ताजा अपडेट »

रुपन्देहीको लुम्बिनी साँस्कृतिकमा विवाद : 'नगर प्रमुखले कृते गरेर कर्मचारीको बर्खास्ति गर्दै आफ्नालाई भर्ना'

बुधबार, ०४ साउन २०७९, १० : ५३
4 Shares

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा करारका कर्मचारीलाई हटाउने तथा नयाँ भर्नाको विषयमा विवाद सिर्जना भएको छ । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा नियम विपरित कर्मचारीलाई हटाउने र नयाँ भर्ना गरिएपछि विवाद उत्पन्न भएको हो ।

नगर कार्यपालिकामा कुनै पनि निर्णय नगराई कृते गरि गोप्य रुपमा आफ्ना व्यक्तिहरुलाई भर्ना गर्न नगर प्रमुख सजरुद्दिन मुसलमानले फर्जि निर्णय तयार पारेको भेटिएको हो । कार्यालयमा कार्यरत ९ जना करारका कर्मचारीलाई बिना कुनै कारण हटाएर ११ जना नयाँ कर्मचारी भर्ना गर्न लागेपछि उपप्रमुख कल्पना हरिजनले बिरोध जनाएकी छन् । गत असार ३० गतेको नगर सभामा यस बारे कुनै प्रस्ताब नलगेका प्रमुख मुसलमानले बैठकको निर्णय पुस्तिका आफैले लुकाएर फजुल निर्णयको प्रतिलिपी थमाउँदै निमिक्त प्रमुख प्रशासकीय अधिकृतलाई निर्णय कार्यान्वयन गर्न लगाएपछि घटना बाहिर आएको हो ।

हाल निमिक्त प्रमुख प्रशासकीय अधिकृत रहेकी रचना गौतमलाई निर्णय कार्यान्वयन गराउन आदेश दिँदै नगर प्रमुख मुसलमान तथा विदामा रहेका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले ९ जना कर्माचारीलाई हटाएर नयाँ थप गरिएका ११ जनालाई यही साउन १ गतेदेखि हाजिरी गराउन भनेका थिए । उक्त निर्णय वैधानिक नदेखिएपछि कार्यन्वयनको विषयमा आफूसँग जिज्ञासा आउँदा बल्ल रहस्य थाहा पाएको उपप्रमुख हरिजनले ग्लोबल आवाजलाई बताइन ।

यसरी गलत ढँगबाट कर्मचारी भर्ना गर्न लागेको विषयमा जिज्ञासा राख्दै उपप्रमुख हरिजनले प्रमुख प्रशासकीय अधिकृत पाण्डेयलाई बैठकको निर्णय पुस्तिका माग्दा नगर प्रमुखको अनुमति बिना हेर्न नमिल्ने जवाफ दिएको उनले बताइन । साउन २ गते नगरप्रमुखसँग बैठक पुस्तिका माग्दा सँगै बसेर हेर्ने जबाफ दिएका उनले ३ गते मात्रै कार्यालयमा उपस्थित भएर आफ्नै झोलाबाट निर्णय पुस्तिका निकालेको उपप्रमुख हरिजनले बताइन । निर्णय पुस्तिका हेर्दा कुनै निर्णय नभएको तर, फजुल निर्णयको प्रतिलिपी तयार पारेको भेटेपछि सार्वजनिक रुपमै असन्तुष्टिलाई तुष्टि व्यक्त गरेको हरिजनले बताइन । उनले उक्त निर्णय गलत भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी छन् ।

यस विषयमा प्रतिक्रिया लिँदा नगर प्रमुख मुसलमानले उक्त विषय उपप्रमुखसँग सम्बन्धित नरहेको र आफू एक्लैले निर्णय गर्न सक्ने बताए । कर्माचारी हेरफेरको विषयमा आफूहरुले टिप्पणी  उठाएको बताउँदै उनले त्यसका लागि नगरसभामा समेत प्रस्ताव लगेको दाबी गरे ।

यस विषयमा प्रतिक्रियाका लागि विदामा रहेका प्रमुख प्रशासकीयलाई फोन सम्पर्क गरेपनि उनले जवाफ दिएनन् । उनी यही साउन १ गतेदेखि विदामा छन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।