ताजा अपडेट »

लुम्बिनीको दाङमा डायलासिस गराउन समस्या

शुक्रबार, ३१ असार २०७९, ११ : १४
4 Shares

दाङ । तुलसीपुर उपमहानगरपालिका ६ का देवीराम केसीले हप्तामा २ पटक श्रीमतीलाई डायलासिस गराउन राप्ती प्रादेशिक अस्पतालमा ल्याउने गर्छन् । दुईवटै मिर्गौला काम नलाग्ने भएपछि उनले मंगलबार र शुक्रबार श्रीमतीलाई डायलासिस गराउँदै आएका छन् ।

उपचार गर्न काठमाडौँ गएका वेला श्रीमतीका दुवै मिर्गौला काम नलाग्ने अवस्थामा पुगेको थाहा पाएपछि उनले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस गराउन थाले । तुलसीपुरबाट २३/२४ किलोमिटर टाढा रहेको प्रतिष्ठानमा हप्तामा २ पटक लैजान र ल्याउन समस्या भयो । त्यसपछि उनले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस गराउन धेरै कोसिस गरे तर बिरामीको चापका कारण पालो आएन । उनले भने, ‘तुलसीपुरमा डायलासिस गराउन लागेको अहिले ७/८ पटक भयो ।

डायलासिस गर्दा घोराहीमा पनि पैसा लाग्दैनथ्यो तर यहाँबाट लैजान र ल्याउन समस्या थियो । गाडी रिजर्भ गरेर लैजानुपर्ने भएकाले तेलको भाउ बढेसँगै गाडीवालाले पनि पैसा बढाए । अहिले तुलसीपुरमा पालो पाएपछि राम्रो भएको छ ।’ केसी त एक उदाहरण पात्र मात्र हुन् । पछिल्लो समय मिर्गौलाका विरामी बढेपछि अस्पतालमा डायलासिस गर्न पाएका छैन् । थोरै स्रोत साधन र जनशक्ति हुँदा विरामी बढ्दै जाँदा समस्या भएको छ । यस्तै लमही नगरपालिका ६ कुलमोहरकी कमला रोकाले रुकुम घर भएका आफ्ना भाइलाई लमहीस्थित लमही सामुदायिक डायलासिस सेन्टरमा उपचार गराउँदै आएकी छन् ।

भाइ विरामी भएपछि करिब एक महिनाअगाडि काठमाडौँमा उपचार गर्दा दुवै मिर्गौलाले काम नगर्ने अवस्थामा पुगेको थाहा पाएपछि काठमाडौँमै केही दिन उपचार गरेर दाङ आएको उनले बताइन् । उनले भनिन्, ‘काठमाडौँमा उपचार गर्दा धेरै खर्च भयो । त्यहाँ उपचार गर्न नसकेपछि भाइलाई दाङ ल्याएँ तर लमहीमा रहेको डायलासिस अस्पतालमा बेड पाउन मुस्किल भयो । भाइको अवस्था निकै नाजुक भएको थियो । अस्पतालमा बिरामीहरू धेरै हुँदा बेड पाएको थिएन । अहिले बल्लतल्ल पाएको छ, डायलासिस भइरहेको छ ।’

उनका अनुसार भाइलाई अहिले अस्पतालले इमर्जेन्सी डायलासिस गर्दै आएको छ। उनले अस्पतालमा विरामीहरू धेरै हुँदा आफूले जस्तै धेरैले समस्या भोगिरहेको पनि बताइन् । उनले भनिन्, ‘अहिले ३ पटक डायलासिस हुँदा भाइको अवस्था राम्रो छ तर कुनै दिन धेरै समस्या भएमा यहाँ सिट पाउन गाह्रो हुन्छ । बाहिर लैजान पैसा छैन । यहाँ उपचार गराउ भनेपछि सिट पाइँदैन ।’

