ताजा अपडेट »

तिलोत्तमाकी अस्मिता मृत्यु प्रकरण: विवाहदेखिनै ‘मधेशी’ भन्दै उपेक्षित

शुक्रबार, ३१ असार २०७९, १७ : ०५
6 Shares

बुटवल । ‘म पहाडी मूलका सापकोटा परिवारकी छोरी हुँ । मेरो विवाह तराई मूलका युवकसंग भएको हो । यो सबै कुरा मेरी छोरी माग्न आउनेहरुलाई थाहा थियो । तर, विवाह गरेर लगेको केहि समय पछि मेरी छोरीलाई यो देशीनीकी छोरी रैछ झुक्काएर विवाह गराइदिए भन्दै खिसीटिउरी –अपहेलना गर्न सुरु गरेको मैले छोरीबाट सुनेकी थिएँ’ – गत आइतबार रुपन्देहीको तिनाउ खोलामा मृत फेला परेकी २१ बर्षीया अस्मिता पटहरा चुँदालीकी आमा सरस्वती सापकोटा पटहराको भनाई हो ।

गत बैशाख २६ गतेका दिन रुपन्देहीको सुनवल नगरपालिका–३, अछामीटोलकी उनै अस्मिता र गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ साविक बिरबास गाविस घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३, शंकरनगरमा डेरा गरी बस्ने अन्दाजी ३० वर्षीय अनिल चुँदाली शर्माबीच मागी विवाह भएको थियो । आमाकाअनुसार विवाह पश्चात भारततिर काम गर्ने अस्मिताका श्रीमान अनिल भारततिरै हिँडेका थिए ।

१५ दिन पछि फेरी घर आएर भारततिरै गएका थिए । श्रीमानले भारतको कुन ठाउँमा के काम गर्छन् भन्ने कुरा छोरी अस्मितालाई एकिन थाह भई नसकेपनि ‘जोतपुरमा काम गर्छु ।’ भन्ने सुनेकी थिइन् । विवाह अघि अस्मिता सहित उनका माईतीजन कसैलाई पनि अनिल र उनका परिवार बारेमा केहि थाह थिएन । आमा सरस्वती सापकोटा पटहरा भन्छिन्– ‘मेरी भाउजुको दिदीको छोरा हो भन्ने सुनियो । ठिकै छ नि त नातेदार भित्रै परेछ केटा हेरौंन त भन्ने कुरा भयो । फोटा आदान –प्रदान पनि भयो । उता मेरी छोरी मन पराएको कुरा पनि सुनियो ।

पछि केटालाई लिएर यहि आए। केटा–केटीलाईसंगै रखाएर चिनजान पनि गराइयो । त्यस पछि छोरीले भनिन् ‘केटा ठिकै लाग्यो पचास–पचपन्न हजार तलब छ राम्रैसंग पाल्छु भनेको छ भनेपछि दुबैको मन परापर भए छ भन्ने लागेर विवाह गराई दिने कुरा टुङ्गियो । बैशाख २४ गते मगनी गरियो । २६ गतेका दिन उहि शंकर नगरको शिद्धेश्वर मन्दिरमा गएर विवाह भएको हो ।’

विवाहपश्चात छोरीलाई देशीनीकी छोरी रैछ भन्दै अपहेलना गरिएको कुराले उनको हत्या नै भएको आमा सरस्वती सापकोटाको आरोप छ । उनकाअनुसार विवाहमा दुबै पक्षले आ–आफ्नो आर्थिक अवस्थाको कुरा खुलस्त राखेका थिए ।

धेरै खर्चिलो विवाह नगरौं भन्ने घर पक्षकै प्रस्तावमा जन्तीका लागि पनि १०–१२ जना जति जुटाउने कुरा भएको थियो । आमा भन्छिन्–‘ मैले आफ्नो क्षमताले भ्याएसम्मको रित पुरा गरेकी थिएँ । उनका दुई छोरा र एक मात्र छोरी अस्मिता थिइन् । स्नातकसम्म अध्ययन गरेकी अस्म्तिा सुनवल–२ मा रहेको आफ्नै खाजा नास्ता पसलमा काम गरेर बाबु आमालाई सघाउने गर्थिन्।

तुल्सीको बोट सार्दै दुनियाँ छाड्दै
मृतक अस्मिताकी आमाका अनुसार बेपत्ता हुने गत शनिबार विहान करिब साढे ११ बजेको समयमा छोरीले फोन गरेकी थिइन् । त्यसदिन आँगनमा तुल्सीको वोट सार्ने दिन थियो । छोरीले तुल्सीको बोट सार्ने–जल चढाएर सकेको र अब घरमा खान खुवाउन लाग्ने कुरा सुनाउँदै थिइन् र तपाइँहरु पनि खान खानुस् भन्दै हंशमुख फोन राखेकी थिइन् । त्यही मात्र अन्तिम कुरा भयो । त्यसपछि फोन स्विचअफ हुन पुग्यो ।

सोही दिन दिउँसो करिव ३ बजेतिर उनै छोरी हराईन भन्ने जानकारी दिइयो । फोन गर्दा स्वीचअफ हुँदा परिवारजन थप चिन्तामा डुब्यो । कोही बोर्डर साइडतिर खोज्न जाने त कोही बाटो–घाटो खोज्दै हिड्न थाले । दिनैभर खोज्दा फेला नपरेपछि माइतीजन साँझ घर फर्किए ।अर्को दिन बिहान तिलोत्तमा नगरपालिका–६, पश्चिम पहुनीस्थित तिनाउखोलाको बिचमा अस्मिताको शव भेटिएको माईतीजनलाई खबर गरिएको थियो । माईतीजन पुग्दा शव उठाई सकिएको थियो । पछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुग्दा पनि शव बुझ्ने कागजी प्रकृया पुरा गर्न थालिएको थियो।

आमा सापकोटा पटहरा भन्छिन्–‘ पहिलो कुरा त हामी नआए सम्म शव नउठाउनुस भन्दा भन्दै घटना स्थलबाट शव उठाईयो । दोश्रो कुरा लुम्बिनी अस्पतालमा पुग्दा पनि कागज पत्र तयार गरेर हामी नआउँदै शव बुझाउन आँटिएको थियो । हामी गएर कराउन थाले पछि मात्र रोकिएको थियो । ’मृतक अस्मिताका बाबु नगेन्द्र पटहरा भन्छन्–‘ मैले छोरीको शव हेर्छु भनेपछि शव देखाइयो । शरिरमा निकै घाउ–चोटहरु थियो । आँखामा निला डामहरु थिए । मेरी छोरीलाई कसैले मारेरै फालेका हुन् , न्यायका लागि सबैले आवाज उठाई दिनु प¥यो ।’

आमा सरस्वती सापकोटा पनि छोरी हराउँदा उता भारतमा रहेका श्रीमानले फोन कुराकानीमा छोरीलाई खोला वा खोल्सा खाल्सीमा हेर्नुहोस त्यतै भेटिन्छ भनेको कुराले थप शंका उत्पन्न भएको, उता घरमा एक जना बालकले ‘उहाँ त मर्नु भयो ’ भनेको कुराले छोरीको हत्या नै भएको आरोप लगाउछिन् ।त्यस परिवारमा अभिभाकत्व प्रदान गर्दै आएकी सुनवल नगरपालिकाका मेयर विमला अर्यालले अस्म्तिाको माइतीजन निकै सोझो परिवार भएकोले न्यायको पक्षमा सञ्चार माध्यम र हरसचेत नागरिकहरुले आवाज उठाई दिनु पर्नेमा जोड दिइन् ।

‘यिनिहरु सार्है सोझो परिवार हुन् । अस्मितालाई विवाह गरेर लगे देखिका कुरा सुनिए अनुसार र मृत्यु घटनाले पनि उनको हत्या नै गरि फालिएको हामीलाई आशंका छ , यस घटनाको सत्य तथ्य छानविनमा मिडियाले पनि सहयोग गरि दिनु प¥यो ’– मेयर अर्यालको यस्तो आग्राह थियो ।यता इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीले अस्मिता मृत्यु घटनाको सुक्ष्यम अनुसन्धान भई रहेको र सोधपुछका लागि मृतकका श्रीमान , सासु,ससुरा समेतलाई नियनत्रणमा लिई थप अनुसन्धान भई रहेको जानकारी दिए ।

उनका अनुसार भारतमा रहेका मृतकका श्रीमान अनिल चुँदाली श्रीमतिको मृत्यु घटना पछि घर आएका उनि प्रहरीको नियन्त्रणमा परेका हुन् । उता आरोपित श्रीमान अनिल चुँदाली शर्मा , आमा लक्ष्मीदेवि र बाबु महादेव शर्मा चुँदाली प्रहरी हिरासतमा रहेकोले प्रतिकृया लिन सकिएन ।उनिहरुका बारे गुल्मीदरवार गाउँपालिकाकी उपध्याक्ष तरा थापा ढेंगासंग बुझ्दा उनिहरुको परिवार केहि वर्ष देखि उतै रुपन्देहीतिर बस्दै आएकोले घटनाबारे आफन्तजनलाई खासै थाह छैन ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार