ताजा अपडेट »

बुटवलको लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि टिकट तथा बेड नि:शुल्क

आइतबार, ०१ साउन २०७९, ०७ : २७
24 Shares
आइतबार, ०१ साउन २०७९
24 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले आजदेखि लागू हुनेगरी  प्रादेशिक अस्पतालहरुमा निःशुल्क बेड तथा निःशुल्क टिकटको व्यवस्था गरेको छ ।  बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा ओपिडी र इमर्जेन्सी टिकट तथा बेड नि:शुल्क हुने भएको हो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९।८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो। ओपिडी र बेड नि:शुल्क गर्न बजेटमा एक करोड ५० लाख रुपैया बिनियोजन भएको छ । टिकट शुल्क नलाग्ने भएपनि विरामीहरुले टिकट काउन्टरबाट टिकट भने लिनुपर्ने– लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले बताए ।

यसैगरी आजदेखि नै लागू हुने गरि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बि!रामीहरुका लागि अब रगत पनि नि:शुल्क हुने भएको छ । रगत नि:शुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसंचार सेवा केन्द्र बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सरकारले बजेटमा नि:शुल्क रगतका लागि ३ करोड रुपैयां वजेट बिनियोजन गरेको छ । अस्पतालकातर्फबाट मेडिकल सुपेरिटेण्डेन डा. इन्द्र ढकाल र रक्तसंचार केन्द्रका तर्फबाट प्रदेश महासचिव कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कुनै पनि सरकारी अस्पतालमा आएका बिरामीले चिकित्सकहरुको सिफारिस लिएर रक्त संचार सेवा केन्द्रमा गएपछि पूर्णरुपमा नि:शुल्क रगत उपलब्ध गराउने छ । यसअघि एक युनिट रगतका लागि करिब ८ सय रुपैयां शुल्क लाग्ने गर्दथ्यो । लुम्बिनी प्रदेशमा वार्षिक ६० हजार युनिट रगत खपत हुने गरेको महासचिव पंगेनीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।