त्यस्तैगरी जिल्लामा ३ वटा अस्पतालबाट अहिले डायलासिस सेवा प्रदान भइरहेको छ। जसमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र लमही सामुदायिक डायलासिस सेन्टर रहेका छन् । विरामीको संख्या बढ्दै गए पनि उपकरण र जनशक्तिको अभावका कारण समस्या हुँदै गएको छ । तुलसीपुरमा ५ वटा डायलासिस गर्ने मेसिन रहेकोमा ४ वटाले मात्र काम गरेका छन् भने प्रतिष्ठानमा ६ वटा र लमही अस्पतालमा १२ वटा मेसिन छन् ।

त्यस्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा अहिले ७० भन्दा बढी मिर्गौलाका विरामी डायलासिस गर्नका लागि पालो कुरेर बसेका छन् तर अस्पतालमा अहिले ४ वटा मेसिनबाट दैनिक ८ जना विरामीलाई मात्र डायलासिस गर्दै आएको अस्पतालकी डायलासिस इन्चार्ज लिना भँडेलले बताइन् । उनका अनुसार दैनिक दुई सिफ्टमा ८ जना विरामीलाई डायलासिस गरिँदै आइएको छ । उनले भनिन्, ‘तुलसीपुर, सल्यान, रुकुमलगायत जिल्लाबाट विरामी आउने क्रम बढ्दो छ तर हामीले अहिले ४ वटा मेसिनबाट मात्र सेवा दिइरहेका छौँ। हप्तामा २ दिन डायलासिस गर्नुपर्ने हुन्छ। विरामीहरू भने ७० जनाभन्दा बढी छन् । एउटै बिरामीलाई करिब ४ घण्टा समय लाग्छ । कुनै बिरामीलाई त हप्तामा ३ पटकसम्म गर्नुपर्ने हुन्छ ।’

उनका अनुसार डायलासिस आजीवन गरिरहनुपर्ने हुन्छ । जसले गर्दा स्रोत साधन थोरै र विरामीको संख्या धेरै हुँदा पालो नआउने गरेको उनको भनाइ छ। उनले भनिन्, ‘यदि मेसिन, स्टाफको थप भएन भने, अहिले डायलासिस गराइरहेकाहरूको मात्र पालो आउँछ । नयाँ विरामीको पालो आउँदैन । बेड खाली हुन विरामीलाई बाहिर रिफर गर्नुपर्छ कि उनीहरूको निधन भएपछि मात्र पालो आउँछ । नत्र भने अरू बिरामीलाई सेवा दिन समस्या हुन्छ ।’

त्यस्तै अस्पतालमा ५ वटा डायलासिस मेसिन भए पनि ४ वटा सञ्चालनमा छन् । एउटा बिग्रिएको एक वर्षभन्दा बढी भए पनि बन्न सकेको छैन। उक्त मेसिन बनाउन पटक/पटक प्राविधिक टोली आए पनि अहिलेसम्म नबनेको इन्चार्ज भँडेलले बताइन् । उनले भनिन्, ‘यो बनाउन धेरै पटक प्राविधिक टोली आयो तर बन्न सकेन । अब यसलाई बनाउन काठमाडौँ लैजानुपर्छ। अहिले त्यत्तिकै थन्किएको छ।’

त्यस्तैगरी राप्ती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। विनोद सिंहका अनुसार अहिले महिनामा २३ जना विरामीले मात्र डायलासिस सेवा पाइरहेका छन् । ४ वटा मेसिनबाट हप्तामा २ दिन गरी २३ जना विरामीको डायलासिस गर्ने गरेको उनले बताए । अहिले अस्पतालमा पश्चिम दाङलगायत छिमेकी जिल्लाका गरी ७३ जना मिर्गौलाका विरामी लाइनमा रहेको पनि उनले बताए । उनले भने, ‘अहिले ४ वटा मेसिनबाट सेवा दिइरहेका छौँ। विरामीको संख्या बढ्दो छ भने मेसिन र जनशक्तिको अभाव छ।’

राप्ती प्रादेशिक अस्पतालमा प्रदेश सरकारले डायलासिसका लागि १० वटा मेसिन थप्न बजेट छुट्याएको पनि उनले बताए । उनले भने, ‘बजेट आउनेमा हामी विश्वस्त छौँ । मन्त्रीबाट पनि आश्वासन आएको छ। १० वटा मेसिन थपिए केही सहज हुनसक्छ ।’ जथाभावी औषधि प्रयोग र कृषिजन्य वस्तुमा रसायन प्रयोगले मिर्गौला विरामी बढ्दै पछिल्लो समय ज्येष्ठ नागरिकमा मात्र नभई युवापुस्तामा पनि मिर्गौलाको समस्या देखिएको भन्दै उनले चिकित्सकको सल्लाहविना विभिन्न किसिमका पेनकिलर खाँदा मिर्गौलामा समस्या भइरहेको डा। सिंहले बताए ।

उनले कुनैपनि औषधि खाँदा चिकित्सकको सल्लाह अनुसार खान आग्रह गरे । यस्तै उनले अहिले कृषिजन्य काममा विभिन्न किसिमका रसायन प्रयोग गर्दा पनि मिर्गौलालाई असर गर्ने हुँदा विरामी बढ्दै गएको बताए। उनले चिकित्सकको सिफारिसविना औषधि बिक्री वितरण रोक्न सके पनि मिर्गौलाका विरामी कम हुने पनि बताए । त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा अहिले ६ वटा मेसिनबाट डायलासिस गरिन्छ । प्रतिष्ठानकी डायलासिस इन्चार्ज झरना पुलामी भण्डारीका अनुसार ती मेसिनबाट २४ जनाको डायलासिस गरिन्छ । उनका अनुसार एक सत्रमा करिब ५ जनाको डायलासिस गरिन्छ। यस्तै ७ वटा डायलासिस मेसिन थप्न लागेको प्रतिष्ठानले जनाएको छ।

त्यस्तै लमहीमा करिब ३ वर्षअघि रोटरी क्लब लमही र गौतम बुद्ध मुटुरोग अस्पतालको समन्वयमा लमहीमा पश्चिम क्षेत्रकै ठूलो डायलासिस सेन्टर सञ्चालनमा आएको हो । सेन्टरबाट एकपटकमा १२ जना विरामीलाई सेवा दिन सकिने अस्पतालले जनाएको छ । मिर्गौलाको सामान्य समस्यादेखि दुवै मिर्गौला फेल भएका विरामीलाई कम्तीमा एकपटकमा ४ देखि ८ घन्टासम्म डायलासिस गर्नुपर्ने भएकाले विरामीको चाप पनि बढी हुँदा सेवामा समस्या भएको अस्पतालले जनाएको छ। अस्पतालमा कहिले ७० जनाभन्दा धेरै विरामीले नियमित डायलासिस गराउँदै आएको अस्पतालका मेडिकल अफिसर डा। अब्दुल बुथ खानले बताए ।

उनले भने, ‘२ सत्रमा गरी दैनिक २४ जनालाई हामीले सेवा दिएका छौँ। हप्ताको २ दिन भए पनि विरामीको अवस्था हेरेर कसैलाई ३ दिन पनि दिनुपर्ने हुन्छ। योभन्दा बढी विरामीलाई हामीले सेवा दिन सक्दैनौँ।’ उनका अनुसार अस्पतालमा १२ वटा मेसिन भए पनि अरू थप्न ठाउँ अभाव छ। जसले गर्दा आएका विरामीलाई सेवा दिन कठिन भएको पनि उनले बताए । उनले आफूहरू मेसिन थप्न तयार भए पनि ठाउँ अभाव भएको हुँदा सरोकारवाला निकायले साथ दिनुपर्ने बताए। उनले नयाँ विरामीहरू उपचारका लागि अस्पतालमा आउने गरेको भन्दै पर्याप्त मेसिन नहुँदा फर्काउन बाध्य भएको पनि उल्लेख गरे ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी