ताजा अपडेट »

सार्वजिनक स्थलमा खुलेयाम जुवा, मुकदर्शक बन्दै प्रशासन

शुक्रबार, ३१ असार २०७९, १४ : ३२
22 Shares

परासी । जुवा खेल्नु र खेलाउनु दुबै कानून विपरित र सामाजिक विकृति हुन् । अझै सार्वजनिक स्थलमा खुलेयाम जुवा खेलाउन दिनु र खेलाउनु त कानूनको उपहास गर्नुसरह नै हो । यस्तै कानूनको उपहास भइरहेको छ अहिले नवलपरासीमा ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा नवलपरासीको आयोजनामा दोश्रो लोक सांस्कृतिक एवम् पर्यटन महोत्सव स्थलमा खुलेयाम जुवा (हाउजी बिङ्गो तम्बोला) सञ्चालन भइरहेको छ । धेरैलाई लाग्ला केवल यो एउटा खेल हो । तर, हाउजी बिङ्गो तम्बोला जुवा हो, जुन गैरकानूनी मानिन्छ । संस्कृति संरक्षणको नारा दिई आयोजना गरिएको सार्वजनिक महोत्सवमा जुवा सञ्चालन गरेर आयोजकले त आम्दानी मात्रै हेर्यो । जिल्लामा सुशासन, अनुशासन पालना गराउने नियमको पालना गराउने प्रशासनले पनि जुवा सञ्चालन भइरहेको देखेर, थाहा पाएर पनि नरोकी मुकदर्शक बनेको छ ।

सार्वजनिक रूपमा प्रचार गरेरै सार्वजनिकस्थलमा जुवा खेलाउँदा जिल्ला प्रशासन कार्यालय नवपरासी मुकदर्शक भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको वडा नं.१३ स्थित सुरन्दरबस्ती बडेरामा यही असार २३ गतेदेखी श्रवण ५ गतेसम्म दोश्रो लोक सांस्कृतिक एवम् पर्यटन महोत्सव संचालन भइरहेको छ । नेपाल सरकार गृह मन्त्रालयबाटै मेला महोत्सवमा जुवाजन्य खेलहरू खेलाउन नपाउने भनेपनि दोश्रो लोक सांस्कृतिक एवं पर्यटन महोत्सव स्थलमा गोपाल अधिकारीको साथमा हाउजी बिङ्गो तम्बोला २९ गते बाट राती ०९ः०० बजेदेखि १०ः०० बजे सम्म सञ्चालन गरिएको छ । यस विषयमा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसँग केही दिन अघि जिज्ञासा राख्दा उक्त खेल जुवा भएकाले तुरून्तै रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी गराएका थिए ।

यद्यपी विहिबारका आज लागि सार्वजनिक गरेको कार्यक्रमको तालिकामा समेत रातो अक्षरमा आकर्षित तरिकाले हाउजी बिङ्गो तम्बोला उल्लेख गरिएको छ । मेलाको उद्देश्य नेपाली लोक कला संस्कृतिको संरक्षण, सम्वद्र्धनका लागि र नवलपरासी जिल्ला भित्रका पर्यटकीय स्थलहरुको प्रचार–प्रसारका लागि महोत्सव आयोजना गरिएको भएपनि दर्शकलाई आकर्षित गर्ने नाममा बिङ्गो तम्बोला खेल खेलाइएको छ ।

आयोजक संस्था राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान नवलपरासीका अध्यक्ष भरत क्षेत्रीले भने प्रशासनले खेल रोक्न आग्रह गर्दागर्दै पनि उक्त खेल सञ्चालन गरेको बताए । प्रशासनले आग्रह गरे पनि दर्शकको माग अनुसार विङ्गो खेलाइएको उनले बताए । उक्त जुवा खेलाउने व्याक्त्तिलाई दैनिक ५ हजार रुपैयाँ शुल्क बुझाउने गरिएकाे आयोजकले जनाएको छ । स्मरण रहोस् केहि वर्ष अगाडिसम्म रुपन्देहीका हरेक मेला महोत्सवमा हाउजी बिङ्गो तम्बोला सञ्चालन हुन्थ्यो । सञ्चार माध्यमले शसक्त आवाज उठाएपछि प्रशासन लगाएत गृह मन्त्रालयबाटै रोक लगाइएको थियो ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल