ताजा अपडेट »

तिलोत्तमामा गैरकानूनी धन्दामा भेटिएका २५० कामदार, 'जबलिंक'बाट पुगेका थिए अधिकांश किशाेर-किशाेरी

आइतबार, ०८ साउन २०७९, १८ : ३३
4 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा–२ स्थित जानकिनगरमा दैनिक करोडौंको अवैध कारोबार गर्ने गिरोह पक्राउ परेसँगै यहाँका जब लिङ्क (रोजगारदाता कम्पनी)हरुमाथि पनि प्रश्न उठेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले आईतबार तिलोत्तमा–२ स्थित एक कलसेन्टरमा छापा मार्यो । ‘ब्लू स्काई कल सेन्टर’ नामक उक्त संस्थामा करिब २५० जना कामदारहरु राखेर करोडौंको अवैध कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भयो ।

उक्त कल सेन्टरमा काम गर्ने मध्येका एक थिए २१ वर्षीय दमनराज पाण्डे । कक्षा १० मा अध्ययन गर्दागर्दै पढाई छाडेका उनी रोजगार खोज्दै बुटवल आइपुगेका थिए । रोजगार खोज्दै जाँदा उनले बुटवलकै लुम्बिनी जब लिङ्क नामक संस्थाले जागिरको अवसरमा बारे सार्वजनिक गरेको सूचना देखे । उक्त सूचना प्राप्त गरेसँगै उक्त जब लिङ्कमा पुगेका उनलाई कम्पनीका व्यक्तिहरुले तिलोत्तमामा सञ्चालित ब्लू स्काई कलसेन्टरमा राम्रो अवसर रहेको बताए । ‘काम पनि धेरै गर्न पर्दैन, फोन उठाउने तथा कम्पनीले भनेका ठाउँहरुमा पैसा उठाउनका लागि फोन गर्ने र डाटा राख्ने मात्रै काम हो ।’–यस्तो राम्रो र सजिलो जागिर पाउँदा दमनराज मख्ख परे । दमनराजले भने ‘जबलिङ्कले लगाइदिएको जागिर यस्तो अवैध होला भन्ने मलाई थाहै थिएन । आज एक्कासी प्रहरीले छापा मार्दा झसङ्ग भए ।’ मासिक १२ हजार तलबमा काम गर्न आएका उनले काम लगाइदिने जब लिङ्कलाई समेत पहिलो महिनाको तलबमा केही प्रतिशत कमिशन दिनु परेको बताए । उनीसँगै लुम्बिनी जब लिङ्कबाट अँन्य ७ जना साथीहरु पनि काम गर्न सोही संस्थामा आएका थिए ।

यसैगरी पाल्पाको रामपुर नगरपालिकाका २ युवाहरुले पनि लुम्बिनी जब लिङ्कबाट यहाँ काम गर्न आएको बताए । काम गर्ने बेलामा जागिर लगाउने संस्थाले वैध अवैधको बारेमा केही जानकारी त गराएन नै आफूहरुले समेत काम गर्दै आउँदा यो काम अवैध हो भन्ने थाहै नपाएको ती युवाहरुले बताए । आईतबार प्रहरीले छापा मारिरहँदा बुटवलको देविनगरमा बस्ने अन्दाजी १९ वर्षीया एक किशोरी कार्यालयको एक कुनामा सुक्क–सुक्क गर्दै रातोपिरो बनेकी थिइन् । उनले पनि जब लिङ्ककै माध्यमबाट उक्त ठाउँमा काम गर्न आएको बताइन् भने आफ्नो परिचय खुल्ने डरले जागिर लगाइदिने जब लिङ्कको समेत नाम बताउन चाहिनन् । करिब २ महिनादेखि काम गर्दै आएकी उनले यो काम अवैध हो भन्ने कुरा आइतबार प्रहरीले छापा मारेपछि मात्रै थाहा पाएको बताइन् ।

जागिर खोज्ने क्रममा सामाजिक सञ्जालहरुमा जब लिङ्कहरुले राखेका सूचना पछ्याउँदै उनीहरु यसरी अवैध काममा फसेको देखिन्छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीले अधिकांश कामदारहरुलाई उक्त गिरोहले विभिन्न जब लिङ्कबाट काममा लगाएको बताए । जागिरका नाममा भर्खरैंका किशोर किशोरीहरुलाई अवैध गतिविधि हुने कार्यालयमा पठाउनु र उनीहरुबाट लाभ लिनु जबलिंकहरुको स्वार्थ र गम्भीर लापरवाही भएको भन्दै यसको वैधानिकतामै प्रश्न उठेको छ । कुनै मापदण्ड र निगरानीबिना सञ्चालित जबलिंकले जागिर र कर्मचारी मिलाउँदा संस्था र व्यक्ति बारे राम्रोसँग बुझेर गनुपर्ने हो । तर, हचुवाको भरमा सञ्चालित त्यस्ताजबलंकिका कारण रोजगारका नाममा कैंयौं किशोर किशोरीहरु ‘ब्लू स्काई कलसेन्टर’ जस्तो अवैध गतिविधि हुने संस्थामा कार्यरत हुन पुगेका छन् ।

सिंगो घर नै भाडामा लिएर सञ्चालन गरिएको उक्त ठाउँमा भुई तलामा रिसेप्सन तथा सामान्य अफिस राखिएको थियो भने पहिलो, दोस्रो र तेस्रो तलमा काम गर्नका लागि कम्युटर लगायतका सामाग्री राखिएको थियो । प्रत्येक तलामा कम्तिमा ८०÷९० जना कामदारले एकसाथ काम गर्न मिल्नेगरी सञ्चालन गरिएको कल सेन्टर अवैध छ भन्ने कुरा त्यस नजिककाहरुले समेत हालसम्म पत्तो पाएका थिएनन् ।

तिलोत्तमाको घटनामा नाम जोडिएको सन्दर्भमा कुरा गर्दा लुम्बिनी जब लिङ्कका सञ्चालक आरसी अधिकारीले आफूले कामदार पठाउने गरेको स्वीकार गरे । ब्लूस्काईको धन्दाका बारेमा आफूलाई जानकारी नभएको बताएका उनले पछिल्लो केही महिनादेखि भने आपसी विवादका कारण कामदार पठाउन छाडेको उल्लेख गरे । आफू मात्र नभई यहाँका अन्य जब लिङ्कहरुले समेत कामदार पठाउने गरेको उनले बताए । उनका अनुसार रुपन्देहीमा एक दर्जन बढी जब लिङ्कहरु सञ्चालनमा रहेका छन् । कतिपय जब लिङ्कहरु दर्ता विनानै सञ्चालनमा रहेका छन् ।
रुपन्देहीमा जब लिङ्कका नाममा दर्ता भएका विभिन्न संस्थाहरु खुल्ने क्रम जारी नै छ भने बन्द हुने क्रम पनि उत्तिकै छ । संस्था खुलेको ६ महिनामै ती संस्थाहरु गुमनाम हुने प्रचलन पनि रहेको छ । यसरी च्याउ जस्तै खुलेका जब लिङ्क र उनीहरुको कमजोर विश्वसनीयताले भविष्यमा थप जटिल संकलन ल्याउन सक्नेतर्फ सोच्नु पर्ने देखिन्छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जिल्लामा अव्यवस्थित रुपमा सञ्चालन भएका जब लिङ्क तथा जब सेन्टरहरुलाई आवश्यक परेको अवस्थामा नियमन तथा अनुगमन गर्ने बताएका छन् । तिलोत्तमाको घटनाको विषयमा उनले पूर्ण विवरणहरु आएपछि मात्रै थप बुझेर अघि बढ्ने बताए । रोजगार दाता संथा दर्ता हुँदा श्रम तथा रोजगार मन्त्रालय तथा रोजगार कार्यालय अन्तरगत दर्ता हुनेहुँदा त्यसको नियमनका लागि उक्त निकायहरुले नै बढी निकगरानी राख्नुपर्ने उनी बताउँछन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।