ताजा अपडेट »

लुम्बिनीमा कोरोना कोषको चरम दुरुपयोग : लाखौंको मूर्ति खरिददेखि मोटरबाटो मर्मतसम्म

शुक्रबार, ३१ असार २०७९, १५ : ४७
8 Shares

बुटवल । लुम्बिनी प्रदेशका स्थानीय निकायहरुले कोभिड-१९ नियन्त्रणको नाममा गरेका व्यापक बेथिती फेला परेको छ । पालिकामा निर्माण गरिएको कोभिड-१९ नियन्त्रण तथा रोकथाम कोषको रकम दुरुपयोग गर्दै मोटर बाटो निर्माण, मन्दिर निर्माण, मूर्ति खरिद, भवन निर्माण तथा विभिन्न कार्यालयका सामग्रीहरुसहित कुर्सी टेबल समेत खरिद गरेको भेटिएको हो ।

महालेखा परिक्षकको कार्यालय सार्वजनिक गरेको विशेष महालेखा रिपोर्टका अनुसार स्थानीय निकायहरुले कोभिडका नाममा लाखौ रकम अनियमित गरेको भेटिएका छन् । लुम्बिनीको बर्दियामा रहेको बाँसगढी नगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषको रकम दुरुपयोग गर्दै उक्त रकम मन्दिर निर्माण तथा मूर्ति खरिदमा खर्च गरेको भेटिएको छ । कोरोनासँग कुनै पनि सम्बन्ध नराख्ने वडा नम्बर ५ मा अवस्थित बड्की भवानी मन्दिर मूर्ति खरिद तथा निर्माणका लागि पालिकाले ४ लाख ९३ हजार खर्च गरेको भेटिएको छ । यसैगरी सोही नगरपालिकामा वडा नम्बर ७ मा अवस्थित गौरीपाराको शिव मन्दिर निर्माणका लागि १ लाख ३० हजार खर्च गरिएको छ । चक्रपथ निर्माणका लागि २ लाख १८ हजार तथा भवन निर्माण शिर्षकमा १ लाख ९४ हजार रकम खर्च गरेको भेटिएको हो । उक्त नगरपालिकाले नियम विपरित कोरोना कोषको १० लाख ३६ हजार रकम दुरुपयोग गरेको छ ।

नगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख धनबाहुदर चन्दका अनुसार फरक शिर्षकमा रकम खर्च गर्नु लगत भएपनि जनप्रतिनिधि तथा स्थानीयको दाबाबमा यसाे गरिएकाे हाे । विभिन्न योजनाहरुमा रकम अभाव देखिएको अवस्थामा स्थानीयलाई खुसी बनाउन जनप्रतिनिधिहरुले नै फरक शिर्षकका रकमहरु खर्च गर्न निर्देशन गरेको उनले बताए । नगरपालिकामा कोरोना कोषबाट अन्य शिर्षकमा खर्च भएका रकमको हकमा कार्यपालिकाको बैठकबाट निर्णय गराएर नै खर्च गरिएको उनले दाबी गरे । आफ्नो नगरपालिकामा मात्रै नभएर अन्य स्थानीय तहहरुमा समेत यसरी फरक शिर्षकमा रहेका रकम खर्च हुने गरेको चन्दले बताउँछन् ।

बर्दियाकै ठाकुरबाबा नगरपालिकाले कोरोना कोषको २४ लाख ३८ हजार रकम दुरुपयोग गरेको भेटिएको छ । उक्त नगरपालिकाले सामुदायिक भवन निर्माण शिर्षकमा १० लाख, मोटर बाटोका लागि ४ लाख २ हजार तथा विभिन्न सडकको स्तरोन्नती शिर्षकमा १० लाख ३६ हजार रकम खर्च गरेको महालेखालाई प्रतिवेदन बुझाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले भने यसरी रकम दुरुपोग भएको कुरालाई स्वीकार गरेनन् । महालेखाले जे भनेपनि नगरपालिकाको अवश्यकता अनुसार नै खर्च गरिएको उनको दाबी छ । ‘कोरोनाको नाममा जनतलाई चामल बाँडेर मात्रै भए, बाटो पनि खनौ भनेर खर्च गरेका हौं ।’–रिजालले भने, त्यसको सम्परीक्षण हुन बाँकी नै छ ।

दाङको बँगलाचुली गाउँपालिकाले पौने करोड बढी कोरोना नियन्त्रण, रोकथाम तथा उपचार कोषको रकम दुरुपयो गरेको भेटिएको छ । उक्त गाउँपालिकाले कोषको ८३ लाख ३७ हजार रकम दुरुपयोग गरेको हो । गाउँपालिकाले ४७ लाख ३९ हजार विभिन्न निर्माणको काममा खर्च गरेको जनाएको छ भने ३५ लाख ६८ हजार रकम खानेपानी आयोजना तथा जस्तापाता खरिदमा खर्च गरेको भेटिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेयले यसरी कोरोना रोकथामका लागि आएको रकम अन्यत्र खर्च गर्नु उत्तम नहुने बताउँछन् । केहीमहिनाअघि उक्त गाउँपालिकामा आएका उनले यथार्थ बुझेर आगामी दिनमा यसप्रकारका रकम दुरुपयोगलाई निरुत्साहित गर्ने उल्लेख गरे ।

दाङकै घोराही उपमहानगरपालिकाले कोरोना नियन्त्रण कोषको रकमबाट फ्रिज, भ्याकुम क्लिनर, पानी ट्याङ्की लगायतका सामग्री खरिद गरेको छ । उक्त उपमहानगरको वडा नम्बर १२ मा कार्यालय मर्मत तथा विभिन्न सामग्री खरिद शिर्षकमा १ लाख ५१ हजार रकम दुरुपयोग भएको महालेखाले ठहर गरेको छ । यसैगरी राप्ती गाउँपालिकाले कोभिड कोषबाट छापाईं, निर्माण तथा विभिन्न असम्बन्धित शिर्षकमा १५ लाख ४५ हजार रकम खर्च गरेको भेटिएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनीका लेखा नियन्त्रक दिपक ज्ञवालीले यसरी सरकारी रकमको खर्च गर्दा कानूनको पालना नगर्ने तथा पटक–पटक सुझाब प्रस्तुत गर्दा पनि सुधार गर्ने प्रवृत्ति रहेको गुनासो गरे । हरेक वर्षको लेखा परीणमा देखिएका समस्या तथा कमजोरी बारे महालेखाले सुझाब तथा निर्देशन दिए पनि सोही कमजोरी अर्को वर्ष पनि दोहोरिने गरेको उनले बताए । आम रुपमा प्रवृत्तिको परिवर्तन गर्न आवश्यक रहेको बताउँदै उनले रकम खर्च गर्दा सम्बन्धिन नियम तथा कानून बाहेक बाहिर गएर खर्च गर्ने छुट नरहेको दाबी गरे । कुनै पनि व्यक्ति वा समूहको दबाबमा नरहेर कानून सम्बत खर्च गर्ने हो भने यस्ताका खालका समस्या अन्त्य हुने उनी बताउँछन् ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।