डाक्टर हुँ, छोरी मान्छे नि डाक्टर हुन्छन् भनेर हाँसिदिन्थें।  केही वर्ष पहिलासम्म पनि म मेरो श्रीमानसँग हिँडेको बेला हामी दुवै डाक्टर हौ भनेर चिन्नेले समेत बाटोमा भेट्दा उहाँलाई मात्र डाक्टरसाप भनी अभिवादन गर्थे म पनि डाक्टर हो भनेर कतिपयलाई पच्दैनथ्यो।  छोरी मान्छे यो तहसम्म पुगेको समाजले पचाउन गाह्रै  मान्थ्यो।  अहिले भने त्यस्तो छैन।  

समाजले महिला डाक्टरलाई पनि सम्मान र गर्वका साथ हेर्न थालेको छ।  महिलाहरू सिंगो आफ्नो व्यक्तित्व विकासका साथै परिवार र सिंगो समाजको समेत जिम्मेवारी बोकेका सृष्टिका धरोहर हुन्।  उनीहरु कुनै पनि दृष्टिमा कमजोर छैनन् बरु पुरुषभन्दा बढि क्षमतावान् छन्।  २१ औं शताब्दीमा महिलाको जिम्मेवारी अझै बढेको छ।  यस अवस्थामा हरेक महिलालाई परिवार र समाजले उच्च समान र अधिकार दिनु आवश्यक छ।  आवको समाजमा विभेद भन्ने शब्द नै हुनु हुँदैन।  सबै पुरुषहरूले सोच्नुपर्ने विषय पनि यही हो।

प्रतिकृया दिनुहोस्

Flash News

चीनमा देखियो जनाबरबाट मानिसमा सर्ने नयाँ भाइरस लुम्बिनीमा दुई स्थानसहित सबै प्रदेशबाट स्मार्ट लाइसेन्स छपाइको तयारी आज र भोलि देशका केही स्थानमा हुन सक्छ भारी वर्षा नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको सपथ लिँदै नेपालले केन्यासंग टी २० र एकदिवसीय शृंखला खेल्ने मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ मतदाता नामावलीमा दाबी बिरोधका लागि भदौ १२ देखि १९ गतेसम्मको अवधि बिदेशको कमाइले गाउँमा जग्गा किनेर बेसार खेती लामो समयदेखि प्रयोगविहिन लुम्बिनीका विद्युतीय गाडी दशैं अघिनै सञ्चालनमा आउने प्रहरी प्रशासनकै आडमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी चौराहा–गोलपार्क सडकः निर्माणमा देखिएका अड्चन हटाउने निर्णय लुम्बिनी साँस्कृतिकमा मिलेन विवाद : भद्रगोल कार्यालय, मर्कामा सेवाग्राही बुटवलमा जग्गा नापजाँचको काम शुरु सदभावको प्रतिक मोर्हरम पर्व, धुमधामका साथ मनाईयो थप १०९० जनामा कोरोना संक्रमण पुष्टि रुपन्देहीमा लगातार ३ पटक जितेका विष्णु पौडेललाई यसपटक कति चूनौती ? डिभिजन वन अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २० लाख ४८ हजार बिगो दाबी ठेकेदारले ९ करोड बुझे, सडक निर्माण अलपत्र फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : बालेन साह जिल्ला विकास समितिका तत्कालिन खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा