ताजा अपडेट »

बुटवलकाे लुम्बिनी प्रादेशिक अस्पतालमा अनियमितताको चाङ, करिब ५ गुणाले बढ्यो बेरुजु

विहीबार, ३० असार २०७९, १५ : ००
2 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकार अन्तरगत रहेको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा अनियमितताको चाङ भेटिएको छ । अस्पतालमा उपकरण तथा औषधि खरिद, कोभिड-१९ महामारी व्यवस्थापन तथा विभिन्न सेवा सुविधाका नाममा अनियमितताहरु भेटिएका हुन् । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो भेटिएको हो । अस्पतालमा विगतको भन्दा बेरुजु रकममा समेत करिब ५ गुणाले बढेको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०७९ सालको प्रतिवेदन अनुसार अस्पतालमा ९ करोड ३२ लाख ७४ हजार बेरुजु भेटिएको हो । गत वर्षको प्रतिवेदनमा १ करोड ९७ हजार ८२ लाख बेरुजु रकम भेटिएकोमा यो वर्ष ४ सय ७१ दशमलव ५३ प्रतिशतले बेरुजु वृद्धि भएको छ । अघिल्लो वर्षभन्दा यो वर्ष ७ करोड ३४ लाख ९७ हजार रुपैयाँ बराबरको बढी रकम बेरुजु भेटिएको हो । महालेखाले यस वर्षको प्रतिवेदनमा ४ करोड ७८ लाख ५८ हजार रकमलाई नियमित गर्नु पर्ने देखाएको छ भने ४ करोड ५४ लाख २१ हजार रकम बराबरको खर्चमा आवश्यक कागजात तथा प्रमाणहरु पेश गर्नु पर्ने देखाएको छ ।

अस्पतालको फार्मेसी सञ्चालन, भवन निर्माण तथा त्यसको प्रयोग, विभिन्न स्वास्थ्य उपमकरण खरिद तथा मर्मत, अस्पतालको कम्पाउण्ड निर्माण तथा भुक्तानी, करार तथा स्थायी कर्मचारीहरुको तलब तथा सेवा सुविधा वितरणका साथै कोभिड–१९ रोकथामका नाममा अनियमिताहरु भेटिएका छन् । अस्पतालले सार्वजनिक खरिद ऐन तथा सम्झौता विपरित विभिन्न ११ वटा फर्मलाई औषधि खरिदमा ६ लाख ९५ हजार बढी भुक्तानी दिएको छ । औषधि, सर्जिकल सामाग्री, रिएजेन्ट, उपकरण, अक्सिजन र अन्य कार्यालय सामग्री खरिद गर्दा सम्झौताभन्दा बढी रकम दिएको भेटिएको हो ।

यसैगरी अस्पताल फार्मेसीले अस्पतालको मूल खातामा जम्मा गर्नु पर्ने १ करोड १८ लाख ९७ हजार रुपैयाँ रकम अझैसम्म जम्मा नगरेको प्रतिवेदनमा उल्लेख छ । अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ को बुँदा नम्बर १५.७ र १६.२ अनुसार औषधि विक्रिबाट भएको कुला आम्दानीको १० प्रतिशत तथा खुद नाफाको ९० प्रतिशत रकम अस्पतालको खालामा जम्मा गर्नु पर्ने व्यवस्था भएपनि सो अनुसार नभएको हो ।

यसैगरी अस्पतालको भावन निर्माणमा नियम विपरित भेरिएसन गरी लागत थप गरको भन्दै महालेखाले कमजोरी औल्याएको छ । अस्पतालको डाइगोनेष्टिक भवन निर्माणमा अनियमित रुपमा भेरियसन गराई सुरुको लागत मूल्यमा ९९ लाख ६९ हजार रकम थप गरिएको छ । सावैजनिक खरिद ऐन २०६३ को दफा ५४(३) अनुसार प्रतिवन्धात्मक वाक्यांशमा लागत अनुमान स्वीकृत गर्ने व्यक्तिभन्दा तल्लो तहको अधिकारीले पुन भेरियसन गरी लागत रकम थप गर्न नमिल्ने भए पनि सो विपरित गरिएको महालेखाले जनाएको छ । अस्पतालले १७ करोड ८७ लाख ८७ हजारमा ३ तलाको भवन निर्माण गर्ने भनि विभागीय मन्त्रीबाट स्कृति भएकोमा अस्पताल कार्यलय प्रमुखबाट थप एक तलाका लागि फ्रेम स्ट्रक्चर थप्ने भनि भेरियसन गरिएको छ । यसरी रकम बढाएर सोही भवनको लागत १८ करोड ७६ लाख ९ हजार पुर्याइएको छ । यसैगरी अस्पतालको कम्पाण्ड निर्माण गर्ने क्रममा निर्माण कम्पनीलाई काम भएकोभन्दा ६ लाख बढी रकम भुक्तानी गरिएको भन्दै महालेखाले असुल उपर गर्न निर्देशन गरेको छ ।

अस्पतालले प्रदेश निर्देशनालयले ७६ लाख ६१ हजार खर्चेर किनेको एचपीएलसी न्यूवर्न स्क्रीनिङ मेशिनलाई त्यसै थन्क्याएर राखेको छ । आपूर्तिकर्ताले आवश्यक तालिम नदिनुका साथै उक्त उपकरणका केही पार्टहरु विग्रिएको भेटिएकाले सम्झौता अनुसार अस्पताल तथा निर्देशनालयले काम गर्न र गराउन नसकेको महालेखाले उल्लेख गरेको छ । अस्पतालमा साढे ३१ लाख खर्च गरेर खरिद गरिएको अटोक्लेभ मेशिन समेत प्रयोग विहिन भएको भन्दै महालेखाले औल्याएको छ ।

अस्पतालमा करिब डेढ करोडमा खरिद गरिएको जेनेरेटरनै गायव भएको छ । स्थलगत निरीक्षण गर्दा उक्त जेनेरेटर मर्मतका लागि लगिएको महालेखालाई जवाफ आएको छ । अस्पतालमा १ करो ४६ लाख ९० हजारमा गरिद गरिएको मर्सिलेटरसहितको होलोमियम लेजर जेनेरटर २०७७ कार्तिकमा आपूर्तिकर्तासँग खरिद सम्झौता भई सोही वर्षको माघ १० गते भुुक्तानी समेत गरेको देखिए पनि उक्त मेसिन भने अस्पतालमा नदेखेपछि महालेखाले प्रश्न उठाएको थियो । जवाफमा उक्त जेनेटर मर्मतका लागि आपूर्तिकर्ताले नै लगेको भन्ने आएपछि खरिद गर्ने वित्तिकै खराब भएको देखिएकाले सामानको वारेन्टी, ग्यारेन्टि अनुसार प्रतिस्थापन गराउनु पर्ने महालेखाले सुझाब दिएको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।