ताजा अपडेट »

भित्रि सडक पिच हुने पहिलो ठाउँः नगर प्रमुखको आफ्नै गाउँ

मंगलबार, १४ असार २०७९, १७ : ४९
4 Shares

गुल्मी । गुल्मीको सदरमुकामका वडाहरु र विभिन्न गाउँपालिकाका केन्द्र बाहेक ग्रामिण भेगमा भित्रि सडक पिच हुने पहिलो ठाउँ बनेको छ रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीको गाउँ । रेसुङ्गा नगरपालिका वडा नम्वर–५ , साविक अर्खले गाविसको भुवनपानी नगरप्रमुख पन्थीको गाउँ हो । त्यस गाउँ सहित सिङ्गो वडा नम्वर ५ का बासीन्दा लाभान्वित हुने गरि त्यस वडाको खाम्सेपानी भुवनपानी तल्लाखर्क रातडाँडा सडक भर्खरै पिच भएको छ ।

त्यस गाउँ सदरमुकाम छेबैमा हुँदा पनि विगतमा विकासको दृष्टिले बत्तिमुनीको अँध्यारो गाउँ भनेर चिनिन्थ्यो । आफूले उब्जेनी गरेका फलफूल, तरकारीहरु त्यहाँका बासीन्दाले डोकोमा बोकेर सदरमुकाम तम्घास बजारमा बेच्न ल्याउँथे । कोही बिरामी परे स्टेचर वा डोकोमा बोकेर अस्पताल ल्याउँथे । त्यसै गाउँका बासीन्दा अहिले घरै अगाडीको पिच सडकमा यात्रा गर्ने सुविधा प्राप्त गर्न सुरु गरेका छन् ।

त्यस सडकको निर्माण कार्य जिम्मा लिएका निर्माण व्यवसायी चुराबहादुर खत्रीका अनुसार २०७५ सालमा मोतीदान राजेश्वरी सुनिल समिति जेभी कन्ट्रक्सनले टेण्डर गरि निर्माणको जिम्मा पाएको थियो । जसबाट खत्रीले २०७६ सालबाट सडक पराकिलो पार्ने र कालोपत्रे गर्ने जिम्मा पाएका थिए । उक्त कार्यमा हाल सम्म करिव सवा १० करोड खर्च भएको निर्माण व्यवसायी खत्रीले बताए । उनले अधिकांश स्थानमा कालोपत्रे भई सकेको र अब छिट्टै सक्ने तयारी रहेको बताए । जहाँ अहिले सदरमुकाम तम्घासबाट अर्घाखाँची जिपपार्क , सिस्न्यारा खाम्सेपानी हुँदै कच्ची सडकको यात्रा गर्दै भुवनपानी गाउँमा जानु पर्दछ भने त्यहाँ पुगे पछि पक्की सडकको सर्ररर.. यात्रा गर्न पाईन्छ ।

सोमबार त्यसै आफ्नो गाउँको उक्त सडक अवलोकन गर्दै नगर प्रमुख पन्थीले निकै हर्ष–खुशी प्रकट गरे । पिच गरेर सकिनै लागेको सडकको तस्वीर सहित उनले आफ्नो फेसबुकमा लेखेका छन्–‘झण्डै ७ वर्षको निरन्तर प्रयास पछि खाम्सेपानी भुवनपानी तल्लाखर्क रातडाँडा सडक कालोपत्रे सम्पन्न हुँदा निकै खुशी लागेको छ । गुणस्तरीय कार्य समपादन हाम्रो प्रतिबद्धत्ता । ’

‘वास्तवमै उहाँले आफ्नो मात्रै खुशी बाँडेको होइन,सिंगो वडाबासीको खुशी बाँड्नु भएको हो , –त्यस वडाका वडाध्यक्ष दुर्गाप्रसाद खनालले भने–‘ हामी पहिला बिकासमा निकै पछाडी थियौं तर अहिले गुल्मीको हकमा सम्भवतः ग्रामिण भेगका यस्ता भित्रि सडक पिच हुने पहिलो सडक यहि होला । उनले उक्त सडक भन्दा पहिला तम्घास सिस्न्यारा खाम्सेपानी सडक पिच हुनु पर्नेमा ठेकेदारको ढिलासुस्ती र लापर्बाहीका कारण अहिले पनि तम्घासबाट खच्ची सडकको यात्रा गरिरहनु परेको बताए ।

उनका अनुसार आफ्नो गाउँको उक्त सडक पिच भए पछि हाईवेका रुपमा रहेको तम्घास सेउवा सिमलटारी, उता रातडाँडा र यता सेउवा सिमाहघाट धुर्कोट पुर्कोट तर्फका यात्रुहरु छोटो दुरी भएका कारण वा बैकल्पिक सडकका रुपमा त्यहीँबाट सदरमुकामको यात्रा गर्ने र हिजोको दुर्गम गाउँ अब सुगम हुने विश्वास ब्यक्त गरे ।

‘मेयर खिलध्वजजी कै पहलमा गाउँमा सडक खनियो र पिच पनि छिटै भयो उनले भने –उहाँ धन्यवादको पात्र हुनुहुन्छ । ’ नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति समेत रहेका नगर प्रमुख पन्थीले तम्घास खाम्सेपानी हुँदै प्याठन दाङ्ग सम्म जोडिने सडकको तम्घास सिस्न्यारा खण्डको पिच गर्ने कार्यमा जिम्मा लिएका ठेकेदारले ढिला सुस्ती गर्दै आइरहेको अवस्थामा हालै खोजेर काम सुरु गर्न लगाएको बताए ।

उक्त सडक पिच भई सक्दा खाम्सेपानी उता भेगका जनतामा थप उत्साह छाउने देखिन्छ । नगर प्रमुख पन्थीले गुल्मी जिल्लास्थित ग्रामिण भेगका भित्रि र कृषि सडकहरु मध्ये सबै भन्दा पहिला पिच हुने खाम्सेपानी भुवनपानी तल्लाखर्क सडक भएको बताउँदै अन्यत्र पनि विकासको गतिलाई तिब्रता दिने उद्घोष गरे ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार