ताजा अपडेट »

विकासको गति :६० लाखको बजेट, २८ मा ठेक्का, ८ लाखको काम

विहीबार, १२ साउन २०७९, १७ : ३१
12 Shares

गुल्मी । कुनै समय एउटा उखान थियो–‘सरकारी काम, कहिले जाला घाम’ तर, अहिले यो उखान अर्को शब्दमा सरकारी रकमबाट गरिने विकास निर्माणमा लागू भइरहेको छ । ‘विकासको काम, बजेट मात्रै झ्वाम्’ जस्तै भएको छ । मुस्किलले बजेट एउटाले पार्छ, अर्काको तजविज हुन्छ । झन् ठूलो तजविज ठेकेदार र उसंग मिले–मतो गर्नेहरुको हुन्छ । हालै गुल्मीको एक सडक निर्माणको काममा पनि त्यही कुरा छर्लङ्ग देख्न सकिन्छ ।

गुल्मीको इस्मा गाउँपालिका– १ साबिक हस्तीचौर गाविसको सबैभन्दा पुरानो सडक –‘ सिर्फु, बगखोर हर्पुकोट मल्दी सडक’ निर्माणस्थल र त्यसको बजेटमा त्यस्तो देखिएको हो । पूर्ववर्ति इस्मा सरकारको पालामा, आर्थिक बर्ष २०७८/०७९ मा प्रदेश सरकार र इस्मा गाउँपालिकाको समपुरक साझेदारी बजेटमा उक्त सडकको स्तरोन्नतीका लागि झण्डै ६० लाख लागतको काम गराउनका गाउँपालिकाले ठेक्का आह्वान गरको थियो ।

त्यसपछि सुरु भयो घटिघटाउ–मोलतोल । त्यसमा कसले बढी काम गर्ने भन्दा पनि कसले सबैभन्दा कम रकममा ठेक्का लिन्छ उसैलाई दिने निर्णय गरियो । अन्ततः कुल लागतको आधा भन्दा कम अर्थात झण्डै ६० लाख बजेटमा जम्मा २८ लाखमा सक्ने एक निर्माण कम्पनीले टेण्डर हाल्छ र उसैलाई स्वीकृत दिइयो । अब भन्नुस् झण्डै ६० लाखको लागतमा सक्नु पर्ने काम जम्मा २८ लाखमा ठेक्का दिनेले दिँदा र लिनेले लिँदा कति भए होला काम ?

अहिले पिच भइसकेको तम्घास सेउवा सिमलटारी सडक भन्दा पहिला नै खन्न सुरु गरिएको हस्तीचौरको उक्त सडक २०४८सालको निर्वाचनपछि तत्कालिन गुल्मी क्षेत्र नम्वर ३ का सांसद स्वर्गिय रुद्रमणि शर्माको पहलमा जनश्रमदानबाट खनिएको र हाल सम्म अलपत्र परिरहेको अवस्थामाा गत बर्ष निकै ठूलो रकम परे पछिनिकै खुशी र उत्साहित थिए त्यहाँका बासिन्दा । तर, ठेक्का दिने र काम हुने बेलामा स्थानीयवासी हात्ती आयो हात्ती आयो फुस्स भने जस्तो भए । आम हस्तीचौरबासीको प्रतिनिधीमूलक त्यही गुनासो सुनाउँछन स्थानीय बासिन्दा हरि खत्री ।

अर्का स्थानीय राहुल बिसी आफू त्यस सडकमा ३० वर्षअघि बर्षको हुँदा जनश्रमदान गर्न गएको स्मरण गर्दै सबैभन्दा पुरानो सडकको हविगत अहिले पनि त्यस्तै हुँदा र त्यसरी ठुलो रकम पर्दा पनि ठेक्का दिने बेलामा त्यति कम रकमा दिइएको, काम पनि झन थोरै भएको प्रति सबैपक्ष गम्भीर हुनु पर्नेमा जोड दिन्छन्।

इस्मा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनिश्वर पौड्यालले उक्त सडकको स्तरोन्नतीका लागि गत वर्ष प्रदेश सरकारको ३० लाख, इस्मा गाउँपालिकाको ३० लाखसहित कुल ६० लाख बजेट परेको र लागत अनुमान ५९ लाख ९० हजार २० रुपैयाँ ५९ पैसामा ठेक्का आव्हन गरिएको जानकारी दिँदै ठेक्का घटिघटाउँ हुँदा बिष्णुदेवि निर्माण सेवा प्रालिले जम्मा २८ लाख २४ हजार १६८ रुपैयाँ ५६ पैसा बराबरको ठेक्का प्राप्त गरेको बताए । २०७९ साल बैशाख ९ गते सम्झौता भई असार १५ गते भित्र सम्पन्न गर्नु पर्ने उक्त कामका जेठको दोश्रो सातातिर डोजर चलाउन सुरु गरियो । इस्मा गाउँपालिकाबाट प्राविधिक मुल्याङन गर्न जाँदा २८ लाखको बराबरको गर्नुपनि काम पनि पुरा नभएको पाइयो । अन्ततः जम्मा ८ लाख ८८ हजार ४९ रुपैयाँ ५० पैसा बराबरको काम मुल्याङन गरिएको र ८ लाख ६ हजार ४९ रुपैयाँ मात्र ठेकेदारलाई भुक्तानी दिईएको प्रमुख प्रशासकिय अधिकृत पौड्याल बताउँछन् ।

ठेक्कापट्टामा घटिघटाउ गरेर जसरी पनि ठेक्का हाता पार्ने तर काम गर्ने बेलामा अनेक वाहना देखाउने प्रबृत्तिले विकास निर्माणमा दुभाग्र्यपूर्ण अवस्था छर्लङ्ग देखिएको पौड्याल स्वीकार गर्दछन् ।

अलि–अलि काम भयो त्यही पनि खोलाले बगायो

हस्तीचौरका पुराना समाजसेवी तथा हाल इस्मा गाउँपालिका –१ का वडाध्यक्ष शेरबहादुर कुँवर सरकारी बजेट ठेक्का पट्टामा र्माफतको चिउरा बडाबडा फाँक भन्ने उखान जस्तै बनेको धारणा राख्छन् ।

ठेकेदारको चरम लापरवाहीको अर्को एउटा उदाहरण सिर्फु बागखोर हपुरकोट मल्दी निस्ती सडक निर्माणमा छर्लङ्गै देख्न सकिने उनी बताउँछन् । पश्चिम गुल्मी तर्फको सबै भन्दा पुरानो सडक अलपत्र परिरहेको बेला त्यति ठुलो रकम परेको तर ठेक्का २८ लाखमा मात्र दिईयो भन्ने सुन्दा उनि अचम्मित बनेको बताउँदै जेठको अन्तिमतिर आएर ठेकेदारले नाली लगायत गर्नु पर्ने अन्य काम नगरेको खाली डोजर लगाएर कटिङ्ग मात्रै गरेको त्यही पनि जेठको १८ गते आएको अविरल वर्षाले दुई वटा ठाडोखोलाले बगाएर मोटरसाइकल त परै जाओस् पैदल यात्रा गर्न समेत मुस्किल भएको बताए ।

उनले त्यो बताई रहँदा भर्खर खनिएको सडक खोलाले बगाएर नाम, निशान थिएन र पैदलयात्रीहरु वारी–पारी गर्न समेत सकिरहेका थिएनन् । जहाँ पत्रकारको टिम उक्त बेहाल सडकमा रिर्पोटिङ्ग गर्न आईपुगेको थाह पाउन साथ निर्माण कार्यको जिम्मा लिएको त्यस बिष्णुदेवि निर्माण सेवा प्रालिका प्रमुख देविराम पराजुलीले तत्काल डोजर पठाएर अहिले मोटरसाईकल सम्म जसोतसो हिड्न सक्ने बनाइएको छ ।

‘काम त मस्तै गरियो, प्राविधिकलाई के मिलेन खै’

उक्त सडक निर्माणको जिम्मा पाएको बिष्णुदेवि निर्माण सेवा प्रालिका प्रमुख देविराम पराजुलीले सरकारी कागजी प्रकृयाको ढिलासुस्तीसंगै आफुले पनि समयमै काम गर्न नसकेको स्वीकार गरे। उनले भने–‘के गर्ने सम्झौता त पहिला नै भएको थियो । हाम्रो पनि समस्या छ । कोभिडका कारणले महङ्गी बढ्यो । ती कारणले गर्दा काम गर्न ढिला गर्नु हाम्रो पनि कमजोरी भयो । ५८ लाखको बजेट भए पनि हामीले जम्मा २८ लाखको टेण्डर हालेका हौं । २५ सय मिटर भन्दा बढी कटिङ्ग गरेका हौं । काम त मस्तै गरे जस्तो लाग्छ तर पालिकाले मुल्याङन गर्दा मैले जम्मा ८ लाख ६ हजार बुझेको हुँ । प्राविधिक कुरा, सरकारी कुरा के मिलेन खै ? अहिले तपाईलाई के भनौं हामी आँफै डुबेका छौं ।’

ठेकेदार देविराम पराजुलीकै शब्दमा भन्ने हो भने उनले धेरै काम गरेको तर मुल्याङन कम गरिएको बिषयमा प्राविधिकहरुलाई के नपुगेको हो ? त्यो उनि आफै जानुन तर ठेकेदार आफैले जान्नु पर्ने त के हो भने कुल लागतको आधा रकम कममा ठेक्का लिए पछि कमसेकम त्यति काम त गर्नु पर्ने होईन र ? कि ठेकेदारले जे गरे पनि यहाँ मनपरी छ ? यदि त्यस्तो मनपरीनै चलिरहने हो भने जनताको अपेक्षा र देश विकासको अवस्था के होला ? यस प्रति सरोकारवालाहरुले गम्भीर भएर नयाँ नीति निर्माण र कार्यन्वयनमा तदारुपता देखाउनु पर्ने जरुरी भइसकेको छ ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार